राजन घिमिरे- अब त राज्यले पनि यो कुरामा विचार पुर्याउनैपर्ने भयो । क्षमतावान वा योग्य व्यक्तिलाई कुनै पदमा सिफारिस वा नियुक्त गर्नुपर्दा उसको क्षमता, प्रतिभा, दक्षता वा योगदान उल्लेखनीय हुँदाहुँदैै पनि त्यो ब्यक्तिको थर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव तथा राज्यका ओहदावाल व्यक्ति–व्यक्तित्वसँग मेल खान्छ कि खाँदैन भनेर हेर्नैपर्ने भयो । यति मात्र होइन, नियुक्ति पाउनेको थर माथि उल्लेखित सरकारी पदमा रहनेहरूको मामाघर, ससुराली, फूपू, भाइभतिजा लगायतसँग पनि मिल्यो भने ‘नातावाद’ भन्दै विरोधको बबण्डर नै मच्चिने हुँदा सशंकित बन्नु अपरिहार्य देखियो । यस्तै अवस्था आएको छ नेपालको यतिबेला ।

पहिला–पहिला कतै नियुक्ति दिँदा व्यक्तिको क्षमता या दक्षतामाथि प्रश्न उठ्दथ्यो, तर अहिले ‘थर’माथि प्रश्न उठ्न थालेको छ । नियुक्त वा सिफारिसमा परेकाहरूले आफूसँगै फलानोको नातेदार होइन म, म यसको छोरी, बुहारी अनि साली हो भनेर नाता प्रमाणित गरेको पेपर नै बोकेर हिँड्नुपर्ने अवस्था नआउला पनि भन्न नसकिने भयो अहिले । उच्च पदमा रहेकाहरूको ससुराली, मामाघर वा फूपूको थरसँग मेल खायो भने सिफारिसमा परेको वा नियुक्त हुन लागेको ब्यक्तिलाई त ठुलै अभिसाप नै हुने भयो ।

इजरायलको लागि नेपाली राजदूतको रूपमा सरकारको सिफारिसमा परेकी डा. अन्जान शाक्यको बारेमा बजारमा आएका तुक न बेतुकको आरोप, चर्चा र खैलाबैलाले एउटी क्षमतावान र योग्य महिलाको अवमूल्यन भएको छ भन्दा अतिशयोक्ति ठहरिन सक्दैन ।

उच्चपदमा रहेका व्यक्तिको ससुराली, मामाघर वा फूपूको थरसँग थर मिलेकै कारण या नाता परेकै कारण योग्य भए पनि नियुक्ति नपाउने ? कि यत्तिकै बबण्डर मच्चाउने ? गजबको शैली र संस्कार हुर्काउँंदै छौँ हामी यतिबेला ? अन्जान शाक्य को हुन् ? के हो यिनको विगत ? कसरी र कति लामो यात्रा तय गरेकी छिन् आफ्नो सरकारी सेवाको करिअरमा यिनले ? यी कुराको अध्ययन नै नगरी अन्धाधुन्ध रूपमा उनको नियुक्तिको विरोध गर्न र ‘फलानोकी साली’ भनेर बिनाप्रमाण एकोहोरो लागेकाहरूलाई ‘बिचरा’ भन्नवाहेक के गर्न सकिन्छ र ?

के अन्जान शाक्य कसैकी भान्जी वा साली भएकै कारण डा. भएकी हुन् त ? वा नेपाल टेलिभिजनमा पनि बिनाक्षमता नै समाचार पढ्न गएकी थिइन् तिनी ? करिब एक दशक पद्मकन्या कलेजमा रही हजारौँ विद्यार्थीलाई पनि उनले नातावादकै आधारमा पढाएकी थिइन् होला त ?

डा. अन्जान शाक्य, जसले सन् २०११ मा ब्यवस्थापन विषयमा विद्यावारिधि गरेकी हुन् । परराष्ट्र मामिला प्रतिष्ठानमा लामो समयसम्म निमित्त कार्यकारी निर्देशकको पदमा रहेर काम गरेकी छिन् । यिनले नेपाल ओमान च्याम्बरको अध्यक्ष भएर नेपालमा लगानी भित्र्याउन गरेको योगदान र कामको चर्चा खै ? थरको पछि लागेर विरोध गर्नेहरूले विगततिर पनि हेरिदिएको भए यथार्थ उजागर हुन्थ्यो होला कि ?

यति मात्र होइन, नेपाल–भारत, नेपाल–चाइना सम्बन्धका बारेमा तयार भएको पुस्तकको सम्पादन गर्नु भनेको पनि सामान्य कुरा त होइन होला । मुलुक–मुलुकबीचको सम्बन्धको संवेदनशील विषयमाथि यिनको अनुभव र दक्षतालाई पनि कम आँकलन गर्न मिल्छ र ? राजनीतिमा पनि विरोधको शैली र सीमा हुन्छ । यसको पनि दायरा र इज्जत होला नि ?

डा. अन्जान शाक्य एउटी नारी, यति धेरै क्षेत्रमा सक्रिय र क्रियाशील छिन् । जहाँ–जहाँ लागिन् सफल नै भइन् । हो यी कुराको लागि उनलाई स्याबासी र प्रोत्साहन दिनु विवेकपूर्ण होला । हौवामा लागेर बुझ्दै नबुझी विरोध गर्दा अन्यय हुन सक्छ, देश सेवामा लागेका स्वामिभानी व्यक्तिलाई चोट पुग्न सक्छ । यस्तो पनि महसुस गर्ने बानी बसालौँ । थर, जातभात, नातापाता अगाडि ल्याएर विरोधको निम्ति विरोध मात्र नगरौँ । प्रधानमन्त्री–पत्नीसँग थर मिल्नु नै कसैको जीवनको अभिसाप नतुल्याइदिऔँ । (पङ्क्तिकारको निजी धारणा)/घटना र विचारबाट

तपाईको प्रतिक्रिया