काठमाण्डौ, भक्तपुर सहित यी जिल्लामा फेरी थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १६:४८


नेपालमा विगत २४ घण्टामा थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,२३५ पुगेको छ।

तीमध्ये ३६५जना निको भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा ३३४ जनामा र शुक्रवार २७८ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,१११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पीसीआर विधिबाट गरिएको परीक्षणको कुल सङ्ख्या ९२,४७७ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि१,६८,०३१भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सर्वाधिक र त्यसपछि क्रमश: प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा धेरै सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्