बागलुङ । पौडी खेल्ने क्रममा एक युवाको अमेरिकामा निधन भएको छ । बागलुङका २५ वर्षीय आशिष केसीको अमेरिकाको मेरिल्याण्डमा निधन भएको हो ।

तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका केसी शुक्रबार पौडि खेल्ने क्रममा तलाउमा डु’बेको बताइएको छ । उद्वारकर्ताले उद्वार गरी मेरिल्याण्डको युनिभर्सिटी अफ बाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टर पुर्याए पनि उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । मेरिल्याण्डको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सामाजिक सञ्जालमार्फत केसीको निधनको पुष्टि गरेका हुन् ।

मृतक केसीको दाहसंस्कारका लागि नेपाल पठाइने वा अमेरिकामै गर्ने भन्नेबारे परिवारका सदस्य र अमेरिकामा रहेका नेपालीबीच कुरा भइरहेको छ । मृतक केसीका बुवा, आमा र एक बहिनी छन् ।

त्यस्तै ४८ वर्षीय बैकुण्ठ लामिछानेको राती करीब १० बजेतिर बाल्टिमोर वासिंगटन मेडिकल सेन्टरमा उपचाररत रहेकै अवस्थामा निधन भएको । लामिछाने जन्डिसबाट पीडित थिए । त्यही क्रममा उनी केही साता पहिले पनि अस्पतालमा पुगेका थिए । लामिछाने आफ्नी श्रीमती र २० वर्षीया छोरीका साथ विगत केही वर्षदेखि क्रफ्टनमा बस्दै आइरहेका थिए । छोरी कलेजमा अध्ययनरत छिन् । लामिछानेले अस्पताल भर्ना भएपछि पनि अलि समस्या बढे जस्तो लागेर आफु अस्पताल आएको भन्दै फोन गरेको क्रफ्टनमै बस्ने लामिछानेका छिमेकी अशोकजंग केसीले जानकारी दिए ।

पुर्ख्यौली थलो पर्वतको कुश्मा बजार रहेका दिवंगत लामिछानेका बुवाआमा र अन्य पारिवारिक सदस्य बसाई सराइ गरी चितवनमा बस्दै आएका छन् । लामिछाने आफ्नो जेठानको छोरा भएको समाजसेवी गजेन्द्र अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार लामिछाने १५ वर्ष पहिलेदेखि अमेरिकामा बस्दै आएका थिए । उनी केही महिना पहिले मात्र नेपाल गएर फर्किएका थिए । ‘जन्डिस बढ्दै गएपछि त्यसकै असरले कलेजो र फोक्सो समेत ड्यामेज भएको र त्यही कारण निधन भएको हो’ अर्यालले भने ।

यसैबीच दिवंगत लामिछानेको शुक्रवार नै दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नु पहिले अन्तिम श्रद्धान्जलीका लागि लामिछानेका परिवार,नातेदार र क्रफ्टन क्षेत्रमा बस्ने नेपालीहरु शवदाह गृह पुगेका थिए । दाहसंस्कारका लागि डेलिगेट ह्यारी भण्डारीले श्रोत जुटाउने र अन्य आवश्यक समन्वय गर्ने काम गरेका थिए ।

Comments