‘प्रकाश ! हाम्रो प्रेमको चिनोले बुवा भन्न, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ, अनि मलाई पटकपटक रुवाउँछ…!’ प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसमा उहाँको तस्वीरमा माल्यार्पण गर्दै स्व दाहालकी पत्नी तथा सरसफाइमन्त्री बीना मगर

नेतृत्वलाई सिध्याउन गरिएका लाखौं प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकाङ्क्षा र रहरहरु पनि थिए नै ।

यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला । तर, तिमी मेरा लागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सद्गुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन, कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अद्भुत क्षमता ।

…प्रकाश तिमिले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षातहरु बिते । १२ महिनाले पालो फेर्‍यो । मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर ।

अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुवा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बावुको बुवा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।

(माथिको अशं पत्नी बिना मगरले स्व. पति प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकामा लेखेकी हुन् ।)

तपाईको प्रतिक्रिया