(विश्वभरमै मानव जाति कोभिड १९ को अकल्पनीय सङ्क्रमणबाट भयभीत र आक्रान्त रहेको वर्तमान समयमा दक्षिण कोरियाले यस महामारीलाई काबुमा लिन र आफ्ना नागरिकको जीवन रक्षा गर्न अख्तियार गरेका विधि र उपचार पद्धति नेपालको सन्दर्भमा पनि उपयोगी र अनुकरणीय हुने देखिएकाले यो लेख सम्प्रेषण गरिएको छ । यस लेखका लेखक डिल्लीराम बाँस्तोला दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासमा काउन्सेलर (श्रम) हुनुहुन्छ ।)

चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ । विश्वका २०० भन्दा बढी राष्ट्र प्रभावित भइसकेका, झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा रहेका र यसको न्यूनीकरण तथा उपचारका लागि विश्व नै सक्रिय रहेको अवस्था छ । चीन अहिले क्रमशः सामान्यीकरणतिर फर्कदै छ भने चीन पछि सङ्क्रमण देखा परेको दोस्रो राष्ट्र दक्षिण कोरियामा पछिल्ला दिनहरुमा दैनिक सरदर १०० भन्दा कम सङ्क्रमित सङ्ख्या देखा परेको र सञ्चो भएर फर्कने दर बढ्दो रहेकाले कोभिड १९ सङ्क्रमण नियन्त्रण उन्मुख छ । सन् २०१५ को मार्स सङ्क्रमण समयको गल्तीबाट सिकेको शिक्षा यस पालि कोरियाले समयमै व्यवहारमा उतारेको छ । कोरियाले न त लकडाउन गरेको छ न अन्तर्राष्ट्रिय आवागमनमै बन्देज लगाएको छ । शहरमा सार्वजनिक यातायात सेवा रोकिएको छैन । अधिकाँश साना तथा मझौला उद्योग यथावत सञ्चालन भइरहेकै छन् । मास्क तथा सेनिटाइजर जस्ता सामग्री बाहेक अन्य सामग्रीको खासै असुविधा छैन । ग्लोबल हेल्थ इण्डेक्समा विश्वका १९५ देशमध्ये नवौं स्थानमा रहेको तथा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले दक्षिण कोरियाको सङ्क्रमण नियन्त्रण प्रयास अत्यन्त उदाहरणीय र पारदर्शी रहेको र प्रविधि उच्चस्तरको रहेको भनी प्रशंसा गर्नाका साथै कोरियाली अनुभव अन्य राष्ट्रहरुका लागि उपयोगी हुन सक्ने बताएका छन् ।

कोरियामा विभिन्न देशका ६० भन्दा बढी नागरिकहरु कोरोना सङ्क्रमित भएता पनि आजसम्म कुनै पनि नेपाली सङ्क्रमित छैनन् । नेपाली राजदूतावासले गै¥हआवासीय नेपाली सङ्घ लगायत विभिन्न सङ्घसंस्थासँग मिलेर प्रारम्भदेखि नै विज्ञको सहयोगमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोरियामा असहज परिस्थितिमा समेत अत्यन्त सचेतनापूर्वक काममा व्यस्त श्रमजीवीहरु मातृभूमिमा कोरोना फैलन नपाओस् भन्ने कामना गर्दै चिन्ता र चासो व्यक्त गरिरहेका पाइन्छ । नेपालमा पनि सङ्क्रमण जोखिम उच्च रहेको वर्तमान सन्दर्भमा कोरियाका कतिपय असल अभ्यासहरु अनुकरणीय हुन सक्दछन् ।

१. स्टाण्डर्ड अपरेटिङ प्रोसुडर ः कोरियाले सङ्क्रामक रोग नियन्त्रणका लागि उच्चस्तरको स्टाण्डर्ड अपरेटिङ प्रोसुडर (क्इए) बनाएको छ जसका पाँच चरणहरु आक्रामक र पारदर्शीरुपमा सूचना प्रवाह गर्ने, ठूलो सङ्ख्यामा परीक्षण गर्ने, सङ्क्रमित र जोखिम भएको व्यक्तिलाई आइसोलेशन र क्वारेन्टाइनमा राख्ने, आवश्यक व्यक्तिलाई उपचार गर्ने र सङ्क्रमित स्थान र वातावरणलाई सङ्क्रमणरहित बनाउने रहेको छ । उल्लिखित चरण जति राम्रो भए पनि कार्यान्वयनले नै परिणाम प्राप्त हुने कुरालाई ध्यानमा राखेर केन्द्रीय र स्थानीय सरकारको निकटतम समन्वयमा यस नीतिलाई व्यवहारतः प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको पाइन्छ ।

