बाग्लुङ्गका दुई संक्रमितको उपचार गर्दा १ करोड ५३ लाख भत्ता !

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार ११:२९


पोखरा । बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन्।

अस्पताल बसिरहेको १२ दिनपछि चैत २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले अंशुलाई फोन गरी हालचाल सोधे—डक्टर दिनमा कतिपटक आउनुहुन्छ तपाईंलाई हेर्न ? अंशुले भनिन्, ‘आउनु भएको छैन।’ मुख्यमन्त्रीले फेरि दोहोर्‍याए, ‘कोठामा आएको छैन ?’ अंशुले उत्तर दिइन्, ‘आउनु भएको छैन। फोनबाट कुरा हुन्छ।’ मुख्यमन्त्रीले नआत्तिकन बस्न, आफूसँग दिनदिनै डक्टरसँग कुराकानी भइरहेको र राम्रो उपचार गर्न भनेको बताए।

धौलागिरी अस्पतालमै अर्की कोरोना संक्रमित मनकुमारी पौडेल भर्ना भई ६ वैशाखमा घर फर्किएकी थिइन्। यिनै दुईजनाको उपचार गर्दाको प्रोत्साहन भत्ता भनी धौलागिरी अस्पतालले डेढ करोड रुपैयाँ भन्दा बढी दाबी पेस गरेको छ।

उक्त अस्पतालले १ करोड ५३ लाख रुपैयाँ माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ११ जेठमा पत्राचार गरेको छ। २ जनाकै उपचारको खर्च भनी त्यतिका धेरै रकम माग गरेको बारे बुधबार गण्डकी प्रदेश सभामा सांसद विनोद केसीले प्रश्न उठाए। उनले संसदमा भने, ‘दुईजनालाई निको बनाउन यत्रो खर्च आएको छ, भोलि हजारौं लाखौं संक्रमित हुँदा हामीले व्यवभार धान्न सक्छौं त ?’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्