रुपनी जि.एम –  पुष माघको जाडो । बर्दियाको समथर भू–भागमा तराईको फुसफुसे शितलहर । त्यही शितलाई छिचोल्नकोलागी सल्काएको धानको पोप्टा । अनि त्यसबाट निस्किएको मधुरो धुँवा । धुँवाले च्वाँसे र म्वाँसे बन्दै आगोको रापमा सेकिंदै गरेका ३ जना मधेशी महिला ।

रिर्पोटिङ्गकालागी त्यही बाटो भएर जाँदै थिएँ । बाटो बिराएर म त्यता पुगेछु । स्कुटीको हेलमेट निकाल्दै मैले सोधें,“दिदी यो बाटो काहाँ जान्छ ?” दनदनी नदन्किने तर भित्रभित्रै सल्किएर तातो राप दिने त्यो धानको डढेको पोक्टामा केही मकैका दाना र धानकै बिँया पडकाउँदै अनि खाँदै आफ्नै सुरमा गफ छाँटी बसिबिँयालो गरिरहेका ३ जना मध्येबाट एउटीले जवाफ त दिईन् तर प्रश्नमा,“तपाँई काहाँ जाने होर ?” जाडोले कठ्ठीएकी म । मैले भने,“पडरिया ।”

अर्कीले मलाई देब्रे हातले क्षितिजमा चित्र कोर्दै बेली बिस्तार लगार बताईन्,“ए…..उसो भए तपाँई त धेरै नै घुमाउरो बाटो आउनु भएछ । पडरिया जाने भए तपाँई याँबाट यस्तरी गएर फेरी दाहीने लाग्नुस्, अनि त्याहाँनिर एउटा चोक आउँछ, त्यो चोकबाट फेरी दाहीने लाग्नुुस् । अनी अलि पर पुगेपछि एउटा सानो पुल आउँछ त्यो पारी गएपछि बायाँ लाग्नुस् अनि एउटा गाउँ आउँछ । त्यो गाउँ कटेपछि तपाँई सिधै लागेर फेरी दाहीने मोडिनुस् । स्कुटरमा हुनु हुँदोरहेछ तपाँईलाई खासै समय लाग्दैन । त्यस्तै १०÷१५ मिनेट लाग्छ होला अनि तपाँई पडरिया पुग्नु हुन्छ ।

उफ……जाडोले काठ्ठीएको बेला डेस्टिनेशनमा पुग्न त्यत्रो घुमाउरो बाटो पार गर्नु पर्ने । घडी हेरें । बिहानको ९ बज्न लागेको रहेछ । दिन पुरै रहेछ । तर हुस्सुले डमक्कै ढाकिएको अध्याँरो । जेहोस् जाडेले काठ्ठीएका औंलाहरु तताउने निधो गरें । अनि स्कुटीलाई पर बाटोको छेउमा राखेर माक्स र पञ्जा फुकाउँदै उनीहरुसंगै पुत्ताएकै धुँवा भएपनि छिनमै कालो र छिनमै रातो हुने धानको पोप्टामा हात सेकाउन बसें म ।

जब म आगो ताप्न बसें । मलाई आफु सानो हुँदा त्यसरी नै आगोको रापमा धान र मकै भुटेर खाएको याद आयो । अनी उनीहरुसंगै एछिन भएपनि बलापनमा फर्कदैं त्यसै गर्न थालें । तब मलाई सोधियो । “तपाँईको घर काहाँ हो ?” मैले जवाफ दिएँ,“म तपाँईहरुकै छिमेकी हुँ ।” छिमेकी भन्ने सुनेर उनीहरु मसंग कुरा गर्नकालागि झनै उत्साहीत भए । र मलाई फेरी साधे, “कुन गाउँ हो नि ?” मैले भने,“गिदरपुर भन्ने थाहा छ तपाँईहरुलाई ?” मेरो जवाफ सुनेपछि उनीहरुले मुख खुम्च्याउँदै भने,“ह्या….किन थाहा नहुने हो ? यीनको माईत पनि त त्यही हो नि ।”

उनीहरुले यीनको भनेपछि मैले पनि उनको अनुहारतिर हेरें । जाडोले काठ्ठिएको अवस्थामा आगो पाउँदा हुत्तिएर तात्तिन खोजेकी मैले आधा घुम्टोले छोपिएको अनुहारलाई कसरी हेर्न सक्थें र ? तर जब मेरै गाउँकी उनी हुन् भन्ने सुनेँ तब उनको अनुहारबाट घुम्टो हटाउन अनुरोध गरें मैले । उनले टाउको हल्लाउँदै नहटाउने बताईन् । आखाँको परेली भन्दा तलको भाग मात्र देखिएकी उनी मुसुमुसु हाँस्दै लजाएको देखें । उनले घुम्टो नउघारेपछि मलाई ठम्याउन धेरै नै गाह्रो भई रहंदा स–साना तर खैरो न कालो जस्तो देखिने कोठीले छोपीएको उनको मिलेको ओठ देखेपछि भने मैले चिनीहालें ।

