कागजमै सिमित नेपालको कानुन र जातिय विभेद

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १३:००


रुपनी जि.एम । म सानो छँदा हाम्री बज्यैले आफ्नै संगीलाई चुरोट खान दिएको त्यो दृष्य अझैं पनि सम्झन्छु म । उनले आफ्नै साथीलाई चुरोट खान दिनु प¥यो भने पहिला आफुले तान्नसम्म चुरोटको सर्को तानेर त्यसपछिको बचेको भाग साथीलाइ दिने गर्थिन् ।

जब बज्यैको साथी आँगनको एक छेउबाट उठेर जान्थिन् अनि मैले बज्यैलाई सोध्थें,‘बज्यै, किन तिम्ले आफ्नै साथीलाई सधैं आफुले खाएर बचेको चुरोटको भाग दिन्छौ ? त्यो पनि भुँईमा फालेर ?’ उनको जवाफ सरल हुन्थ्यो,‘उनी सानो जातकी हुन् त्यही भएर ।’ त्यसरी चुरोट खानु पर्दा न ती बज्यैले हाम्री बज्यैबाट यसरी फालेर दिएको चुरोट खाँदिन भनेर अस्वीकार गरिन् न हाम्री बज्यैले उनलाई भुँईमा फालेर चुरोटको ठुटा दिईरहँदा आफुलाई ग्लानी भएको महसुस नै गरिन् ।

कुरा ५१÷५२ सालतिरको हो हाम्रो गाउँमा एकजना राँईली बज्यै हुनुहुन्थ्यो । अहिले त उहाँ परलोक गएको पनि थुप्रै वर्ष भयो । उहाँ एक मात्र हुनुहुन्थ्यो जस्ले गाउँमा ठेकीमा मदानीले ध्वार ध्वार पारेर मही पार्नु हुन्थ्यो । २÷४ घर वर नै ती बज्यैले मही पार्दा चलाएको मदानीको आवाज सुनिन्थ्यो । आज राँईली बज्यैको घरमा मही पारिंदै छ भन्ने गाउँमा सबैलाई थाहा हुन्थ्यो । अनि मही रुचाउनेहरुको लस्करो हुन्थ्यो उनको आँगनमा ।

कतिले त १÷२ दिन अघि नै मही राखिदिन बज्यैलाई आग्रह गर्दथे । ती मध्य मेरी आमा पनि एक हुन् । मलाई अहिले पनि सम्झना छ । त्यो लस्करोमा ठुलाजात कहलिएकाहरु र कथित साना जात भन्नेहरुको छुट्टाछुट्टै लाईन लाग्ने गथ्र्यो । त्यसरी लाईन लाग्दापनि कथित सानो जात भनिएकाहरुले अन्तिममा मही लिएर जान्थे । उनीहरुलाई मही दिने भाँडा बेग्लै हुन्थ्यो । जुुन भाँडा नितान्त उनीहरुलाई मही दिनकैलागी मात्र प्रयोग गर्थिन् ती मही दिने राँईली बज्यैले ।

त्यसरी मही खान पाएकोमा हाम्रा गाउँका कथित साना जातका मानीसहरु नकै नै खुशी भएको म अझैं सम्झन्छु । उनीहरु खुशी हँुदै मही भरिएको भाँडा बोकेर ती बज्यैलाई धन्यबाद दिएर जान्थे । त्यतिबेला पनि त्यस्तो अपमानीत भएर मही खानु पर्दा न ती कथित साना जात भनिएकाहरुले मही खान छाडे । न त ती बज्यैले नै उनीहरुलाई दिने र ठुला जात भनिएकाहरुलाई दिने महीको भाँडा नै एकै बनाईन् । न त त्यो आँगनमा लगाईने लाईनलाई नै एकै भयो ।

खेत रोप्दा खेतालाहरुमा पनि त्यस्तै विभेद हुने गथ्र्यो । खेत उही, खेतका आली उही, खेतमा लगाईने पानी पनि उही । त्यति मात्रै हैन हलीले जोत्ने हल पनि उही, बाउसेले छुने फरुवा पनि उही अनि रोपार्नीहरुले काढ्ने बिऊ पनि उही । तर जब दिउँसोको खाजा खाने समय हुन्थ्यो तब ठुलाजात भनिनेहरु त्यही खेतको एउटा आलीमा लाईन लगाए लस्करै बस्थे भने कथित तल्ला जात भनिएकाहरु त्यही खेतको अलि परपट्टीको आलीमा लस्करै बसेर खाजा खाने गदर्थे ।