२. विमानस्थल तथा बन्दरगाह बन्द नगरेता पनि जाँच तथा प्रवेशाज्ञामा कडाइ

गणतन्त्र कोरियाले चीनको हुवे प्रान्तबाट प्रवेश निषेध गरेको छ । अन्य देशहरुसँग भने आजसम्म आवागमनमा पूर्ण बन्देज नगरेता पनि सतर्कतापूर्वक प्रवेशाज्ञा तथा आवागमनमा कडाइ गर्दैआएको छ । सङ्क्रमित व्यक्तिको पहिचान गरी सङ्क्रमण फैलन नदिन सबै अन्तर्राष्ट्रिय नाका, विमानस्थल तथा बन्दरगाह समेत (स्मरण रहोस् जमीनमा सीमा जोडिएको उत्तर कोरियासँग पहिल्यैदेखि आवागमनमा बन्देज छ) मा सबै यात्रीहरुलाई थर्मल क्यामेराको माध्यमवाट तामक्रम नाप्ने र ज्वरो तथा अन्य अवस्था एवं यात्रास्थलबारे प्रश्नावली भर्न लगाइन्छ ।

आवश्यकतानुसार तत्काल जाँच गरी सङ्क्रमणको आशङ्का वा पुष्टि भएमा थप जाँच तथा उपचारका लागि सम्बन्धित अस्पताल पठाइन्छ । यात्रुको अवस्था सामान्य पाइएमा निजको आफ्नै बस्ने स्थान भए सो को विस्तृत विवरण तथा फोन सम्पर्क नम्बरसमेत नोट गरी तत्काल सो को जाँच तथा पुष्टि गरी १४ दिनसम्म अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ भने आफ्नै बस्ने स्थान नभएका व्यक्तिको हकमा सरकारले तोकेको क्वारेन्टाइनमा बस्न अनिवार्य छ । सेल्फ क्वारेन्टाइनलाई सम्बन्धित व्यक्तिको स्मार्टफोनमा तोकिएको एप (सेफ्टी प्रोटेक्सन एपरसेल्फ डायग्नोस्टिक एप) डाउनलोड गरी सो सँग लिंक गरिन्छ र एप मार्फत दैनिक स्वास्थ्य अवस्था रिपोर्टिङ एवं सेल्फ क्वारेन्टाइन नियम पालना गरे नगरेको अनुगमन गरिन्छ ।

कोरियाबाट बाहिर जान चाहने व्यक्तिको हकमा सङ्क्रमित व्यक्तिसँग दुई मिटरभन्दा कम दूरीमा सम्पर्कमा आएको व्यक्ति रहेछ भने १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने र सो अवधिमा विदेश जान बन्देज छ । अन्य व्यक्तिको हकमा कोरियाबाट बाहिर जान कुनै बन्देज छैन ।

ईन्छन विमानस्थल लगायत सबै अन्तर्राष्ट्रिय विमानस्थललाई ‘कोभिड १९ रहित विमानस्थल’ बनाउन प्रस्थान कक्षमा तीन स्थानमा जाँचको व्यवस्था छ । सर्वप्रथम प्रस्थान कक्षमा तापक्रम जाँच गरिन्छ, त्यसपछि सुरक्षा जाँच कक्षमा थर्मल क्यामेराले वा बढी ज्वरो देखिएमा थप एकिन गर्न नन् कन्ट्याक्ट थर्मामिटरको सहायताले जाँच गरिन्छ र अन्तिममा बोर्डिङ गेटमा नन् कन्ट्याक्ट थर्मामिटरको सहायताले जाँच गरिन्छ । कुनै यात्रुमा ३७.५ डिग्री सेल्सियस र सो भन्दा बढी तापक्रम पाइए उनलाई थप जाँचका लागि पठाइन्छ । त्यसैगरी विमानस्थललाई सङ्क्रमणरहित बनाउन थप व्यवस्था गरिएको छ । चेक इन काउण्टर, सेक्युरिटी जाँच उपकरणहरुलाई दिनमा तीन पटक स्टेरिलाइजेशन गरिन्छ । यात्रुसँग भौतिक सम्पर्कमा आउने एलिभेटर तथा एस्कालेटरहरुलाई समेत तीन पटक किटाणुरहित बनाउन सफाइ गरिन्छ ।

