पाँचवर्षअघि करेण्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका खोटाङ नेर्पाका हरिकाजी ढुंगानालाई सहयोग जुट्न थालेको छ । आज शनिबार मात्रै ढुंगानाको उपचारका लागि पाँच लाख ५६ हजार रुपैया रकम प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।
त्यस्तै, गलकोट समाज जापान बाट ४ लाख र माल्बुल प्रेमी र साथीहरु हङकङ बाट प्राप्त ४५ हजार सहयोग रकम शनिबारै नयाँ नयाँ न्यूज नेपाल युथट्युव च्यानलका शिशिर भण्डारीले सहयोग हस्तान्तरण गरेका छन् भने काठमाडौ लिला घिमिरेको पहलमा कर्मचारी तथा व्यक्तिहरुबाट प्राप्त संकलित ६१ हजार सातसय रुपैया कृष्ण गिरीले आजै हस्तान्तरण गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी हरिकाजी ढुङ्गाना कार्यालयले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछि यस्तो अवस्थामा पुग्नुभएको हो । उहाँ भन्नुहुन्छ दाङका कृष्ण वली भाईलाई सयौँले सहयोग दिए भन्नु सुन्छु । मपनि सहयोगको अपेक्षामा छु । म मात्र हाँस्न हैन ८० बर्ष नाँघेका बृद्ध बाबु–आमा र दुधे बालबच्चा बचाउन चाहान्छु ।
शरीर मात्र बाँकी रहेपछि परिवारकै जीवन कष्कर बन्दै गएको हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिका नाममा केही पाखो बारी मात्र छ । घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् । वृद्ध बुबाआमा र बहिनी हरिकाजीकै सहारामा थिए । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार सहाराविहीन बनेका छन् । अहिले उनीहरुको घरमा चुल्हो बाल्न नै धौधौ परेको छिमेकी बताउँछन् । हरिकाजीको परिवारलाई सहयोग गर्न चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखामा रहेको बचत हिसाब नं ११२००२१९७३१० गर्न सकिने छ ।