त्याहाँ पनि साना र ठुला भनिने जातको बीचमा मज्जैले विभेद देख्न सकिन्थ्यो । त्यस्तो हुँदा पनि न हाम्रा गाउँका कथित साना जात भनिनेहरुले हामी तपाँईहरुसंग काम गर्दैनौं भनेर सामूहिक बहिष्कार गर्न सके न त ठुला जात भनिएकाहरुले संगै बसेर ती कथित साना जातिसंग संगै खाजा खान नै खाए । यस प्रकारको मान्छेले मान्छेलाई नै गर्ने विभेद हाम्रो गाउँमा वर्षौंसम्म चलिरह्यो । र मलाई लाग्छ यो हाम्रो गाउँमा मात्र नभई सबैको गाउँघरमा चल्यो ।

तर छुवाछुतको यो विभेदकोे अन्त्यको शुरुवात भने हाम्रो गाउँमा मज्जैले भयो । अरुको गाउँमा भयो भएन थाहा भएन तर हाम्रो गाउँमा भने १० वर्षे जनआन्दोलनसंगै यस्को शुरुवात हुन पुग्यो । जनआन्दोलन चर्किएसंगै हाम्रो गाउँमा पनि जातिए विभेद विरुद्धको कुराहरु चर्किन थाल्यो ।

त्यसैको प्रभाव मान्नु पर्छ वर्षौंदेखि हाम्री बज्यैले फालेको चुरोटको ठुटा खाँदै आएकी बज्यैकी तीनै साथीले बज्यैसंग ठुटो चुरोट हैन सिंगै चुरोट मागेर खान थालिन् । अहिले राँईली बज्यै त छैनीन् । तर हिजोआज हाम्रो गाउँमा पानीसम्म पिउन दिनु प¥यो भने ती कथित साना जात भनिएकालाई मही दिंदा जस्तो भाँडा भने फरक हुँदैन । खेतमा काम आज पनि ठुला र साना जाति भनिनेहरुसंगै त गर्छन् तर आज खाजा खाने खेतको आली एउटै हुन्छ ।

परिवर्तित समयसंगै हाम्रो गाउँको जातिय छुवाछुतको अन्त्य पनि जरैबाट उम्किएको छ । हिजो आज उहीले उहीले हाम्रो गाउँमा हुने गरेको जातिय छुवाछुतको कथा सुन्नु प¥यो भने बुढापाकाहरु यसो भनेर सुनाउँछन्,‘अहिलेको जस्तो जमाना काहाँ थियो र ? त्यो जमानाको त कुरै अर्कै थियो । हामीसंग बोल्दा पनि पर उभिएर बोल्थे । घरमा केही काम लिएर आउँदा आँगनको एक छेउबाटै आफ्नो कामको कुरा सुनाउँथे । घरमा पुजा आजा अथवा भतेर केही हुँदा आफ्नै घरबाट थाल, बटुका र गीलास लिएर आउँथे । उनीहरु बसेको ठाउँमा गोबरले लिपिन्थ्यो । अब त सबै सरोबर भएको छ ।’

हिजो आज यस्ता कुरा सुन्दा एकादेशको कथा जस्तै लाग्छ मलाई । मेरो गाउँमा छुवाछुतको अन्त्य केवल घाँसदाउरा, धारापानी र भातभान्सामा मात्र भएको छैन । मेरो गाउँमा त कथित साना जातका छोराहरु ठुला जात भनिनेहरुकै ज्वाईचेला भएका छन् । त्यसैगरी कथित सानाजातकै छोरीचेली ठुला जात भनिनेहरुकै बुहारी भएका छन् । मेरो गाउँमा यो परिवर्तन भएको देख्दा निकै नै खुशी लाग्छ मलाई । तर मेरो गाउँ जस्तै छुवाछुट रहित गाउँ मैले आजसम्म कहीं पनि देख्न सकेको छैन । मेरै छिमेकी गाउँहरुमा पनि यो जातिय छुवाछुतको परिवर्तन हुन सकिरहेको छैन ।