३. ट्र्याक, ट्रेश र ट्रिटमेन्ट ः सूचना प्राप्त हुनासाथ शीघ्रातिशीघ्र सङ्क्रमितको मार्ग पहिचान गरी त्यसलाई शूक्ष्म रुपले निगरानी गरी सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई अलग राखी जाँच गर्ने, सेल्फ क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्ने र सङ्क्रमण देखिएमा तत्कालै उपचार गर्ने विधि कोरियाले अवलम्बन गरेको छ । सङ्क्रमितसँग सम्पर्कमा आएको व्यक्ति पहिचान गर्न हरसंभव उपाय अवलम्बन गरेको पाइन्छ । यसबाट प्राप्त नतिजा तथा सान्दर्भिक सूचना पारदर्शीरुपमा तुरुन्तै प्रकाशन गरिन्छ । केन्द्रीय सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सामञ्जस्यता रहेको छ ।

कोभिड १९ परीक्षणका लागि पर्याप्त स्वास्थ्य संस्थाको व्यवस्था गरिएको छ । सन् २०२० मार्च १६ सम्मको तथ्याङ्क हेर्ने हो भने देशभरिका ६३५ स्वास्थ्य संस्थावाट कोभिड १९ को परीक्षण गरी स्वाब नमूना सङ्कलनको व्यवस्था गरिएको छ भने एक सय १८ वटा स्वास्थ्य संस्थाबाट कोरोना भए नभएको सम्बन्धमा दैनिक करीव १८ हजार नमूनाको जाँच गर्न सक्ने क्षमता रहेको छ । यही अप्रिल ९ सम्मको तथ्याङ्क हेर्ने हो भने हालसम्म ४ लाख ७७ हजार ३०४ जनाको नमूना परीक्षण गरिएको छ । यसको अर्थ कोरियाको प्रत्येक १०६ जनामध्ये एक जनाको नमूना परीक्षण भएको देखिन्छ । अप्रिल ९ सम्म दश हजार ४२३ जनामा कोरोना सङ्क्रमण देखिएकामा ६ हजार ९७३ जना उपचार पछि सञ्चो भएर फर्केेका छन् ।

समयमै सङ्क्रमित पत्ता लगाउने र उच्चस्तरको उपचार पद्धतिका कारण निको हुने दर उच्च छ र मृत्यु दर न्यून छ । हालसम्म २०४ जनाको कोरोनाका कारण निधन भएको छ । सङ्क्रमितमध्ये कोरियाको मृत्युदर अन्य देशको तुलनामा न्यून अर्थात १.९ प्रतिशतको हाराहारीमा रहेको छ । हाल कोरियन टेष्ट किट उच्च गुणस्तर र शीघ्र (तीन घण्टाभित्रै) परीक्षण गर्न सकिने भएको भनी यसको माग विश्वभरबाट भइरहेको छ । सङ्क्रमण फैलिन नदिन एकातिर सार्वजनिक स्थलमा सामाजिक दूरी कायममा कडाइ गरिएको छ र सार्वजनिक स्थल तथा सम्भाव्य जोखिमयुक्त स्थललाई समय समयमा सङ्क्रमण मुक्त गर्ने गरिएको छ भने अर्को तर्फ गुणस्तरीय पिपिइहरु प्रयोग भएको, अस्पताल, स्वास्थ्यकर्मी, परीक्षण स्थल र विधिमा समेत निकै सावधानी अपनाइएको पाइन्छ । त्यसैगरी हजारौं स्वतःस्फूर्तरुपमा स्वास्थ्य स्वयंसेवककारुपमा उच्च जोखिमयुक्त क्षेत्रमा गई सहजीकरणमा सहयोग गरिरहेका छन् । वास्तवमा कोरियाको कोरोना उपचारमा शीघ्र सफलता वा चामत्कारिक नतिजाको रहस्य शीघ्रता, गुणस्तरीयता तथा पारदर्शिता नै हो ।

