शिविर मै पानी पसेपछि भूकम्पपीडितको विचल्ली, सर्पको त्रास उत्तिकै



भक्तपुर, २० असार । भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ ।

भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि यहाँको शिविरको त्रिपालमा आश्रय लिँदै आएको नापितको पाँच जना परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५५ परिवारको चिन्ता एउटै छ ।

जाडो, घाम, गर्मी छिचोल्दै आएका यहाँका बासिन्दालाई गत वर्षको वर्षा काट्नभन्दा यस वर्षको वर्षा काट्न निकै सकस परेको छ । गत वर्ष नयाँ त्रिपालले वर्षा धाने पनि यस वर्ष भने पुरानो र मक्किएको त्रिपालले पानी थेग्न नसकेपछि उनी विचल्लीमा परेका छन् ।

सँगैको कल्पना नापितको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ– “आकासबाट पानी पर्न थालेपछि त्रिपालभित्र भान्छा र ओछ्यान जोगाउनै गाह्रो हुन्छ, कहिलेकाहीँ त माथिबाट आउने वर्षाको भेल समेत त्रिपालभित्र पसेपछि बस्ने ठाउँ समेत हँुदैन, कस्तो विचल्लीमा प¥यौँ हामी ।”

रहर र केही पाइएला कि भन्ने आशाले होइन, जाने ठाउँ, बस्ने कोठा र घर बनाउने औकात नभएपछि यही शिविरमा गुजारा चलाउँदै आउनु परेको शिविरका बासिन्दा बताउँछन् ।

बूढाबूढी, बालबालिका र अपाङ्गलाई शिविरभित्रको बसाइँ अझ कष्टकर बनेको छ । बाहिर कोठा नपाउने, महँगो भाडा तिर्न नसक्ने भूकम्पपीडित निकै समस्यामा परेका छन् । यहाँका बासिन्दालाई सरकारले अनुदान देला र घर बनाउला भन्ने आशा समेत अब छैन ।

शिविरभित्र सर्पको त्रास उत्तिकै छ भने खानेपानीको चरम अभावले पर टोलटोल पानीको खोजीमा भौतारिन पर्छ । कि त एक ग्रागी पानीको रु पाँच तिरेर किन्नु पर्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्