हुनत वि.सं. २०२० सालमा नै तत्कालीन राजा महेन्द्रले मुलुकी ऐनमा छुवाछुत निषेध भनेर घोषणा गरेका थिए । तर त्यस कानूनको कार्यान्वयन हुन नसक्दा अहिले पनि हाम्रो समाजमा जातिय विभेद अनि छुवाछुत जिउँदो नै छ । जातियछुवाछुतको अन्त्य हुनै पर्छ भनेर सरकारले वि.सं. २०६३ जेष्ठ २९ गते जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा पनि ग¥यो । यसको पनि खासै प्रभाव पर्न सकेन । हाम्रो समाजमा, हाम्रो घरमा अनि हाम्रो मानसिकतामा अहिले पनि जातिय छुवाछुवतले उत्तिकै प्रखर रुपमा जरा गाडेकै छ । चेतना स्तरको बृद्धिसंगै विभेदको प्रकृयामा भने केही फरकपन छ । तर जातिय विभेद अझैं पनि छ ।

यसको ज्वलन्त उदाहरण हो, रोजगारीकालागी दुवईमा निधन भएका समर बहादुर सुनाको परिवार र आफन्तलाई पोख्रेली समाजले दलित भन्दै किरियापुत्री भवन(समाज घर)मा बस्न नदिएको वास्तविकता । मृतक समरका दाई मोहन बहादुरले समाज घरको साँचो माग्न त्याहाँका ठुला जात भनाउँदाहरु सबैसंग गुहार मागे तर पनि उनलाई साँचो उपलब्ध गराईएन । जब कि त्यो समाज घर त्याहीको समाजमा रहेका सबै माानिसहरुकालागी बनाईएको थियो । तर पछि थाहा भयो त्यो त ठुला जात भनिनेहरुकालागी मात्र पो बनाईएको रहेछ ।

जब मोहन बहादुरको कुरा सुनें तब थाहा पाएँ । त्याहाँ त्यो किरियापुत्री भवन बनाईदा त्याहाँका कथित साना जाति भनिनेहरुसंग पैसा उठाईएकै रहेनछ । किरियापुत्री भवन बनाईदा शुरुबाटै गरिएको सामाजिक बहिस्कार गरेकोमा उनीहरुलाई कस्तो सजाए दिने ? अनि कस्ले सजाए दिन ? कानूनको कुरा गर्ने हो भने त हाम्रो देशमा कानून त केवल कागजमा मात्रै सिमित छ । यदि लागू गरिन्छ भने त्यो केवल समाजले नै पछि पारिएका जात र वर्गहरुकालागी मात्र । हैन भने ठुला जात भनिनेहरुलाई त यस्ता कानूनले छुनै सनकेको घटना हामीले देख्दै आएका छौं ।

जातिय छुवाछुतको अन्त्य कानूनले हैन मान्छेहरुको मानसिकताले हुने हो । जब मानसिकतामा नै विभेदको जगले घर बनाईरहेको छ तब राष्ट्रलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेर पनि केही फरक पर्नेवाला छैन । न त मुलुकी ऐनमा नै लेखेर यस्को अन्त्य हुन्छ । मानसिकतामा परिवर्तन नभएकै कारणले हो हिजो मात्रै रुकुममा अर्को एउटा घटना घट्यो । ठुलो जात भनिएकी युवतिसंग प्रेम गरेकै आधारमा जाजरकोट राना गाउँका नवराज विकले आफ्नो ज्यान गुमाउनु प¥यो ।

के यही हो, जातिय छुवाछुत मुक्त राष्ट्र घोषणाको नतिजा ? के यही हो संविधानमा उल्लेख भए बमोजिमको जातिय छुवाछुवतको अन्त्य ? हाम्रो देशको संविधानको धारा १६६ मा जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने भन्दै (१) मा उल्लेख गरिएको छ,‘कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पत्तिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पधेरो प्रयोग गर्न बञ्चित गर्न वा अन्य कुनै नीजि वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट बञ्चित गर्न हुँदैन ।’

नेपालको संविधानमा यसरी प्रष्ट रुपमा इंगीत गरिएको कानूनको पनि भय नमानेर कानून भन्दा माथि गएर गरिने यस्ता सामाजिक कुरीतिलाई अन्त्य गर्नकालागी कस्तो कानून र सजायको व्यवस्था गरिनु पर्ने हो ? यो भने मैले बुझ्दै नबुझेको कुरा हो । सजायकै कुरा गर्ने हो भने पनि यसैको २ को उपदफा १ ‘बमोजिमको कसुर गर्ने र गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा तीन हजार रुपैंयासम्म जरीवाना वा दुवै सजाय हुनेछ ।’ भनेर भनिएको छ ।