४. विदेशी नागरिक तथा विद्यार्र्थीका लागि विशेष व्यवस्था ः कोरियामा करीब २४ लाख विदेशी नागरिक रहेका कारण उनीहरुलाई कोभिड १९ सँग सम्बन्धित सचेतनामूलक सूचना तथा सन्देश, रोगका लक्षण, नजीकको स्वास्थ्य संस्थामा उपचार विधि समेतका बारेमा जानकारी मातृभाषामा प्रदान गर्न कल सेन्टरले सहयोग गरिरहेका छन् । विश्वविद्यालय बाहिर बसेका कोरोनाको आशङ्का भएका विदेशी विद्यार्थीहरुलाई सिओल शहरले सेल्फ क्वारेन्टाइनका लागि अस्थायी आवास सुविधा उपलव्ध गराएको छ । यसमा दैनिक दुई पटक टेलिफोनबाट स्वास्थ्य स्थितिसम्बन्धी सोधपूछ गर्ने व्यवस्था मिलाइएको छ ।

५. ड्राइभ थ्रु टेष्टिङ स्टेशन र वाक थ्रु टेष्ट ः सडकमा सवारी चलाइरहेको समयमा स्वाब नमूना सङ्कलन गर्न देशैभर विभिन्न ५० स्थानमा ड्राइभ थ्रु टेष्टिङ स्टेशन खडा गरिएको छ जहाँ गाडी भित्रै बसेको अवस्थामा १० मिनेटभित्रै मेडिकल प्रश्नावली भर्ने, डाक्टरले परीक्षण गर्ने, ज्वरो नाप गर्ने र स्वाब टेष्टका लागि नमूना सङ्कलनको कार्य गरिन्छ । यसबाट नागरिकलाई सुविधा हुनाका साथै बिरामी अस्पतालसम्म जाँदा हुनसक्ने सङ्क्रमणको जोखिम न्यून हुने, अस्पतालमा चाप कम हुने र छिटो परीक्षण सम्भव भएको छ । त्यसैगरी, सिओलमा केही स्थानमा कोरोना आशङ्का भएको व्यक्ति वा कोरोनाको परीक्षण गर्न इच्छुक जो कोहीलाई सहज होस् भनी वाक थ्रु टेष्टको व्यवस्था गरिएको छ । यसमा इच्छुक व्यक्तिहरुको स्वाब जाँचका लागि स्वास्थ्यकर्मीको सहयोगमा नमूना सङ्कलन गरी जाँच गर्ने व्यवस्था रहेको छ । डाक्टरले कोरोना शङ्का गरेको, कोरोना प्रभावित क्षेत्र भ्रमण गरी फर्केको वा कुनै सङ्क्रमितसँग सम्पर्कमा रहेको समूह (रिस्क ग्रुप) भित्रको व्यक्तिको हकमा निःशुल्क सेवा दिने तर, सो बाहेकको अन्य इच्छुक व्यक्तिको हकमा सशुल्क जाँचको व्यवस्था गरिएको पाइयो । यस्ता सशुल्क परीक्षण गरिएका व्यक्तिमा समेत नतिजा सकारात्मक आएमा सो शुल्क फिर्ता गरी उपचारका लागि पठाइने गरेको छ ।

६. सूचना प्रविधिको उपयोग र प्रभावकारी तथा पारदर्शी सूचना प्रवाह ः कोरोना सङ्क्रमणको प्रारम्भदेखि नै टेलिभिजन, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यम, बेवसाइट, मोबाइल टेक्स्ट मेसेज तथा दैनिक दुई पटक प्रेस ब्रिफ र आवश्यकतानुसार प्रेस वक्तव्यको माध्यमवाट सचेतनामूलक सन्देश, कोरोनाको प्रकोपको अवस्था (तथ्य तथ्याङ्क सहित) तथा न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्था समेतका विषयमा तत्काल खुला र पारदर्शी माध्यमबाट प्रभावकारी सूचना प्रवाह गर्ने गरिएको छ । यसबाट एकातिर गलत तथा अपुष्ट समाचारबाट दिग्भ्रमित हुनबाट जोगाएको छ भने अर्कोतिर आम नागरिकमा सचेतना तथा विश्वास जागृत भई एकान्तबास तथा सामाजिक दूरी कायम गर्न प्रेरित गरी सङ्क्रमण फैलिनबाट जोगाउन सहयोग भएको छ ।

