बनेपा, १९ मङ्सिर- काभ्रेपलाञ्चोकको विभिन्न गाविसका ग्रामीण भेग जलवायुमैत्री गाउँमा परिवर्तन हुन थालेका छन् ।

त्यस्ता गाउँबाट कृषकले आधुनिक प्राविधिक ज्ञान हासिल गर्नाका साथै धमाधम अर्गानिक खेतीको अभ्यास गरिरहेको रवि ओपीका राजकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –“अहिले हामीले काउली, लसुन, सागलगायतका खेतीमा रासायनिक विषादी विस्थापन गरी झोल मल र वनस्पतिबाट तयार पारिएको विषादीको प्रयोग बढाएका छाँै । दुई वर्षदेखि रविओपी गाविसमा सञ्चालन भएको सो कार्यक्रमले रासायनिक मललाई विस्थापन गरी प्राङ्गारिक मलको प्रयोग बढाएको र खेरजाने गाईको गहुँत पनि सदुपयोग भएको छ । ”

जलवायुमैत्री गाउँ परियोजनामार्फत ‘घर बगैँचा कार्यक्रम’ जिल्लाको महादेवस्थान, नयाँगाउँ देउपुर, रविओपी, पात्लेखेत र पाँचखाल नगरपालिका– १० र ११ मा सुरु भएपछि कृषकमा नयाँ उत्साह देखिएको छ ।

‘‘हामीलाई पहिले यो विषयमा कुनै जानकारी थिएन तर अहिले प्राविधिक ज्ञानले खेती गर्न सहज भएको छ,’’ कृषक थापाले भन्नुभयो ।

जिल्लामा एकसय ८९ कृषकले अर्गानिकखेती गरेका छन् । घरको आसपासमा गाईवस्तुपालन, तरकारीखेती, फलफूलखेती वा मत्यपालन गरी कृषकले लाभ उठाउने प्रक्रियालाई यहाँ ‘घर–बगैँचा कार्यक्रम’ नामाकरण गरिएको हो । जलवायुमैत्री गाउँ परियोजनाका संयोजक रोशन सुवेदीले यो कार्यक्रम पोषण सुरक्षाका हिसाबले पनि राम्रो हुने उल्लेख गर्दै खानेपानीको समस्या भएको ठाउँमा हात धुँदा वा नुहाउँदा समेत खेरगएको पानीको सदुपयोग गरेर तरकारीखेती गरिएको बताउनुभयो । जलवायु परिवर्तन अनुकुलनखेतीका लागि अनुसन्धानमूलक कार्य गर्दै आएको वातावरण तथा कृषि, नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड) र एकिकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को संयुक्त परियोजनाले यो कार्यक्रमलाई सहयोग गर्दै आएको छ । रासस

तपाईको प्रतिक्रिया