कोरोना सक्रमणका कारण तीनको निधन

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १४:३३


कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको निधन भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट निधन हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक थिए । उनको यही जेठ १७ गते क्वारेन्टिनमै निधन भएको थियो ।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना सङ्क्रमणबाट निधन भएको थियो । उनलाई कोरोना सङ्क्रमण नभएको भनेर घर पठाएपछि घरमै निधन भएको थियो ।

कोरोनाको सङ्क्रमणकै कारण जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको निधन भएको पुष्टि गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले कोरोनाकै कारण उनको निधन भएको जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण निधन पछि २२ गते स्वाब सङ्कलन गरी जुम्ला प्रतिष्ठानमा पिसिआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा रावलले बताउनुभयो ।

सुर्खेतबाट यही जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरुमा क्वारेन्टिनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टिनमा राखिएको अवस्थामा जेठ २० गते निधन भएको थियो । कर्णालीमा निधन हुने तीनैजनाको निधन पछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्