हिन्दु दर्शन तथा अति सामन्तबादी चिन्तन र प्रवृतिको उपज हो जातिय विभेदः अध्यक्ष रोका

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १३:२९


रुपनी जि.एम । नेपाललाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा संवैधानिक रुपमै गरी सकिएको छ । जातिय विभेद र छुवाछुत कसैले गर्छ भने त्यसलाई कानुनी सजायको व्यवस्था गरेको कुरा पनि नेपालको कानुनमा उल्लेख गरिएकै छ । तर यसको कार्यान्वयन पक्ष फितलो भएको कुरा समाजमा घटिरहने विभिन्न विभेद जन्य घटनाहरुको प्रमाण नै हो ।

जातिय विभेदको फोड्नै नसकिने पर्खाल हाम्रो समाजमा अझैंपनि छ भन्नकालागी पछिल्लो समय पश्चिम रुकुम र जाजरकोट जोडिएको घटनालाई लिन सकिन्छ । र अझैंपनि समाजमा ठुला जात भन्ने तक्मा पाएकाहरुले साना जात भनेर छुट्याईएकाहरुलाई कसरी विभेद गर्दा रहेछन् भन्ने कुराको यो जल्दोबल्दो उदाहरण पनि हो ।

यतिखेर हाम्रो देशमा अन्तरजातिय प्रेम गरेका नवराज र उनको बलिदानको कुराले निकै नै चर्चा पाईरहेको छ । यो विषयमा सम्बन्धित निकायका संघसंस्थाले त आफ्ना धारणाहरु सार्वजनिक गरिरहेकै छन् नै साथै संसदमा पनि यस्ले उक्तिकै स्थान पाएको छ । यो घटनाले स्थान पाउनुमा जनप्रतिनीधिकै योजनमा नवराज र उनका साथीहरुको हत्या भएको भन्ने कारण पनि एउटा हो ।

यो त तत्काल घटेको घटना भएर पनि हुन सक्छ स्थानिय स्तरदेखि राज्यका नीति नियम बनाउने तह र तप्कामा रहेका सबैले चर्को आवाज यतिबेला उठाई रहेका छन् । यस्ता घटना त हाम्रो देशमा दिनानुदिन कैयौं घटि नै रहेका हुन्छन् । फरक यत्ति मात्र हो कि घटनाको प्रकृतिले ती घटनाहरुले न्यायकालागी स्थान पाईरहेका हुँदैनन् ।

तिनै घटनाहरुलाई उजागर गरेर राज्यको ध्यानकर्षण गराउनकोलागी सबैले आ–आफ्ना भूमिका र जिम्मेवारी निभाउँदै आईरहेका पनि छन् । तिनै मध्यका एक सामाजिक अभियन्ता हुन् नविन रोका मगर पनि । उनले वर्षौदेखि राज्यबाट दलित, आदिबासी जनजाति लगाएतक उत्पिडिनमा पारिएका विभिन्न जाति, समूदाय तथा वर्गको समानता, सामाजिक न्याय र अधिकार प्राप्तिकालागी विगत २२ वर्षदेखि आफुलाई यस क्षेत्रमा खटाईरहेका छन् ।

राज्यको नजरमा वर्षौदेखि हेपिंदै आएको रोल्पा र त्यसको पनि मगरात बस्तिको थबाङ्ग गाउँबाट उदायका नविनमा जातिय विभेदको अन्त्य सदाकालागी हुनु पर्छ भन्ने सोंच उनको नाम जस्तै नविन छ । २२ वर्ष अघि जातिय विभेद विरुद्धको अभियान र आन्दोलनमा रोल्पाको थबाङ्ग गाउँपालिका वडा नं. ४ उवा गाउँबाट उनको यात्रा शुरु भएको थियो ।

विभिन्न आरोह अवरोह पार गरेर अहिले उनै नविन, मगर संघका केन्द्रिय अध्यक्ष, अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघको उपाध्यक्ष तथा प्रवक्ता बन्न सफल भएका छन् । यी संघ संस्थाहरुमा आवद्ध रहेर समाजमा जरा गाडेर बसेको जातिय विभेदको विरुद्ध आवाज उठाउँदै र राज्यका निकायहरुलाई खबरदारी गर्ने काम गरिरहेका छन् । उनै नविन रोका मगरसंग ताजाखबरले गरेको कुराकानीका केही अंश ।

आजको यो समयमा पनि हाम्रो समाजमा ठुला र साना जात भनेर गरिने जुन जातिय विभेद छ यस्लाई तपाँई केको उपज मान्नु हुन्छ ?

