नेपाल एयरलाइन्सले जापान, चिन, साउदी अरेबिया र दक्षिण कोरिया सिधा उडान गर्ने !

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार १७:०४


नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो । दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ । दशरथ रङ्गशालामा आगामी जनवरी १ (पुस १६ गते) ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्मको तयारी भइरहेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक काम भइरहेको छ । भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास लिइएको छ ।

जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । यी उडान थपिएपछि पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनाका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे कम्पनीले अपेक्षा गरेको छ ।निगमले गत भदौ १२ गतेदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा शुरुमा सातामा तीन र पछि सातामा दुई नियमित उडान भर्दै आएको छ । यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि भने निगमले जापानको राजधानी टोकियो नजीकको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा उडान पहलकदमी गरेको थियो । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गर्दै आएको छ । नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ ।

त्यस्तै लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मङ्सिर दोस्रो साता निश्चित भएकोे थियो । सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ ।

चिनियाँ सिभिल एभिएशनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएशनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिइएको थियो । चीनको राजधानी बेइजिङ, साङ्घाईलगायत गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको बताइएको छ ।निगमका दुई अन्तररष्ट्रिय गन्तव्यमा उडान थपिएपछि ए३२० न्यारो बडी र ए३३० वाइड बडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने छन् । यसपछि निगमको अन्तरराष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाङ्जाओे, भारतको नयाँ दिल्ली, बङ्लोर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तरराष्ट्रियस्तरमा १० गन्तव्य हुनेछन् ।

साउदी अरेबिया र दक्षिण कोरिया उडान

निगमले उडान गन्तव्य विस्तार गर्नेक्रममा अब साउदी अरेबियाको रियाद र दक्षिण कोरियाको सिओल गन्तव्यमा उडानका लागि आन्तरिक तयारी गरिरहेको छ । यी दुवै गन्तव्यमा एकदुई दिनभित्रै टुङ्गो लाग्ने जनाइएको छ । अहिले आन्तरिक पहलकदमी भइरहेको निगम वाणिज्य विभागले जनाएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेका दुवै गन्तव्यमा उडान गर्दा निगमको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताइएको छ ।

निगमले धमाधम गन्तव्य विस्तार गरिरहे पनि जहाजको क्षमता बढाउन सकेको छैन । गन्तव्य थपिँदै गर्दा जहाज अपुग हुने निगमका अधिकारी बताउँछन् । अन्तरराष्ट्रिय उडानका लागि निगमसँग हाल दुई ए ३२० न्यारो बडी र दुई ए३३० वाइड बडी जहाज छन् । निगमले उक्त जहाजको उडान घण्टाका आधारमा अन्य गन्तव्य विस्तारका दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस : ‘भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ’

राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढङ्गबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल भारत आदिवासी जनजाति मैत्री सङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाल भूमि सिमाना विवाद’ विषयको अन्तरक्रियामा उहाँहरुले सन् १८१६ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिलाई प्रस्थानविन्दु मानेर नेपाली भूमिमाथिको स्वामित्व हासिल गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँहरुको भनाइ थियो, “सरकारले नेपाली भूमि रक्षा गर्ने मामिलामा ठोस पहल गरेको छैन । यो गम्भीर बहसको विषय हो ।” कार्यक्रममा समाजावादी पार्टीकी नेत्री हिसिला यमीले भारतले नेपालको भूमि अनधिकृतरुपमा मिच्न थालेपछि सुस्ता र कालापानीको विषय चर्चाको शिखरमा रहेको बताउँदै वर्तमान दुई तिहाइको बलियो सरकारले नेपाल र भारतबीच शीर्ष तहमा वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने सुझाव दिनुभयो । नेत्री यमीले सीमा विवादलाई सडकको मुद्दा बनाउनेभन्दा पनि सदन र सरकारको विषय बनाउनुपर्ने बताउनुभयो ।

आयोजक सङ्घका अध्यक्ष विनोदकुमार गुरुङले नेपालको पौने तीन करोड जनसङ्ख्यामा एक करोड आदिवासी जनजाति रहेको र उनीहरु भारत, बेलायतजस्ता विभिन्न मुलुकमा गोरखाली सेनाका रुपमा सेवा गरिरहेको जानकारी दिँदै मातृभूमिलाई आदिवासी जनजातिले बचाउने दृढता व्यक्त गर्नुभयो । प्रतिनिधिसभाका सदस्य चन्दा चौधरीले सरकारले नेपालको कालापानी क्षेत्रको रक्षाका लागि हालसम्म कुनै पहल नगरेको आरोप लगाउँदै जनताको पहलविना नेपाली भूभाग फिर्ता गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । नेपाली कांग्रेसका दिलमान पाख्रिनले ‘सरकारमा गतिलो नेतृत्व दिन भएकाले’ नेपालमा अझै आदिवासी जनजाति राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिले पछाडि परेको बताउनुभयो ।

मानवाधिकारकर्मी केबी रोकायाले नेपाल भारत सीमा विवाद समाधान नेपाली जनताको एकताबाट मात्र सम्भव हुने भएकाले प्रथमतः हामी आन्तरिक रुपमा बलियो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘नेपाल सरकारसंँग स्पष्ट विदेशनीति नभएकाले नै भारतले नेपालको सिमाना मिचेको’ बताउँदै भारतमा भने जुनसुकै पार्टीको सरकार आए पनि विदेश नीतिमा कुनै परिवर्तन नभएको स्मरण गर्नुभयो । सङ्घका उपाध्यक्ष डिके शेर्पाले नेपालका लिपुलेक तथा कालापानी विवाद सल्टाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सङ्घका सल्लाहकार कमलाकुमारी गुरुङ, जनजाति कलाकार हरि तामाङ, अरनिको टेलिभिजनका कार्यकारी अध्यक्ष वेदप्रसाद पौडेललगायतले नेपाल भारत सम्बन्ध तथा भारतको ‘हेपाहा’ विदेश नीतिबारे चर्चा गर्नुभएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्