काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वषर्ीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको भएको खुलेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालको ल्याबमा काम गर्ने ३५ वर्षीय पुरुषलाई कोरोना भएको जानकारी दिए । उनले महाशाखाको टोली ग्राण्डी अस्पताल गएर कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताए । डा. पाण्डेले सङ्क्रमित बिरामीलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा ल्याई उपचार जारी रहेको बताए । यता ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बेलुकासम्म सबै विवरण आउने जानकारी दिँदै कोरोनाका लागि छुट्टै राखेर उपचार गर्ने वार्ड बनाइएको बताए । रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले सङ्क्रमित पुरुष काम गर्ने वार्ड सिल गर्नुपर्ने भन्दै सिल गर्ने काम महाशाखाको नभएको बताए ।

त्यस्तै भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।

प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि आज बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

सङ्क्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उहाँलाई राति पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ । टेकु अस्पताल लैजाने तयारी गरिए पनि सङ्क्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।

Comments