कोरोनाका कारण नेपालमा एक महिला र पुरुषको निधन, मृतकको संख्या १३ पुग्यो !

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १९:२८


कोभिड– १९ का कारणले आज थप दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले डोल्पा र कैलालीमा एक÷एक जनाको कोभिड– १९ का कारणले निधन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको कोभिड– १९ का कारण निधन भएको हो । महिलाको डायलासिस गर्दागर्दै यही जेठ २३ गते र पुरुषको जेठ २१ गते राति निधन भएको थियो ।

सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएकी महिलाको निधन भएको थियो । महिलाको सेती प्रादेशिक प्रयोगशाला र पुरुषको कर्णाली विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो ।

पुरुष सुर्खेतबाट जेठ १६ गते गएर जेठ १८ गते क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेका बेला उनको निधन भएको थियो । पुरुष दमका बिरामी रहेका थिए । कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट टोली गइरहेको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या १३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज थप ३२३ जनामा सङ्क्रमण भएको पृष्टि गर्नुभयो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८६ पुरुष र ३७ महिलामा सङ्क्रमण भएको पृष्टि गर्नुभयो । आज थपिएकासँगै कूल सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार तीन र महिला २३२ रहेका छन् । आज नयाँ भेटिएका सङ्क्रमित जाजरकोट र डोल्पाका पनि रहेका छन् । यसरी सङ्क्रमित जिल्ला ७० पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्