निर्वाचनको मुखमा काङ्ग्रेसका वडाध्यक्ष नै नेकपा प्रवेश



काठमाडौं, ११ मंसिर । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए । उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए । चुनावीसभामा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, परमानन्द भट्टलगायतले आ–आफ्नो धारणा राखेका थिए।

वृद्धवृद्धालाई सेनाद्वारा न्यानो लुगा वितरण

नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामग्रीसमेत उपलब्ध गराएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवृद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामग्री वितरण गरेको हो । सेनाले बढ्दै गरेको जाडोलाई ध्यानमा राखी न्यानो लुगा वितरण गरिएको जनाएको छ ।

श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शङ्कर पण्डितले महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सेनाको सहयोग सामग्री प्राप्त गरेपछि अध्यक्ष चन्दले नेपाली सेनाले एक दशकभन्दा बढी समयदेखि वद्धाश्रमलाई सहयोग गर्दै आएको बताए । विसं २०६३ मा सेनाकै सहयोगमा वृद्धाश्रम भवन निर्माण गरिएको हो । वृद्धाश्रम सञ्चालनमा नेपाली सेनाको ठूलो सहयोग रहेको छ ।

सो अवसरमा सेनाको श्री नं २५ फिएको चिकित्सकसहितको टोलीले वृद्धवद्धाको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । श्री नंं २५ फिएबाट उपसेनानी डा बबिता सिल्वालसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । खाद्य सामग्री वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सहायकरथी पण्डित, देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यात, श्री नं २५ बाहिनीका सेनानी गोरख पुजारालगायत सैनिक अधिकृतको सहभागिता थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्