सूचना प्रविधिको अधिकतम प्रयोग गरी सङ्क्रमित व्यक्तिको एवं क्वारेन्टाइनमा बसेको व्यक्तिको अवस्था पहिचान तथा अनुगमन गरिन्छ । यसका लागि उसको मोबाइल फोन डाटा, जिपिएस लोकेशन, सिसिटिभी फुटेज तथा आवश्यकतानुसार प्रहरी परिचालन समेत गरी त्यस्तो व्यक्ति कहिले कहिले कहाँ कहाँ गयो (मुभमेन्ट हिष्ट्री), क्रेडिट कार्ड हिष्ट्रीमार्फत कहाँ के कस्तो कारोबार ग¥यो, नयाँ सङ्क्रमण कहाँ भेटियो जस्ता सूचना अनलाइनमार्फत तथा टेक्स्ट मेसेज मार्फत सर्वसाधारणमा सार्वजनिक गरी सुसूचित गर्ने जसबाट सङ्क्रमित व्यक्तिसँग भेट भएका वा सो व्यक्ति गएको स्थानमा गएका व्यक्ति आफैं सचेत हुन सकून् । वास्तवमा दुवै पक्षको सहमतिमा फोनको जिपिएस लोकेशन ट्र्याकिङ गर्न सकिने समझदारीका कारण मात्र यो संभव भएको हो । साथै स्मार्ट फोन नभएका वा प्रयोग गर्न नसक्ने व्यक्ति क्वारेन्टाइनमा बसेको अवस्थामा नजीकको कल सेन्टरमार्फत १४ दिनसम्म निगरानी गर्ने गरिन्छ ।

७. सरकारी निर्देशनप्रति नागरिकको ऐक्यबद्धता ः कोरियन नागरिकहरु सामान्यतः सरकारले आह्वान गरेको सूचना तथा सन्देशलाई गम्भीरतापूर्वक परिपालना गर्दछन् चाहे आफ्ना कार्यक्रम, भेला, पर्व स्थगन गरेर होस् वा सोसियल डिस्टेन्सिङको आग्रह, यात्रा तथा स्वास्थ्य परामर्शसम्बन्धी वा मास्क लगाउने, हातमुख धुने वा सेनिटाइजरको प्रयोगलगायत व्यक्तिगत सरसफाइका कुरा नै किन नहोस् । त्यसो त कोरियन नागरिकहरुले विगतमा राष्ट्रलाई आवश्यक परेका बखत व्यक्तिगत सम्पत्ति समेतको योगदान गरेको इतिहास छ । छिटो छरितो काम गर्ने (पाल्ली पाल्ली) संस्कारका अलावा अनेक असुविधा सहेरै पनि सरकारको निर्देशनप्रति अनुशासित भै नागरिकले गरेको परिपालना एवं ऐक्यवद्धताकै कारण कोरियामा कोभिड १९ न्यूनीकरणमा सहयोग पुगेको मान्न सकिन्छ ।

८. उच्च जोखिमयुक्त क्षेत्रका व्यक्तिमा जाँचसम्बन्धी विशेष व्यवस्था ः कोभिड १९ को प्रारम्भिक लक्षण सामान्य रुघा खोकीसँग मिल्दोजुल्दो हुने भएता पनि सरकारले कोरोनाको उच्च प्रभावित क्षेत्र थेगु शहर तथा ख्योङबुक प्रान्तका जुनसुकै नागरिक एवं सिन्छञ्जी चर्चका सबै सदस्य (चाहे सङ्क्रमितसँग सम्पर्कमा भएको वा नभएको नै किन नहोस्) का हकमा भने सामान्य रुघाखोकीको लक्षण देखिएमा समेत तुरुन्तै अनिवार्य जाँचको व्यवस्था गरेको छ । फेब्रुअरी १ मा थेगुस्थित सिन्छञ्जी चर्चका सदस्यबाट कोरियामा सङ्क्रमण विस्तार भएको पाइएपछि त्यसका नौ हजार ३०० भन्दा बढी सदस्यहरुलाई सेल्फ क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गरिएको थियो भने देशै भरी सो गिर्जाघरका करीव दुई लाख ५० हजार सदस्यमध्ये अधिकाँशको पहिचान गरी स्वास्थ्य अवस्था बुझी लक्षण देखिएका व्यक्तिहरुलाई जाँच गरिएको थियो ।

