संसारकै पुरानो झण्डाः नेपालको राष्ट्रिय झण्डा र यसको ऐतिहासिक महत्व



अधिवक्ता सुजित के.सी.

राष्ट्रिय झण्डा देशको चिनारी हो । झण्डाले देशको मात्र होइन गौरवशील इतिहासको पनि प्रतिनिधित्व गर्दछ । विश्वमा रहेका सबै देशको झण्डाले आ–आफ्नो इतिहास बोकेका छन् । झण्डालाई राष्ट्रले ठूलो सम्मान दिएका हुन्छन । यसको संरक्षण तथा सम्मान गर्नु राष्ट्रको दायित्व पनि हो । नेपालको झण्डा संसारकै पुरानो र एक मात्र दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको झण्डा हो । झण्डको त्रिकोणमा अर्ध चन्द्र र सुर्य रहेको छ । नेपालीहरुमा आकाशमा चन्द्र सुर्य रहेसम्म यो झण्डा र नेपाल रहने पौराणिक मान्यता पनि छ ।

संसारमा डेनमार्कको राष्ट्रिय झण्डालाई सबै भन्दा पुरानो झण्डा मानिन्छ भने नेपालको झण्डालाई तेस्रो पुरानो झण्डा मानिएको छ । तर नेपालको झण्डाको विषयमा वेदमा समेत उल्लेख गरिएको विश्वास गरिन्छ । त्यसैले पनि यो झण्डालाई संसारकै पुरानो झण्डा मान्न सकिन्छ । नेपालको झण्डा लिच्छवीकालमा समेत अस्तित्वमा रहेको थियो भने मानदेवले प्रचलनमा ल्याएका पैसा मानाङ्कमा समेत सिंहले झण्डा समाएको आकृति राखिएको थियो ।
नेपालको झण्डालाई गणितको जननीको रुपमा मानिन्छ ।

यसको त्रिकोणलाई दुई त्रिभुजको रुपमा मान्न सकिन्छ । गणितमा त्रिभुज प्रथम सूत्र हो । दुई त्रिभुज मिलाउँदा विद्या र ज्ञानको चिह्न तथा सरस्वतीको प्रतीक षट्कोण बन्छ । नेपालको झण्डा आधुनिक गणितका प्रतिपादक ‘आर्किमिडिज’ भन्दा पनि करिब हजार वर्ष पहिले अस्तित्वमा रहेको बुझिन्छ । त्यसैले पनि नेपालको झण्डालाई प्रयोगात्मक गणितको जननी पनि मानिन्छ ।
नेपालको झण्डामा रहेको तीन रङलाई सत, रज र तम गुणको प्रतिकको रुपमा मानिन्छ । रातोले गौरवशाली इतिहास, वीरता र शक्ति, सेतोले शान्ति, ज्ञान र नीलोले शत्रुमाथीको विजय, आत्म रक्षालाई चित्रण गरेको मान्यता रहेको छ ।

सनातन हिन्दू धर्मको मान्यता अनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका छन् । राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा “म जसै अर्काको छत्र(भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के (कसो होला?” भनेको थिए । राजा पृथ्वी नारायण शाहको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय झण्डाको बढी महत्व हुने गरेको पाइन्छ ।

हाम्रा सम्पूर्ण वैदिक वाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन् । पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्य वंश वा चन्द्र वंश मान्दै आएका थिए । वि.सं. ७९२ (संवत् १५९) मा राजा जयदेव (द्वितीय)ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन् । त्यति बेला पनि झण्डामा चन्द्र र सूर्यको रहेको मान्न सकिन्छ ।

नेपालको झण्डाले ठूलो इतिहास बोकेको छ । यसले संसारकै अन्य झण्डा भन्दा फरक इतिहास र मान्यता बोकेको पाइन्छ । यो विश्वकै प्राचिन झण्डामा सबै नेपालीको गौरव गासिँएको छ ।
नेपालको संविधानको भाग १ धारा ८ मा सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो भनिएको छ । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्र्यिवधि २०६९ बनाई यसलाई लागु समेत गरिएको छ । यसमा ७ वटा कार्य गर्न निषेध गरिएको भएता पनि हालसम्म त्यो निषेधित कार्य गर्नेलाई कुनै पनि प्रकारको दण्ड सजाय भने भएको छैन् । यस कार्यविधिलाई कागजमा मात्र सिमित राखिएको छ । 

वर्तमान समयमा यसको ऐतिहासिक महत्वलाई बुझन नसकेकोले होला हाम्रो राष्ट्रिय झण्डा पटक पटक राजनितिक विवादमा समेत पर्दैआएको छ । विं.सं २०६२।६३ पछिको तराईमा भएका विभिन्न आन्दोलनमा त यसलाई सामन्तीको प्रतिकको रुपमा समेत चित्रण गरियो र जलाइयो पनि । राष्ट्रिय झण्डा जस्तो उच्च सम्मान जनक राष्ट्रिय प्रतिकलाई विवादमा ल्याउदा र जलाउदा समेत तत्कालीन नेपाल सरकारले केही गर्न सकेन । राष्ट्रिय झण्डा प्रतिको सम्मान भनेकै राष्ट्रियताको एउटा आयाम हो । जसले आफ्नो देशको राष्ट्रिय झण्डालाई सम्मान गर्न जान्दैन उसलाई त्यो देशमा बस्ने अधिकार पनि हुँदैन् ।

इतिहास साक्षी छ, नेपालको राष्ट्रिय झण्डा कहिले कुनै पनि साम्राज्य सामु झुक्नु परेन् । कारण थियो, नेपालीहरुको वीरता र युद्ध कौशल । यदि यो झण्डा कुनै पनि युरोपेली मुलुक वा अमेरिकी मुलुकको हुँदो हो त यसको महत्व र गाथा संसार भरि नै चर्चित हुने थियो । तर नेपाल सानो र कमजोर भएको कारणले पनि होला यसलाई अन्य देशको राष्ट्रिय झण्डाको जस्तै सामान्य रुपमा लिइन्छ ।

राष्ट्रिय झण्डाको अस्तित्व राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँग गासिएको हुन्छ । झण्डाको संरक्षण र सम्मान गर्नु सबैको कर्तव्य पनि हो । देशको अस्तित्वसँगै गासिँएको झण्डाको अस्तित्व पनि पटक पटक संकटमा पर्दैआएको छ । झण्डाको संरक्षणको लागि राज्यले मात्र होइन, सबै जातजाती, धर्मालम्बी, वर्ग र क्षेत्रका नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । राष्ट्रिय एकता र मेलमिलापले मात्र यसलाई सधै उच्च र सम्मानित बनाइरहन सक्दछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्