गुलरिया । बर्दियामा केही व्यक्तिको समूह घरदैलो पुगेर धर्मको प्रचार–प्रसार गर्दै हिँडेको सूचना जिल्ला प्रशासन कार्यालयमा आयो । एक अस्ट्रेलियन नागरिकसहित केही नेपालीहरू घर घरमा पुगेर मानिसहरूलाई जवरजस्ती त्रिश्चियन धर्मको प्रचारप्रसाद गर्दै हिँडेको सूचना जिप्रकामा आएपछि कार्यालयले उनीहरूलाई सोधपुछका लागि बोलायो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।सोमबार जिप्रका आएका उनीहरूसँग सोधपुछ हुदा धर्म प्रचार गर्दै हिडेको पुष्टि भएपछि प्रहरीको जिम्मा लगाएको छ । प्रक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक क्याटिया ग्रानसहित नेपालगञ्ज निवासी श्वेता मानन्धर, श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधवुन नगरपालिका–६ बर्दियाका दलबहादुर तिरुवा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरूबाट सोधपुछ र चेकजाँचका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेटलगायत भिडियो फेला परेको निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बताए । ‘उनीहरू धर्म प्रचारकै लागि घरदैलोमा हिँडेको पुष्टि भएकाले प्रहरीको जिम्मा लगाएका हौँ’, शाहीले भने, ‘समूह बनाएर धर्म प्रचारका लागि घरदैलोमा पुगेको सूचना प्राप्त भएपछि अनुसन्धान थालेका हौँ ।’भिजिट भिसामा नेपाल आएकी एन ७००७३७११ पासपोर्ट बोकेकी अस्ट्रेलियन नागरिक क्याटिया गैरकानुनी काममा संलग्न भएको पाएपछि उनलाई अध्यागमन विभाग काठमाडौं पठाइएको छ । विभागले सो आरोपी पुष्टि भएमा उनलाई आवश्यक सजाय गराएपछि स्वदेश फर्काइने जानकारी दिएको छ ।

नेपालमा मुलुकी अपराधसंहिताले मानिसको धर्म परिवर्तन गराउने कार्यलाई गैरकानुनी भन्दै दण्डको सजाय गरेको छ । ‘अनुसन्धानका क्रममा विदेशीसहित अन्य चारजनाले घरघरमा गई धर्म प्रचार र विभिन्न प्रलोभनमा धर्म परिवर्तन गरेको पाइएकाले मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएका छौँ’, बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले भने ।सो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, विदेशीको हकमा भने कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनुपर्नेछ । उनीहरूबाट सोधपुछ र चेकजाँचका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेटलगायत भिडियो फेला परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया