विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था रहेको भए कूल आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

चालू आर्थिक वर्षको बजेटलाई नेपालको अर्थतन्त्रले उडान भर्ने गरी कार्यक्रम तय गरिएको थियो । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा विषम खालका समस्या देखापरेका छन् । उद्योग प्रतिष्ठान, विकास निर्माणका काम प्रायः ठप्प छ । आर्थिक गतिविधि नहुँदा सरकारले अपेक्षा गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन नसक्ने अवस्था देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कका आधारमा हेर्ने हो भने चालू आर्थिक वर्षमा मात्रै २.२७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा गोरखा भूकम्पका कारण सबैभन्दा कम आर्थिक वृद्धि भएको थियो । भूकम्पले सम्पूर्ण गतिवधि रोकिँदा सो आवमा मात्रै ०.५९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले लिएका नीति तथा कार्यक्रमका कारण पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहँदै आएको थियो । विभागका अनुसार आव २०७३÷७४ मा ८.२२, आव २०७४÷७५ मा ६.७० र आव २०७५÷७६ मा कूल ६.९९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण आर्थिक वृद्धिमा ठूलो गिरावट आउने विभागको अध्ययनले देखाएको छ । सरकारले चालू आर्थिक वर्षलाई अर्थतन्त्रमा छलाङ हान्ने वर्षका रूपमा हुँदै ठूला भौतिक निर्माणको कामलाई समेत अगाडि बढाएको थियो । गत चैतको पहिलो सातादेखि कोरोना कहरले समग्र क्षेत्रमा जटिलता पैदा भएको छ ।

कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै समग्र अर्थतन्त्रमा ठूलो समस्या देखिए पनि केही क्षेत्रमा सुधार देखिने विभागको तथ्याङ्कमा समेटिएको छ । कोरोनाको प्रभावले समग्र क्षेत्रमा असर परेको भए पनि नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको विभागले सार्वजनिक गरेको विवरणमा समेटिएको छ । विभागका अनुसार नेपालीको एक वार्षिक औषत आम्दानी रु एक लाख २६ हजार १८ पुगेको छ । प्रतिव्यक्ति आम्दानी एक हजार ८५ अमेरिकी डलर पुगेको छ । विभागकै अनुसार अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी रु एक लाख १७ हजार २६८ थियो अर्थात् अमेरिकी डलरमा एक हजार ३९ थियो । गत आबभन्दा चालू आवमा प्रतिव्यक्ति आम्दानी ३४ अमेरिकी डलरले वृद्धि हुने देखिएको छ ।

अर्थतन्त्रको आकार बढ्यो

विभागका अनुसार चालू आवको फागुन मसान्तसम्म आर्थिक गतिविधिमा देखिएको सकारात्मक प्रभावका कारण देशको समग्र अर्थतन्त्रको आकार बढेको पाइएको छ । आव २०७५÷७६ मा कूल रु ३४ खर्ब ५८ अर्बको अर्थतन्त्र रहेकोमा चालू आजमा त्यो बढेर रु ३७ खर्ब ६८ अर्ब पुगेको छ ।

पछिल्ला तीन वर्षमा नियमितरूपमा ऊर्जाको उपलब्धता भएको र चालू आवमा पनि जलविद्युत्लगायत क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनका कारण पनि सकारात्मक परिवर्तन देखिने विभागको भनाइ छ । विद्युत्, ग्यास र पानी क्षेत्रको कूल योगदानमा २८.७५ प्रतिशत रहने तथ्याङ्कमा समावेश छ । कूल गार्हस्थ उत्पादन (जिडिपी) मा विद्युत्, ग्यास (ऊर्जा) र पानीको योगदान १.४१ प्रतिशत हुने अनुमान गरिएको छ । यस्तै कृषि तथा वन क्षेत्रमा २.४८ प्रतिशत मत्स्यपालन ७.१७, उत्पादन २.२७, रहँदा खानी क्षेत्रमा ०.६९ निर्माण ०.३१, होटल तथा सेवा क्षेत्र १६.३० र यातायात २.४५ प्रतिशतले नकारात्मक हुने देखाएको छ ।

आव २०७६÷७७ को ‘राष्ट्रिय लेखा तथ्याङ्क’ मा कूल ग्राहस्थ उत्पादनको गणनामा समावेश भएका कूल १५ क्षेत्रमध्ये पाँच वटा क्षेत्रमा आर्थिक गतिविधि गत वर्षको तुलनामा नकारात्मक अर्थात् ऋणात्मक हुने देखाएको छ । निर्माण, यातायात र सञ्चार, उद्योग, होटल तथा रेस्टुरेन्ट र खानी तथा उत्खनन क्षेत्र नकारात्मक रहनेछन् । सो क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा चालू आवमा कूल दुई दशमलब ७० प्रतिशत हिस्सा रहने छ ।

कोरोनाका कारण होटल व्यवसायमा नराम्रो असर परेको छ । पर्यटक आवागमन बढाउने भनेर सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का सबै कार्यक्रम बन्द भएका छन् । पर्यटक आवागमनमा झण्डै १४ प्रतिशतले गिरावट आएको छ । आन्तरिक पर्यटकसमेत कोरोनाका कारणले घुम्न पाएका छैनन् । सोही कारण होटल तथा सेवा क्षेत्रमा समेत नकारात्मक असर परेको छ । हवाईसेवा प्रदायकका जहाज ग्राउण्डेड भएका छन् ।

यस्तै विभागका अनुसार चालू मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ५० खर्ब ९२ अर्ब रहेको छ । चालू मूल्यअनुसार कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु १७ खर्ब ४३ अर्ब रहेको छ । चालू मूल्यअनुसार कूल ग्राहस्थ उत्पादनमा उपभोक्ताको मूल्यमा रु ३२ खर्ब नौ अर्ब रहेको छ ।

Comments