मेरी बालसखि, मसंग साह्रै नै मिल्ने मेरो बालापनकी साथी । एसएलसी पास नगर्दासम्म संगसंगै नाला र खेतका खोपिल्टाहरुमा माछा मार्ने साथी । पढ्दा पढ्दै उनले बीचैमा पढाई छोडिन् । म स्कूलबाट नआउँदासम्म उनी मलाई पर्खन्थीन् । अनी संगसंगै पल्लो गाउँको थारु बाजेले हाम्रो गाउँको डाडाँमा मकैबारी लगाएका हुन्थे, त्यही घाँस चोर्न जान्थ्यौं । बर्षे बिदा हुँदा आफ्नो रोपाई सकेर तीजमा आफ्नै पैसाले नयाँ लुगा लगाउने रहर कति हो कति । हामीले मज्दुरीमा धान रोपेर न थोरै न धेरै बराबरीमा पैसा कमाएको साथी ।

उनको र मेरो बिचार फरक थियो । स्वभावमा धेरै नै फरक थियौं हामी । उनी बोल्न लजाउँथिन् र डराउँथिन पनि । म त्यसको बिपरित थिएँ । सुन्दरतामा हाम्रो मेल कहिल्यै हुन सकेन । उनको रुपको सामु मेरो रुपको बयान कहिल्यै भएन । उनको आनी बानी धेरैले मन पराउँदथे । तर पनि उनी मेरी बाल सखी भईन् । प्राय धेरै कुरामा हाम्रो बेमेल थियो । र पनि हामी सधैं मिली रह्यौं ।

सबै भन्दा ठुलो बेमेल त उनी अफ्नो आमाले छोडेपछि बाबुले बिहे गरि ल्याएको दोश्रो आमासंग थिईन् । तर म आफ्नै आमा र आफ्नै परिवारसंग थिएँ । आफ्नो आमासंग बालापन बित्न नपाएकोले उनको स्वभाव सानैबाट कम बोल्ने र बोले पनि डराएको स्वभावमा बिकास हुँदै गयो । परिवार त थियो तर त्याहाँ आफ्नो पन थिएन । भाईबहिनी त थिए तर माया साँटने थिएनन् । उनकोलागि छत त थियो तर ओत लाग्नलाई उनले खोजे जस्तो थिएन । मनको कुरा कहिले काँही खोल्नु पर्दा उनी यसरी नै खोल्ने गर्थिन् ।

समय बित्दै गयो । उनले पनि बालापन पार गर्दै गईन् । उनको मनस्थिती सही र गलतको फरक छुट्टयाउने हुन थाल्यो । कारणै कारणको पर्खालले उनको पढाइलाई पनि बीचैमा रोकिदियो । जब उनको पढाई रोकियो अनि उनको र मेरो भेट खेतबारीको अ‍ैंचोपैँचो, घाँस दाउरा, गोठाला र माछा मार्ने खोलानालामा मात्र हुन थाल्यो । उनको र मेरो घर वारी र पारी गाउँमा थियो । सायद त्यसैले होला बिस्तारै बिस्तारै हाम्रो भेटघाट पनि पातलिंदै गयो ।

एक दिनको कुरा हो म स्कूलबाट आएर घर धन्दा गर्दै थिएँ । पल्लो घरको काली मलाई नै सुनाउनलाई दौडिदै आएर हस्याङ् फस्याङ् गर्दै भनी,“ओई तैंले एउटा कुरा थाहा पाईस् ?”,“के कुरा ?”,“तेरो साथी त पोईल गई नी । गाउँकै फलानाले भगाएछ ।”, “के भन्छे यो ? काम पाईनस् तैंले ?” मैले कालीलाई कराएँ । उस्ले भनी,“ तैले नपत्याएर के हुन्छ र । मेरो कुरा विश्वास नलागे जान केटाको घरम गएर हेर तेरो साथीलाई त्यही भेटी हाल्छेस् नी ।” मेरो साथीले बिहे गरेको कुरा सुनाएर उ गई । मलाई भने अचम्म लाग्यो । बोल्न डराउनेले कसरी मनको कुरा साँट्न सकि त्यो पनि केटासंग ?