यो हिन्दु दर्शन तथा अति सामन्तबादी चिन्तन र प्रवृतिको उपज हो । आजको दिनसम्म नेपालको राज्य व्यवस्था र सामाजिक संरचना पुरानो खालको हिन्दु दर्शनको आधारमा चलिराख्दा नै जातिय विभेदका नाममा विभिन्न घटनाहरु घटि रहन्छन् र यस्ता समस्याहरु उतपन्न भईरहन्छन् ।

यस्ता छुवाछुतको नाममा उत्पन्न हुने समस्या नेपालको हिन्दु दर्शनले जन्माएको हो । नेपालमा जातपात र छुवाछुतको विकास यसै दर्शनले नै गरेको थियो । र त्यसै हिन्दु दर्शनबाट जन्मिएको चेतना अझैं पनि राज्य संचालन गर्ने स्थानमा भएको हुनाले र यो देशमा बाँचि रहेका मानव समुदायमा जीवित भएको हुनाले नै यस्ता घटनाहरु घटिरहेका हुन् ।

राज्यले छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकेको छ र पनि समाजमा जातिय छुवाछुतको पर्खाल जस्तो पहिला थियो अहिले पनि त्यस्तै नै छ । विभेदको पर्खाल अझै पनि ढल्न सकेको छैन । यस्मा कस्को दोष देख्नु हुन्छ ?
 व्यक्ति विशेष जनता भन्दा पनि राज्य व्यवस्था, सरकार र राज्यनीतिलाई नै दोष दिन्छु । किनभने राज्यले नै अहिलेसम्म मुलुकि ऐनहरुलाई अप्रत्यक्ष हिसाबले निरन्तरता दिईरहेको छ । जस्ले छुवाछुत र जातिय विभेदको नीतिलाई पच्छाईरहेको छ । त्यसकारणले यसको दोषी राज्य नै हो । नेपालको शासन चलाउने नेतृत्व नै हो ।

त्यसकारणले जस्ले यो देशलाई कमाण्ड गरिरहेका छन् उनीहरुकै चेतनामा परिर्वतन गर्न जरुरी छ । जातियताकै नामा गरिने विभिन्न खालका विभेदहरुलाई कानुनमै सजायको व्यवस्था गरिएको भएता पनि त्यो केवल कागजमा मात्रै सिमित भएको हुनाले भनाई र गराईमा एकरुपता नभएको हुनाले नै आजसम्म पनि यस्ता घटनाको समना नेपाली समाजले गरिरहनु परेको हो ।

उसो भए भनाईका कुरालाई गराईमा लागु गर्नकोलागी कस्ले के गर्नु पर्ने ? सबै जातिका मानिसहरुले नै आ–आफ्ना संगठनहरु खोलेर जनचेतना मुलक कार्यक्रम साथै विभिन्न माग सहितको आन्दोलन गरिरहेकै छन् त । खै परिवर्तन भएको ?

होईन होईन यस्तो छ । यो त तपाँईको कुनै समुदाय विशेषले निमार्ण गरेका संगठनहरुले एउटा जागरण ल्याईदिने मात्र हो । तर त्यसको नीति र विधिलाई व्यवहारमा लागु गर्ने भनेको त जस्ले यस देशको शासन व्यवस्था सम्हालेको छ । त्यो नेतृत्वले, त्यो नेताले, अथवा त्यो अगुवाले व्यवहारमा लागु गरिदिने हो । तर दुर्भाग्य के भैदियो भने चैं सिद्धान्तमा कुनै प्रकारको जातिय विभेद गर्नु हुँदैन ।

किनकी संविधानले त्यसो गर भनेर भनेको छैन भनेर हिंड्नेहरु नै आफ्नो घर छिरेपछि त्यो पर्खालहरु जीवित राख्छन् । त्यसकारण भनाई र गराईमा नमिलेको कुराको चुरो चैं यही नै हो । यिनै कारणहरुले नमिलेको कुरा सही तरिकाले नेतृत्वले मिलाउन नसक्नु पनि एउटा ठुलो विडम्बना पनि हो । यसमा नेतृत्वको संक्रिण सोंच र जातिबादि चिन्तनको कारणले नै यो समस्या जिउँका त्युँ भईरहेको हो ।

याहाँ कुरा दलितको मात्रै नभई आफ्नै जातमा पनि गोत्र नमिलेकै आधारमा पनि एकले अर्को जातलाई विभेद गर्ने गरिन्छ । यस किसिमको विभेद गर्नलाई राज्यले नै कानुनी मान्यता दिएको छ । यो त झनै ठुलो जातिय विभेद नै हैन र ? यस प्रकारको विभेदलाई चिर्नकोलागी कस्तो खालको नीतिको आवश्यकता छ ?

