किसानलाई चौँतिस लाख अनुदान



बाबियाचौर (म्याग्दी), ३० असार । पशुपालक किसानले यस वर्ष रु ३३ लाख ८५ हजार अनुदान पाएका छन् ।

किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी पशुजन्य पदार्थको उत्पादनमा वृद्धि र प्रोत्साहन गर्न जिल्ला पशुसेवा कार्यालयले उक्त अनुदान उपलब्ध गराएको हो ।

घारको हिमालयन चिज उत्पादन सहकारीले गाईपालन र भुरुङ तातोपानीको रुप्से कृषि सहकारीले बाख्रापालनका लागि कृषि तथा व्यापार आयोजनाबाट रु १०÷१० लाख अनुदान पाएका कृषि विकास अधिकृत नरबहादुर बानियाँले बताउनुभयो । यस्तै भगवती, बेग, दोवा, भुरुङतातोपानी, शिख, दाना र नारच्याङ गाविसका भेडापालन किसान आबद्ध कालीगण्डकी भेडापालन समितिले रु छ लाख अनुदान पाएको छ ।

अनुदानबाट रु एक लाख ५० हजारको घुम्ती कोष स्थापना, घुम्ती भेडा गोठमा सोलार जडान, ऊन काट्ने, गोठालालाई अत्यावश्यक सामग्री वितरण, पक्की पोखरी र प्रोटेबल डिपिङ ट्याङ्की निर्माण गरेको समितिका अध्यक्ष मेखबहादुर गर्बुजाले बताउनुभयो । शिखको खोप्रा लेकमा पालिएका चौँरीको खानेपानी व्यवस्थाका लागि रु ६० हजार सहयोगमा पक्की डुढ निर्माण गरिएको छ ।

यसैगरी शिख–९ गिवाङको प्रगतिशील बाख्रापालन समितिमा आबद्ध ५० घरधुरी किसानले पशुसेवा कार्यालयको सहयोगमा बाख्रापालन र खोर सुधार गरेका छन् । प्रतिकिसान रु १० हजार ५०० अनुदान र चार वटा बोका सहयोग प्राप्त भएको समितिका अध्यक्ष पूर्णबहादुर पाइजाले बताउनुभयो । यसैगरी घारकी सीता बरुवालले युवा लक्षित कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान सहयोगमा खोर सुधार, दाना खरिद र घाँस व्यवस्थापन गर्नुभएको छ ।

दाना काभ्रेका २० जना महिलाले पशुसेवा कार्यालयले रु तीन हजारका दरले उपलब्ध गराएको अनुदान सहयोगमा खोर सुधार गरी स्थानीय जातका कुखुरा पालेका छन् । घारका चार जना तथा दानाका एक किसानले गोठ सुधारका लागि रु पाँच हजारका दरले अनुदान प्राप्त गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्