पछि थाहा भयो उनले बिहे गरेकै रहिछिन् । शनीबार स्कूल छुट्टि भएको दिन उनलाई भेटेर बधाई दिएँ । उनी लजाईन् । त्यो भेटमा मैले एउटै प्रश्न गरें । “किन अचानक बिहे गरेको ?” मुख निन्याउरो पारिन् र मुस्कुराईन् । न त्यो मुस्कानमा खुशी थियो नत इच्छा नै । मौनतामा उनले मेरा सबै जिज्ञासाहरुको जवाफ दिईन् । मैले उनको बाध्यतालाई बुझ्न सकें । सफल बैबाहीक जीवनको शुभकामना दिएँ अनि फर्किएँ ।

समय बित्दै गयो । मैले एसएलसी पास गरें । म उच्च शिक्षाकोलागि सुर्खेत गएँ । यता उनी १ वर्षमै एउटा सन्तानकी आमा बनीछन् । दशैंतिहार बिदामा घर गएको बेला उनको खबर सुन्थें र मन मनै खुशी हुन्थें । भित्री रुपमा उनको पारिवारीक जीवन कस्तो थियो त्यो मलाई थाहा हुने करा नै भएन । तर बाहीर देखिंदा भने उनी खुशी नै देखिन्थीन् । उनको खुशी देखेर मपनि मनमनै खुशी नै हुन्थें । तर उनको पढाई छुटेकोमा भने सधैं दुखि भईरहें ।

केही वर्ष बितेको थियो । म पढाईको सिंढी चढ्दै थिएँ । तर उनले जीवनमा फेरी अर्को निर्णय लिन बाध्य भईछन् । मेरो नागरिकता बनाउन घर गएको बेला मैले सुनें उनले त आफैले रोजेर बिहे गरेको घर र काखको नानी छोडेर एक जना मधेशीसंग फेरी अर्को बिहे गरिन् रे । पहिलो बिबाह गर्दा पत्याउन गाह्रो भए झैं उनले गरेको दोश्रो बिहे पनि मलाई पत्याउन उत्तिकै गाह्रो परेको थियो ।

तर जब उनले गरेको दोश्रो बिहे साँचो भएको पक्का भयो त्यसपछि वास्तविकता थाहा भयो । र त्यो केवल मैले मात्रै थाहा पाउन सकें । अनि उनले सहेको पीडाको महसुुस उनी बाहेक यदि अर्को कसैले गर्ने सक्थ्यो भने त्यो मैले मात्रै गर्न सकें । दोश्रो बिहे रहर होईन रहेछ बाध्यता । श्रीमान विदेश । घरमा सासु ससुरा मात्र । मेलापात र घाँस दाउरा जाँदा शंका गर्ने ससुराको बानी । विदेशबाट पठाईएको पैसाले घरमै सानो किराना पसल खोलेकी थिईन् उनले । सामान किन्न बजार गयो सासुले इज्जत लुटाएर आईस भनेर कुरा सुनाउने । त्यसैमाथि ससुराको पनि थपथाप ।

खाना पकायो जस नदिने । घर घन्दा ग¥यो जस नदिने । यति मात्र हैन रहेछ । उनी माथि ससुराले त हात पनि उठाउँदा रहेछन् । यो भन्दा हिंसाको कुन रुप एउटी महिलाकोलागी सैह्य हुन्छ होला र ? त्यसमा पनि उनी त टुहुरी । त्यतिले पनि नपुगेर सासुससुराले विदेश गएको छोरालाई चरित्रहीन भई सकी भनेर कुरा लगाएपछि श्रीमानले म आउँदा तँलाई घरमा देख्न नपरोस् भन्दै घरबाट निस्किएर जान ठाडो आदेश दिएका रहेछन् ।

माईतमा जे जस्तो भएपनि बिहे गरेपछि सुख पाउँछु । र कम्तिमा साँझ बिहानको गास मिठो मसिनो जे भएपनि सुखले खान पाउँछु । भन्ने सोचेर बिहे गरेकी मेरी बालसखि उनले सोंचे जस्तो केही भएन । बिहे गर्दा उनी केवल १६ वर्षकी थिईन् । त्यति सानो उमेरमा केवल राम्रो लगाउने, मिठो खाने र माईतमा पाउन नसकेको माया बिहेपछि श्रीमानबाट पाउँछु भन्ने मात्रै सोंचेर उनले बिहे गरेकी थिईन् । बिहेपछिको घर त माईतमा सौतेनी आमा भएको भन्दा पनि झनै क्रुर भयो उनकोलागी ।