यस्मा म के भन्न चाहान्छु भने, नेपालमा जुन खालको उपल्लो र तल्लो जातिका भनेर यहाँ मान्छेले मान्छेलाई नै गरिने जुन प्रकारको गलत सोंच र गलत सामाजिक विकास गर्ने जुन चलन छ यो नितान्त देशलाई नेतृत्व गर्नेहरुकै पुरातनबादि व्यवहार हो । त्यसलाई म नेपालका विशेषगरी राजनीति नेताहरु, सामाजिक अभियन्ताहरु या कुनै व्यवसायिकहरु या यस देशका जिम्मेवार मान्छेहरुलाई के भन्न चाहान्छु भने आज आफ्नो जाति नै नभएका चाहे अमेरिकाका भन्नुुस्, चाहे युरोपका भन्नुस् त्याहाँका मानिसहरुले चन्द्रमामा बस्ति नै बसाली सके ।

जाहाँ तपाँइको नेपालका जातिबादी चिन्तनले ग्रसित मान्छेहरुले चन्द्रमामा अर्को स्वर्ग छ त्याहाँ मरेपछि गईन्छ भनेर विश्वास गराएर जुन भ्रम फैलाएका छन् त्यही चन्द्रमामा ती युरोपियन कन्ट्रिका मानिसहरुले बस्ति बसाली सके । त्यसैले नेपालमा म अब्बल जातको मानिस हुँ भन्दै छाती पिट्नेहरुले के बुझ्न जरुरी छ भने आज हाम्रो समाज र हाम्रो देश पछाडि पर्नुको कारण जातिबादीकै चिन्तनले हो भन्ने बुझ्नु पर्छ ।

तल्लो र उपल्लो जात भन्ने जुन एउटा चिन्तन छ, मानव मानवबीचमा यो कारणले नै हाम्रो समाज एकतामा रहन नसकेको रहेछ भन्ने बुझ्नु पर्छ । हाम्रो समाज युरोप अमेरिका जस्तो विकसित देशको गतिमा जान नसकेको कारण चै जातिबादी चिन्तनकै कारणले हो भनेर हामीले बुझ्न अत्यन्तै जरुरी छ ।

१० वर्षे जनआन्दोलनले देशमा धेरै परिवर्तन ल्याएको छ । जनआन्दोलनको पहिलो प्राथमिकता नै जातिय विभेदको अन्त्य थियो । तर पछिल्लो रुकुम पश्चिमको घटनाले त्यो आन्दोलनले बोकेको उद्येश्य सफल नभएको प्रष्टै देखायो । यो मामलामा जनआन्दोलन सफल या विफल के भन्नु हुन्छ ?

तपाँईले भने झैं सफल या विफल यो दुवै पहिलाको तुलनामा केही हदसम्म भएको मान्न सकिन्छ । किनकी देशमा ऐतिहाँसिक परिवर्तन ल्याउनकालागी मगरातको रुकुम रोल्पाबाट खुलेको १० वर्षे जनयुद्धको फायल त्यो ऐतिहाँसिक नै रहेको मान्न सकिन्छ । त्याहाँका दलित आदिबासी लगाएत उत्पिडित बाहुन, क्षेत्री या अन्य समुदायहरु किन बलिदानको बलिबिधिमा चढे भने, हामी माथि हरेक खालका विभेद छ र त्यसलाई पन्छ्याउनकालागी हामी लड्नै पर्छ र खाँचो परे मर्नै पर्छ भनेर त्यो योगदान दिएका थिए ।

