ताजा खबर , नेपालगञ्ज ३० चैत्र । नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले आजदेखि लागू हुने गरी लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । आजदेखि औद्योगिक फिडरमा दैनिक ७ घण्टा र अन्य फिडरहरुमा ६ घण्टादेखि ९ घण्टासम्म विद्युत कटौती हुने गरि तालिका सार्वजनिक गरिएको केन्द्रले जनाएको छ । यसअघि अघोषित रुपमा लोडसेडिङ गर्दै आएको प्राधिकरणले उपभोक्ता चर्को दवावपछि आजदेखि लोडसेडिङको कार्यकातिका सार्वजनिक गरेको हो ।
हाल भारतको नानपाराबाट ८ देखि १० मेघावाट विद्युत सप्लाई प्राप्त भैरहे पनि अहिलेको माग २० मेघावाट रहेकाले लोडसेडिङ गर्नु बाध्यात्मक परिस्थिति भएको प्राधिकरणको भनाई छ । नेपालगञ्जमा गर्मी वढेसंगै विद्युतको माग २४ मेघावाट हुने गरेको केन्द्रले जनाएको छ । आपूर्ति भन्दा माग बढी भएकाले ग्राहकहरुको माग र विद्युत आपूर्तिको सन्तुलन मिलाउन लोडसेडिङ गर्नु परेको प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ । गर्मी सिजनमा अपुग हुने विद्युत थप १० मेघावाट लोड नेपालको राष्ट्रिय प्रशारण ग्रीडवाट ल्याउनका लागि प्रक्रिया थालिसकेको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख उमेश झाले जानकारी दिनुभयो ।