त्यतिबेला उनी कति एक्लो भएको महसुस् गरेकी होलीन् । आफुलाई जन्माउने आमालाई सम्झिएर एकान्तमा भक्कानिदैं कति रोएकी होलीन् । उनलाई बुझिदिने त्यो गाउँमा कोही भएन । भएको एउटी म थिएँ, म पनि पढाईको शिलशिलामा बाहिर हुने गर्थें । चाडबाडमा भेटिंदा मलाई आफ्नो दुखले भरिएको कथा सुनाएर किन पो निराश गराउन चाहान्थिन् र उनी । त्यसैले उनको दुःख लुकाएर हाँसेको बनावटी हाँसोलाई कहिल्यै बुझ्न सकिन । आफ्नै बालसखी त्यति धेरै पीडामा पिरोलिंदा पनि उनको दुःखी भएको मनलाई बुझ्न नसक्दाको पीडाले आज पनि मलाई कताकता नमज्जा बनाईरहेको हुन्छ ।

बुझ्नु पर्ने श्रीमानले त अरुकै कुरा सुनेर उनलाई बुझेन । उल्टै घरबाट निस्किएर जान भनि दियो । भने म त केवल उनको साथी मात्र न हो । भन्ने सोच्छु र आजपनि मनलाई बुझाउने कोशिशमा लागीरहन्छु । तर जस्ले बुझ्यो त्यो उनको दोश्रो श्रीमान बन्न पुग्यो । उनको सबै कुरा बुझेको र उनलाई परिवारले गरेको ती सबै हर्कतहरु देखी रहेको एक जना मधेशीले तिमीलाई जीवनमा कहिले नी रुवाउने छैन भनी बाचाका साथ लिएर गएछ । र उनी पनि सबै कुरा छोडेर उसैको पछि लागीछन् ।

समयले हामीलाई धेरै नै टाढा बनाई सकेको थियो । नत उनले नै मलाई आफ्ना कथा सुनाउन सक्थिन् नत मसंग नै उनका कथा सुन्ने फुर्सद थियो । सानैमा उनी बैबाहीक जीवनमा बाँधिईन् । म भने उनी जस्तैको कथाहरु सुन्दै र सुनाउँदै हिंडिरहें । जब समयले आफ्नै बाल सखीको कथा सुन्नलाई मलाई वर्षौंपछि उनीसंग भेट गरायो म कति टुटें त्यो मलाई मात्र थाहा छ । त्यो पल जसरी त्यो धानको पोपटा जलिरहेको थियो त्यसैगरी मेरो मन पनि भित्रभित्रै जलि नै रहेको थियो ।

बर्षौंपछि भएको त्यो भेटमा उनीसंग धेरै कुरा गर्ने मन थियो । तर ती दुई जना उनकै छिमेकी थिए । त्यसैले त्यतिबेला पनि उनको कथा सुन्ने ईच्छा अधुरै रह्यो । बस् यति मात्रै सोध्न पाएँ,‘तिमी अहिले खुशी छौ नी ?’ मुस्सुक्क मुस्कुराउँदै घुम्टोले छोपिएको टाउको हल्लाएर उनले आफु खुशी भएको बताईन् । उनीसंगै आगो तापी रहेका महिलाहरुबाट थाहा पाएँ उनी त अहिले तीन सन्ताकी आमा भई सकेकी रहीछन् । उनी त्याहाँ निकै नै खुशी रहिछन् ।

वषौंपछि एउटा झुप्रो घरको पल्लोपट्टी धानको पोपटामा हात सेकाउँदै गरेकी मेरी बालसखिलाई जब मैले खुशी भएको अवस्थामा भेटें त्यसपछि मेरो मन भित्रैदेखी खुशी भयो । तिमी सधैं खुशी हुनु । तिमी खुशी छौ रे भन्ने सनिरहन पाउँ । तिम्रो त पढाई अधुरै रह्यो तर दुःख गरेरै भएपनि छोराछोरीलाई भने पढाउ है भन्दै मिठाई किनेर दिनु भनेर केही पैसा उनको हातमा थमाएर म आफ्नै गन्तब्यतिर लागें ।

बाटोभरी सोच्दै गएँ, पहिलाको श्रीमान जमिनदार थियो रपनि उनले सुखले दुई छाक खान पाएकी थिईनन् । तर अहिले उनको अवस्था साँझ बिहान काम नगरी खान नपुग्ने रहेछ त के भयो ? पाहाडेकी छोरी एउटा मधेशीसंग बिहे गरिन् त के भयो ? जस्ले बुझ्यो उसैको हात थाम्नकोलागी पहिला बिबाह भएको घरको संघार नाघिन् त के भयो ? पहिलो सन्तानलाई उसैको खान्दानसंग छोडेर अहिले तीन सन्तानलाई जन्माईन् त के भयो ? उनी खुशी छिन् सबै भन्दा ठुलो कुरा त्यही नै हो । सुख भन्ने कुरा त्यस्तै नै हो तर खुशी चै हुनै पर्छ मान्छेको जीवनमा ।

Comments