आज यी ठाउँमा थपिए १ बर्षदिनका बालक सहित ८८ जना नयाँ कोरोना संक्रमित

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १३:०५


बिहीबार विभिन्न जिल्लामा गरेर कोरोना भाइरसका नयाँ  ८९ संक्रमित थपिएका छन्  । कर्णाली प्रदेशमा ८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। कर्णालीको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएकामध्ये १ जना वर्षदिनका बालक, ६ पुरूष र १ महिला छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। पछिल्लो समय भारतबाट प्रदेशमा नागरिकहरू फर्किने क्रम ह्वात्तै बढेको छ। अहिलेसम्म संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट आएकाहरू छन्।

कर्णालीमा मंगलबार १२ र बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ९९१ पुगेको छ भने । बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै प्रदेश २ मा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ४०० पुगेको छ । प्रदेश २ मा बिहीबार ७४ जना कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ प्रशासकीय अधिकृत तथा सूचना अधिकारी विजय झाले जानकारी दिएका छन् ।

बिहीबार पुष्टि हुनेमा सबैभन्दा बढी धनुषामा २९ जना, महोतरीमा १७ जना, सप्तरीमा १२ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको झाले बताए । यसभन्दा पहिले बुधबारमात्र प्रदेश २ मा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै आजै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका स्याङ्जाको वालिङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू गत सोमबार गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले नयाँ संक्रमितमा दुई पुरुष र एक महिला रहेको जानकारी दिए । उनीहरूलाई स्याङ्जा सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ । संक्रमित सबै एकै परिवारभित्रका हुन् । स्याङ्जामा मंगलबार पनि दुई जनामा संक्रमण पुष्टि भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्