कोलकाता उडान बन्द गर्दै बुद्ध एयर



काठमाडौँ, १० मङ्सिर । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ । कोलकाता उडान शुरु गरेको ६ महिनामै रु १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए ।

नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ । कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने बजार निर्देशक जोशीले जानकारी दिए । कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ । बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।

नक्सालमा फोटो प्रदर्शनी

भुजिङ माइक्रो हाइड्रोपावर स्थापनाको २० औँ वर्षगाँठको अवसरमा नेपाल टोकुसिमा जापान फ्रेण्डसिप तथा टोकुसिमा नेपाल फ्रेण्डसिप एशोसिएशनद्वारा आजदेखि आयोजित फोटो प्रदर्शनी आजदेखि नेपाल ललित कला प्रज्ञाप्रतिष्ठान नक्सालमा शुरु भएको छ ।

दुई दिने सो प्रदर्शनीमा जापान र नेपालको सांस्कृतिक पक्ष, भुजिङ माइक्रो हाइड्रोपावरको गतिविधि तथा विभिन्न रोप वेलगायतका फोटो राखिएको छ । कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न २० विद्यालयका विद्यार्थीबीच चित्रकला प्रदर्शनीको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दोस्रो विश्वयुद्धको घटनाबाट अप्ठयारोमा परेको जापानले त्यस अप्ठेरोलाई चिर्दै छोटो अवधिमा गरेको आर्थिक विकासबाट नेपालले पनि सिक्न सक्ने धारणा व्यक्त गरे ।

उनले जापानको जनताको जीवनस्तर उकास्न गरेको आर्थिक विकासको अनुभवलाई समृद्ध नेपाल सुखी नेपालीको अभियानमा जुटिरहेको नेपालले पनि व्यवहारमा उतार्नुपर्नेमा जोडदिए । मन्त्री पोखरेलले सरकारले शिक्षालाई पूर्वाधार र विज्ञानलाई विकासको आधारको रुपमा मानेको बताए ।

टोकुसिमा नेपाल फ्रेण्डसिप एशोसिएशनका अध्यक्ष यासुताका तानागुचीले भुजिङ माइक्रो हाइड्रोपावर प्रोजेक्ट बनाउन स्थानीय जनताले सहयोग गरेको कारण उद्देश्य सफल भएको बताए । उनले त्यस गाउँमा जापान सरकारले परियोजना पूरा गरी बिजुली उत्पादन गर्नुका साथै विभिन्न रोप वेको पनि निर्माण कार्य पूरा गरेको जानकारी दिए । नेपाल टोकुसिमा जापान फ्रेण्डसिप एशोसिएशनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले नेपालले जापानलाई मित्रको रुपमा पाउँदा गौरवको अनुभूति भएको बताउँदै दुई मुलुकबीच सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध मजबुत रहेको बताए

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्