कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेकालाई यतिबेला रोजगारी र अध्ययनभन्दा पनि स्वदेश फर्कने तीव्र इच्छाले सताएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै आन्तरिक एवं बाह्य उडान रोकेपछि विदेशमा रहेका नेपाली आउने सबै बाटा बन्द भएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौँ नेपाली स्वदेश भित्रिसकेका हुने थिए, अझै पनि उनीहरु उडान खुल्ने प्रतीक्षामा छन् । कोरोना भाइरस शुरु भएको चीनमा यसको प्रभाव कम हुँदै गए पनि अन्य मुलुकमा भने सङ्क्रमित र निधनहुनेको सङ्ख्या बढ्दै गएको छ ।

यसै क्रममा लकडाउनका कारण नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै निधन भएको छ । भारतको नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका स्याङजाका हरिनाथ नगरपालिका-२ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको शनिबार निधन भएको भारत हो।

मृतक थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि जिल्ला सदरमुकाम महाराजगंज अस्पतालमा उपचार पश्चात शुक्रबार साँझ पुनः क्वारेन्टाइनमा ल्याइएपछि उनको निधनभएको जनाएको छ । उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा पुगेका थिए। तर, सरकारले प्रवेश अनुमति नदिदाँ उनलाई सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो। मृतक क्वारेन्टाइनमा आउनु अघि उनको खुट्टा र अन्डकोष सुन्निएको तथा मृगौला सम्बन्धिको समस्या देखिएको थियो।

क्वारेन्टाइनबाट पोस्टमार्टका लागि लैजाँदै मृतकको शव । तस्बिर : सलमान खान अन्नपूर्ण

भारतबाट स्वदेश फर्केका नेपालीलाई सम्बन्धित जिल्ला वा स्थानीय तहले सीमा नाकाबाटै उद्धार गर्न सक्ने व्यवस्था रूपन्देही जिल्ला प्रशासनले मिलाएको छ । सम्बन्धित गाउँ/नगरपालिकाले रूपन्देही प्रशासनसँग समन्वय गरेर आफ्ना बासिन्दालाई लैजाने व्यवस्था मिलाएको हो । सुनौली नाकामा स्वदेश आउनेको चाप दिनहुँ बढ्न थालेपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

भारतमा रेल सञ्चालन गरिएपछि सुनौली नाकाबाट स्वदेश आउन खोज्ने नेपाली यात्रुको चाप बढ्न थालेको छ । यसअघि सीमाबाट नेपाल आउनका लागि भारतको क्वारेन्टाइनमा न्यूनतम दुई साता अनिवार्य बस्नु पर्ने प्रावधान थियो । भारतबाट स्वदेश फर्कने नेपालीको भीड सुनौली नाकामा लाग्न थालेपछि पाल्पा जिल्ला र अर्घाखाँचीको मालारानी गाउँपालिकाले सीमाबाटै सीधै बसबाट आफ्ना जिल्लावासी र पालिकाकाबासीलाई लैजान थालेका छन् । शुक्रबार मालारानी गाउँपालिकाले ३ सय २८ जना आफ्नो जिल्ला र पालिकाका बासिन्दालाई सीमाबाटै बसबाट लगेको हो । पाल्पा जिल्ला प्रशासनले पनि सीमामा जम्मा भएका ६० जना जिल्लावासीलाई दुईवटा बस पठाएर जिल्ला लगेको थियो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सीमाबाट लगेका नेपालीलाई सम्बन्धित जिल्ला प्रशासन वा पालिकाले आफ्नो जिल्लामा वा पालिकामा पुर्‍याएपछि क्वारेन्टाइनमा बस्ने गरी व्यवस्थापन गर्ने बताए ।

उनका अनुसार भारतको नौतनावास्थित क्वारेन्टाइनमा बसेका १ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइयो । भारततर्फ जानका लागि सीमा क्षेत्रमा जम्मा भएका र भैरहवाको निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका ४ सय १७ जना भारतीय नागरिक बिहीबार भारततर्फ लागेका छन् ।

यस्तै दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो । सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको भन्दै चर्को विरोध भएपछि उनलाई सो अस्पताल ल्याइएको हो । त्यसअघि ती युवकलाई दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको थियो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार सङ्क्रमित युवा चिकित्सकसहित स्वास्थ्यकर्मीको निगरानीमा छन् । कर्णालीको पहिलो कोरोना सङ्क्रमित उनले प्रदेश अस्पतालमा आएपछि आफ्नो मनोबल बढेको बताए । “चिकित्सकहरूले राम्रो उपचार हुन्छ, नआत्तिनुस्, तपाईंलाई सुर्खेत लैजाँदैछौँ भनेर एम्बुलेन्समा बसाल्नुभो”, उनले दुखेसोपोखे, “कोरोना पोजेटिभ भएको सुन्दा मलाई त्यति दुःख लागेन, बरु प्रदेश अस्पतालमा लैजाने भनेर जङ्गलको बीचमा रहेको विद्यालयमा राख्दा साह्रै मन दुख्यो ।”

उनलाई विद्यालयको हलमा राखियो । तीन नर्स र एक चिकित्सक अर्को भवनको कोठामा बसेका छन् । श्यया र एउटा थर्माेमिटरबाहेक अरु केही थिएन । विद्यालयको आइसोलेसनमा रहँदाको अनुभव सुनाउँदै भने, “क्वारेन्टिनबाट नारायण नगरपालिकाको विद्यालयमा ल्याएको दिन रक्तचाप र ज्वरो नापियो, नर्सहरूले मोबाइल नम्बर दिएका थिए, केही अप्ठ्यारो परे फोन गर्नु भनेर, तर फर्केर कोही आएनन्, त्रासैत्रासमा बसेँ, बेला–बेलामा आफैँ ज्वरो नापेर नर्सलाई फोन गरी जानकारी दिन्थेँ ।”

परिवार अत्तालिएका छन्, अब बाँच्दैन कि भनेर । “मलाई केही हुँदैन भन्छु, तर भित्रभित्रै आफैँलाई भने डर लागिरहेको छ । मलाई अस्पताल नलगी यतै स्कूलमै राखेर मार्ने त होइनन् भन्ने मनमा लागिरहन्थ्यो”, टेलिफोनमा उनले भने, “जब हिजोमात्रै सुर्खेत आइयो, त्यसपछि बाँचिन्छ होला भन्ने अलि आँट आएको छ ।”

सङ्क्रमण पत्ता लागेपछि अस्पतालमा राखेर उपचार गर्नुका साटो उल्टै तनाव दिएको ती युवाको गुनासो छ । आफू पहुँचविहीन दलित समुदायको भएकाले उपचारमा बेवास्ता गरिएको उनको बुझाइ छ । यही जेठ ३ गते प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको प्रयोगशालाको टिमले ती युवासहित सात्तला लक्ष्मी मावि क्वारेन्टिनमा रहेका ३९ जनाको स्वाब सङ्कलन गरेको थियो । जेठ ५ गते पिसीआर परीक्षणमा उहाँको नतिजा पोजेटिभ देखिएको थियो ।

Comments