आफै कोरोनासंग जुधेको बेलायतले नेपाललाइ कोरोनासँग जुध्न थप डेढ अर्ब सहयोग गर्दै

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार ११:५२


बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड पाउण्ड पुर्याएको छ ।

हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ । नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २०५ वर्ष पुगेको छ । कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो । अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायत संस्थाले यहाँ रहेका गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताउनुहुन्छ ।

अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ । डिफिडले हालसम्म कोरोना रोकथामका लागि विश्वभर सहयोग गर्न अहिलेको सहयोगसहित ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ ।

बेलायतमा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको निधन भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको निधन भएको बेलायतले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा निधन भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्