काश्मिरमा कम्तीमा ४३ जनाको निधन

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार २०:०७


पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा ४३ जनाको निधन भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बे पत्ता पनि भएका छन् ।

पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरुको निधन तथा बे पत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अहिलेसम्म कम्तीमा दश जना बे पत्ता भएका विवरणहरु प्राप्त भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।

निधन भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिनुभएको छ ।

त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत बर्षासम्वन्धी विभिन्न घटनाहरु भएको पनि उहाँले बताउनु भयो । लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरु मध्ये तीन जनाको घटनास्थलमै निधन भएको थियो भने अरु घाइते भएका थिए ।

त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको निधन भएको छ । त्यहाँ घरमै हिमपहिरो खसेको थियो ।
पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्