प्रारम्भमा आफ्ना सदस्यको विस्तृत विवरण उपलव्ध गराउन आनाकानी गरेको सो चर्चविरुद्ध व्यापक आलोचना र आक्रोश भएपछि चर्चका प्रमुखले सङ्क्रमण फैलाउन आफ्ना अनुयायीहरुको भूमिका रहेको स्वीकार गरी कमजोरीप्रति क्षमा याचना गरेका थिए । मार्च मध्यसम्मको तथ्याङ्क अनुसार कोरियाको कुल सङ्क्रमितमध्ये ६१ प्रतिशत भन्दा बढी व्यक्ति सो चर्चसँग सम्बन्धित रहेका र सङ्क्रमितमध्ये ८८ प्रतिशत थेगु वा ख्वोङवुक प्रान्तका बासिन्दा रहेको जनाइएको छ । मार्च १५ सम्मको तथ्याङ्क हेर्ने हो भने थेगु वा ख्वोङवुक प्रान्त बाहेकको सङ्क्रमित सङ्ख्या ९७४ (निकै न्यून) रहेको छ । वास्तवमा यी व्यक्तिहरुको पहिचान, जाँच र उपचार पछि नै कोरियाको सङ्क्रमण दर निकै हदसम्म नियन्त्रण उन्मुख भएको हो ।

९. सङ्क्रमण जोखिम कम गर्न अनलाइन सेवामा जोड ः विश्वविद्यालय तथा विद्यालय जस्ता धेरै व्यक्ति एकै स्थानमा जमघट हुने स्थानमा कोरोना सङ्क्रमणको उच्च जोखिम हुने भएकाले विश्वविद्यालयलाई अनलाइनबाट कक्षा प्रारम्भ गरिएको छ भने विद्यालयको नयाँ शैक्षिक सत्र मार्चबाट शुरु हुनु पर्नेमा एक महीना ढिला गरी अप्रिलदेखि अनलाइनमार्फत शुरु गर्ने तयारी गरिएको छ । कोरिया प्रवेश गर्ने विद्यार्थीहरुलाई समेत १४ दिन सेल्फ क्वारेन्टाइन बस्न अनिवार्य गरिएको छ । त्यसैगरी कतिपय कम्पनीहरुले घरैबाट अनलाइन सेवा प्रारम्भ गरेका छन् भने सरकारी गै¥ह सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरुमा समेत सकेसम्म कम आवतजावत होस् भन्ने अभिप्रायले अनलाइन सेवालाई प्रोत्साहन गरिएको छ । यसका लागि सेवा प्रवाह कार्यविधिमा सहजीकरण गरिएको छ ।

१०. कानून उल्लङ्घनमा दण्ड सजायमा कडाइ ः सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको अवस्थामा त्यसलाई उल्लङ्घन गर्ने व्यक्तिलाई गरिने दण्ड सजायमा परिमार्जन गरी एक वर्षसम्म कैद वा एक करोड कोरियन वनसम्मको जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ । यस्तो कानूनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

११. कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएको तर एकिन नहुँदै मृत्यु भएको व्यक्तिको समेत शव परीक्षण गरी कोरोना सङ्क्रमण भए नभएको एकिन गरिन्छ । सङ्क्रमण भएको देखिएमा निज जीवित छंँदा सम्पर्कमा आएका व्यक्ति पहिचान गरी अनुगमन तथा परीक्षण गरिन्छ ।