कानूनमा उल्लेख भएका यी कुराहरुलाई कार्यान्वयन गराउनकालागी हाम्रो देशमा दलितहरुको हकहीतमा काम गर्ने भनेर थुप्रै संघसंस्था बनेका छन् । धेरै जसो महिलालाई पछाडि पारिएको हुन्छ भन्ने मान्यतामा दलित महिला संघ पनि स्थापना गरिएको छ । यति मात्र हैन वि.सं. २०५८ सालमै दलित आयोग पनि गठन गरिएको छ । भलै उक्त आयोग अहिले निष्कृय छ । तर जुन उद्येश्यले दलित आयोग र संघसंस्था स्थापना गरियो यो वास्तविक रुपमा समाजमा सफल हुन सकेन भन्ने कुराको उदाहरण यी र यस्ता घटना क्रमले बुझाउँछ ।

यसै विषयमा दलित महिला संघ (फेडो) का केन्द्रिय सचिव मञ्जु सुनार भन्छिन्,‘हामीले अधिकारका कुरा त ग¥यौं तर त्यसकोलागी जनचेतना केवल दलितलाई मात्रै दियौं । जब की दलित र गैरदलित दुवैलाई दिनु पर्ने थियो । हामीले विभिन्न शिर्षकमा अन्तरक्रिया त ग¥यौं तर त्यो गाउँ केन्द्रित नभई शहर केन्द्रित हुन पुग्यो ।’ मञ्जु भन्छिन्,‘राज्यले कानून त पर्याप्त बनायो तर कार्यान्वयन गर्नकालागी पहल कदम प्रभावकारी रुपले चाल्न सकेन ।’

२०२० सालदेखि नै मुलुकी ऐनमा छुवाछुत निषेध राष्ट्र भनेर नेपाललाई घोषित गरिएपनि अहिलेसम्म त्यो केवल कागजमै सिमित भएको छ भन्ने कुराको प्रमाण तत्काल घटेको जाजरकोट घटनालाई लिन सकिन्छ । यसै सन्दर्भमा ५ नं. प्रदेश दलित फाँटका सहईन्चार्ज पुजन विश्वकर्मा भन्छन्,‘कानुनले छुवाछुत बर्जीत गरेको भएपनि यस्ता खालका जघन्य अपराध अहिले पनि हाम्रो समाजमा घट्नु भनेको राज्यको शासन प्रणालीलाई कथित ठुला जात भनिनेहरुले सञ्चालन गरेको नतिजा हो ।’

सहईन्चार्ज विश्कर्माको भनाईमा जातिय दण्ड कसुर सजाय ऐन २०६३ लाई संसदले पारित गरिएको भएता पनि त्यसको कार्यान्वयनमा कसैको पनि ध्यान गएको छैन । यसै सन्दर्भमा उनी भन्छन्,‘यसमा राज्य त दोषी छ नै साथै दलितका हीतमा काम गर्ने अगुवाहरु पनि उत्तिकै जिम्मेवार छन् ।’

उनको भनाई अनुसार दलितका विषयमा आवाज उठाएर संगठनहरुमा आवद्ध हुने दलित समुदायकै अगुवाहरु पार्टीको भरौटे भएकाले पनि हाम्रो समाजमा जातिय छुवाछुतको अन्त्य हुन नसकेको हो । उनी भन्छन्,‘दलित अगुवाहरु केवल पदकालागी दलका गुलामी गर्ने, दलका झण्डा बोक्ने, नेता रिसाए भने मैले केही पनि पाउँदिन भन्ने मानसिकताको यो एउटा नतिजा पनि हो ।’

वास्तवमै भन्ने हो भने, जातिय विभेद र छुवाछुत जस्ता जघन्य अपराध एउटा धर्मले जन्माएको बिऊ हो । यस्लाई हिन्दु धर्मले श्रृजना गरेको कुसंस्कार हो भन्दा फरक पर्दैन । पुरातनबादी सोंच यसै हिन्दु धर्मको एउटा अशं हो । जस्ले, मान्छेले मान्छेलाई छुन नहुने भन्दै कामका आधारमा विभाजन गरिदियो ।

जस्को नतिजा आज मानव छुवाछुतका रुपमा व्यापक बन्न पुगेको छ । त्यसैले जातिय छुवाछुतले भरिएको मानसिकताको अन्त्य हुनै पर्छ । जसरी राज्यले संविधानमा कानूनी दफाहरु उल्लेख गरेको छ सोही बमोजिम राज्य र सम्बन्धित निकाय यो विषयमा जिम्मेवार बन्नुका साथै यस विषयमा आफ्नो भूमिका र जिम्मेवारी प्रभवकारी रुपमा निभाउन सक्यो भने मात्रै हाम्रो देशमा लामो समयदेखि चल्दै आएको जातिय विभेदको अन्त्य हुनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्