पोखरा, २७ जेठ-
पोखराबाट बन्द गराउँदै हिँड्ने ९ जना विप्लव माओवादीका कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकारसँग विभिन्न माग राख्दै गरेको बन्दका क्रममा पोखराको बैदाम र लेखनाथको शिसुवामा बन्द गराउँदै हिँड्ने उनीहरुलाई प्रहरीले पक्रेको हो ।
पोखरामा बन्दको पूर्ण प्रभाव परेको छ ।
पोखरामा माओवादीले गरेको नेपाल बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सवारी साधन, कलकारखाना सबै बन्द छन् । केही मात्रामा नीजि सवारी साधन सञ्चालनमा भएका छन् भने पोखराका चोक—चोकमा प्रहरी परिचालन भएका छन् ।
पक्राउ परेका कार्यकताको रिहाइ गर्नुपर्ने, कालो बजारी र बजार भाउ नियन्त्रणको माग राख्दै बन्द गरेको नेकपा माओवादी तमुवान प्रदेश इन्चार्ज सावित्री दुराले बताइन् । विहान ५ बजे देखि बेलुका ५ बजे सम्म बन्द नेपाल बन्द हुने उनको भनाई छ ।
बन्दका बेला पानी, एम्बुलेन्स, प्रेस लगायतका सवारी साधन भने सन्चालन गर्न पाइने उनले जानकारी दिईन् ।