१२. चाहे स्वदेशी वा विदेशी नागरिक (अवैधानिक हैसियतको भए पनि) सङ्क्रमित व्यक्तिको सम्पूर्ण उपचार निःशुल्क गरिने, उपचारका क्रममा आएको व्यक्तिसँग भिसा नभएको भनी पक्राउ नगर्ने व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणका कारण काम खोज्न नसक्नेलाई काम खोज्ने समय थपिएको छ भने भिसा तथा कार्यअवधि समाप्त भै स्वदेश फर्कन पर्ने तर, उडान अवरुद्ध भै स्वदेश फर्कन नसक्ने विदेशीहरुको भिसा थप गरिएको छ ।

१३. अर्थतन्त्रमा सकेसम्म कम क्षति पुगोस्, आधारभूत सेवा तथा वस्तु उत्पादन तथा आपूर्तिमा सकेसम्म असर नपरोस् भनी उचित सचेतना तथा सावधानी अपनाई अधिकाँश साना तथा मझौला उद्योगहरु यथावत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

१४. कोभिड १९ जस्तो महामारीमा एक जना व्यक्तिको लापरवाहीले राष्ट्रले कति अपूरणीय क्षति व्यहोर्नु पर्दछ भन्ने सम्बन्धमा कोरियाको तीतो अनुभव छ । कोरियामा जनवरी २० देखि कोरोना देखा परेता पनि ३० जना सङ्क्रमित देखा पर्दासम्म स्थिति काबुमै थियो । एकतीसाँंै नम्बरकी सङ्क्रमित महिला कोरियामा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलाउने व्यक्तिको रुपमा (सुपर स्प्रीडर) चिनिन्छ । ती महिलामा कसरी सङ्क्रमण सरेको थियो पत्ता लागेको छैन । तथापि तिनले कसरी सङ्क्रमण फैलाइन भन्ने तथ्य कोरियाले पत्ता लगाएको छ । जनवरी २९ मा स्थानीय क्लबमा गएकी ती महिला स्वास्थ्य समस्याका कारण पटक पटक विभिन्न अस्पताल त गइन तर, ज्वरो, रुघा, खोकी भएता पनि आफूलाई पहिल्यैदेखि यस्तो हुने गरेको भन्दै कोरोना परीक्षण गराउन अस्वीकार गर्दैै रहिन । त्यस बीचमा उनी स्वतन्त्ररुपले रेष्टुराँमा समूहमा खानपिनमा सहभागी हुनाका साथैै दुई पटक हजारौं व्यक्ति सदस्य भएको थेगुस्थित सिन्छञ्जी चर्चको प्रार्थना सभामा सहभागी समेत भइन तर, जब रोगले च्याप्दै गयो अनि मात्र फेब्रुअरी १८ तारिखमा अस्पतालमा कोरोना परीक्षण गराइन । सङ्क्रमणको पुष्टि भयो । कोरियामा अहिले भएको दश हजार कोरोना सङ्क्रमितमध्ये झण्डै ८० प्रतिशत व्यक्तिहरुमा उनै महिलाका कारण कोरोना फैलिएको आशङ्का छ । सरकारले उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई रातारात कन्ट्याक्ट ट्रेशिङ गरी ती व्यक्ति र उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत जाँच गरेको थियो । तथापि महामारीको समयमा एकजनाको गल्तीको मूल्य राज्य र समाजले कति व्यहोर्नु पर्दछ भन्ने एक जबर्जस्त उदाहरणकारुपमा यो परिघटना परिचित छ ।

विभिन्न राष्ट्र र व्यक्तिले गरेका कमीकमजोरी र त्यसबाट उत्पन्न परिणामबाट पाठ सिक्दै चीन, दक्षिण कोरिया जस्ता राष्ट्रले अवलम्बन गरेका राष्ट्रिय परिवेश सुहाउँदा असल अभ्यासहरुलाई समयमै योजनाबद्ध, तीव्र, पारदर्शी र समन्वयात्मकरुपमा सुझबुझपूर्ण तवरले कार्यान्वयन गर्ने हो भने समयमै यसको न्यूनीकरणमा उल्लेख्य सफलता हासिल गर्ने सकिनेमा शङ्का छैन तर, समुदायस्तरमा कोरोना फैलिन गई चारैतिरबाट सङ्क्रमणले घेरेपछि मात्र बिउँझियौं भने सबै कुरा गर्न ढिला भइसकेको हुनेछ ।

Comments