काठमाडौं – नेपाली बजारमा हार्ले डेभिडसनको नयाँ बाइक आउने भएको छ । हार्ले डेभिडसनको नेपालका लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले सो बाइक नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

आगामी नोभेम्बर ११ अर्थात कात्तिक २५ देखि यसको सोरुम समेत शुभारम्भ हुने र यही दिन देखि बाइकको बुकिङ समेत प्रारम्भ गरिने आईएमई अटोमोटिभ्सका जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए ।

सोही दिनदेखि हार्ले डेभिडसनका हेलमेट, ज्याकेट, बुट, एसेसरिज र पार्ट्स आदि समेत उपलब्ध हुने उनले बताए ।

नेपालमा भारतीय भर्सनका हार्ले डेभिडसन बाइक उपलब्ध हुने भएको हो । स्ट्रिट रड ७५० मा ७५० सीसीको लिक्विड कुल्ड भी–ट्विन इन्जिन छ, जसले ७० बीएचपी पावर र ६२ एनएम टर्क जेनेरेट गर्छ ।

यसको मूल्य नेपाली बजारमा करिब ३० लाखको हाराहारी हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले यसको मूल्यको आधिकारिक जानकारी भने उपलब्ध गराएको छैन ।

हार्ले डेभिडसनको बाइक पहिलो पटक औपचारिक रुपमा नेपाली बजारमा भित्रिन लागेको हो । यो भन्दा पहिले नाडा अटो शोमा यसका केही बाइक प्रदर्शन गरिएका थिए ।

तपाईको प्रतिक्रिया