एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह सम्पन्न गरेका छन् । केही वर्ष सम्म प्रेममा रहेका यि जोडीले लगनगाँठो कसिसकेका छन । उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

उनीहरुको विवाहका बारेमा थरीथरीका समाचार बाहिर आएका छन् । दुलही र दुलाहाको पहिरनमा सजिएका दीपिका र रणवीरको तस्बिर फ्यानहरुले निकै मन पराइरहेका छन् । दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गले धेरैको ध्यान खिचेको छ । साथै अहिले दीपिकाको इन्गेजमेन्ट रिङ्गको मूल्यको पनि चर्चा भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गको मूल्य १.३ करोड देखि २.७ करोड भारतीय रुपैयाँ बराबरको हो । यो मुल्य नेपाली रुपैया साढे तीन करोड भन्दा बढी हुन्छ । साथै दीपिकाले लगाएको मंगलसुत्रको मूल्य २० लाख रुपैयाँ भएको यस अघि नै सार्वजनिक भइसकेको थियो । उनले रणवीर सिंहका लागि झण्डै २० तोलाको सिक्री पनि किनेकी थिइन् ।

यसैगरी दीपिकाले ओढेको घुम्टी पनि विशेष थियो । उनको घुम्टीमा गोल्डेन कढाई गरेर ‘सदाः सौभाग्यवती भवः ।।’ लेखिएको थियो । कढाई गर्दा कुनै सामान्य धागोको प्रयोग नभई सुनको धागो प्रयोग गरिएको थियो । दीपिकाको लागि यो घुम्टी रणवीर सिंहको परिवारको तर्फबाट बनाइएको थियो ।

दीपिका र रणवीरको विवाहको तस्बिरले विराट कोहली र अनुष्का शर्माको विवाहको फोटोले बनाएको रेकर्डलाई तोडेको छ । दीपिका पादुकोणले सबैभन्दा पहिले विवाहको फोटो उनको इन्स्टाग्राम एकाउन्टमार्फत सार्वजनिक गरेकी थिइन् । तस्बिरलाई पोस्ट भएको २ घण्टाभित्रमा २६ लाख भन्दा धेरै लाइकहरु पाएको थियो ।

तपाईको प्रतिक्रिया