सायद मलाई लाग्छ त्यो ऐतिहाँसिक जनक्रान्तिले ल्याएको नयाँ नेपालमा केही परिवर्तन त छ । तर हामीले सोचें जस्तो नयाँ नेपाल र समाज परिवर्तन भएको छैन भन्ने कुरा रुकुमको यो घटनाले पुष्टि गर्छ । यस्को मतलब के रहन गयो भने नेपालका आदिबासी लगाएतका उत्पिडित समुदाय, वर्ग र जातिले अहिलेसम्म उठाई रहेको मुद्या नेपालमा वर्गीय अन्तर विरोधको विषयमै सिमित छ ।र यो वर्गीय अन्तर विरोध हल भएपछि सबै समस्याको समाधान हुन्छ भन्दै गर्दाखेरी नेपालको वर्गीय अन्तर विरोधको मुख्य श्रोत के हो त भन्ने कुरा पनि जान्नु पर्छ ।

त्यसको श्रोत के हो भन्ने विषयमा प्रवेश गर्दाखेरी नेपालका राजनीतिक शक्ति र नेपालको पार्टीहरुले खुलेर बहस गरेका छैनन् भन्ने नै हो । ठीक ढङ्गले बहस नगर्दा र ठीक ढङ्गले यसको आधार श्रोत पत्ता नलगाउँदा आजको यो समयमा कथित साना जात भनिनेहरुमाथि विभेदपुर्ण प्रकारको प्रहार भईरहेको छ । त्यसकारणले नेपालमा सामाजिक र वर्गीय उत्पिडनलाई ठीक ढङ्गले व्याख्या विश्लेषण नगरेसम्म नेपालमा यस प्रकारको समस्याको समाधान हुँनै सक्दैन ।

पछिल्लो घटनालाई लिएर कतिपयले आ–आफ्नै तर्क राख्ने क्रममा शब्दबाट पनि छुवाछुतको मानसिकता श्रृजना हुन्छ भनेका छन् । त्यसैले दलित भन्ने शब्द नै हटाईनु पर्छ भन्दै माग राखिराखेको पनि देखियो । के यसप्रकारको तर्कले जातिय विभेदको अन्त्य हुन्छ होला त ?

खासगरी सरकार, राजनीतिक दल र सिभिल सोसाईटीहरुले सचेत सोचाईले दलित भन्ने अर्को एउटा मनोविज्ञानले थिचिरहेको छ भन्ने कुरामा एकमतका साथ जाने हो भने यो दलित भन्ने शब्द हटाउनै पर्छ । हिजो पुर्खेउली मानव विकासको अवस्थादेखि सीप कलाको कारोबार व्यवसाय गरेकै कारण हामीले सिल्पी समुदायको नामबाट सम्बोधन गरिन पर्छ भन्ने कुुरा पनि उठि रहेको छ ।

त्यसकारणले यदि साँच्चै सरकार, राजनीतिक दल र सिभिल सोसाईटीहरु सचेत हुने हो र उनीहरुले जिम्मेवारपुर्ण ढङ्गले काम गर्ने हो भने दलित शब्द नेपालको संविधानबाट हटाउनै पर्छ । त्यसमा कुनै दुई मत नै छैन । र रह्यो भने शब्दलाई हटाईयो भने जातिय विभेदको अन्त्य हुन्छ की हुँदैन भन्ने त्यसमा म के भन्छु भने शब्द मात्रै हटाएर हुँदैन । राज्यको नीति र विधिलाई व्यावहारमा लागु गर्नै पर्छ तर कम्तिमा दलित भनिएका मानवजातिप्रति हतोत्साहित हुने मनोवैज्ञानिक प्रवृति छ त्यसको अन्त्य भने पक्कै हुन्छ ।

जसरी भारतमा डक्टर अम्बेडकरले त्याहाँको संविधान कोर्दै गर्दाखेरी त्याहाँका दलितहरुलाई हरिजन भनेर नाम दिएका थिए । र त्याहाँको दलितहरुको पहिचानकालागी नाम नै फरक पारिदिएका थिए । त्यो शब्दले गर्दा खेरी आजको दिनसम्म भारतमा राष्ट्रपतिदेखि लिएर राज्यको मुख्य अंगमा त्याहाँका दलित भनिनेहरु आउन सफल भएका छन् ।

यसको अर्थ के हुन जान्छ भने मानव समाज शैक्षिक हिसाबले, आर्थिक हिसाबले, साँस्कृतिक र भाषिक हिसाबले जति सबल र सक्षम भएपनि उस्को सोंच्न सक्ने क्षमता नै संकिण रहन गयो भने त्यस्तो किसिमको मानसिकता कहिले पनि माथि उठ्न सक्दैन । त्यसो भएको हँुदा संविधानबाटै यो दलित भन्ने शब्द हटाईनु नै पर्छ भन्ने मलाई लाग्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्