७० करोड कमिसन मागेको भन्दै अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाले दिए यस्तो प्रतिकृया

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ११:५४


काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैया कमिसनको सेटिगं मिलाएको भन्दै उनको आवाजको अडियो सार्वजकि भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप अनलाइनहरूमा भाइरल भइरहँदा सञ्चारमन्त्री वाँस्कोटा भने कञ्चनपुरमा छन् । उनले यसवारेमा जानकार रहेको र काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्विस कम्पनीसँग सुरुमा कुरा भए पनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्विस कम्पनीका नेपाल एजेन्टले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका थिए । तर अन्य सञ्चार माध्यममा भने सो अडियो सार्वजनिक भएन । एउटा सञ्चार माध्यमले अडियो सार्वजनिक गर्दै सञ्चारमन्त्रीले कमिशन मागेको समाचार लेखेपछि अहिले सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको आलोचना भइरहेको छ । नेपाली कांग्रेसले तत्काल कारवाही गर्न सरकारसंग माग समेत गरेको छ ।

त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ। हाल कञ्चनपुर भ्रमणमा रहेका बाँस्कोटाले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा भने, ‘मेरो बारेमा चर्चा चलेको छ, काठमाडौं पुगेपछि यसबारे म आफ्नो विस्तृत कुरा राख्छु।’ त्यस अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको दाबी गरिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्