मान्छे हुँ म पनि, डर लाग्छ नि, किन लाग्दैनः पत्रकार धमला

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार ११:०९


रुपनी जिएम –  कोभिड १९ को महामारीबाट जोगीनकालागी चैतको ११ गतेबाट लागेको लकडाउनले अहिलेसम्म निरन्तरता पाईरहेको छ । शुरुशुरुमा लकडाउनको नियमलाई निकै नै अनुशासित भएर पालना गरेका नेपाली जनताले पछिल्लो समय लकडाउनको नियम मान्नबाट अस्वीकार गरेका छन् । रोगले भन्दा पनि भोकले आफुहरु मर्न लागेको कारण बताउँदै यहाँका जनता, व्यापारी, किसान, मज्दुर आदि सबैजनाले लकडाउनको विरोध गर्दै लकडाउन मान्दैनौं भनेर सरकारलाई भनिरहेका छन् ।

लकडाउनकै कारण आम नेपाली जनतासंगै समाजलाई यसको विषयमा सु–सूचित गर्नकालागी अहोरात्र खटिएका राज्यका चौंथो अंग मानिएका पत्रकारहरुको पनि स्वास्थ्य उत्तिकै जोखिममा रहेको छ । कोरोनाको मात्र विषय नभई समाजमा घटिने जुनसुकै घटनाको विषयलाई उजागर गर्नकोलागी पत्रकारहरु यतिबेला लकडाउनकै समयामा पनि सामान्य दिनहरुमा जस्तै सक्रिय भएर काम गरिरहेका छन् । त्यसरी काम गर्ने मध्यका एक हुन् पत्रकार ऋषि धमला पनि ।

क्रृषी धमला नेपालका नाम चलेका पत्रकार मध्यका एक हुन् । यो लकडाउनको समयमा उनको सक्रियतामा कमी नआएको कुरा हामीले उनको काम गर्ने शैलीलाई हेरेर सजिलै आँकलन गर्न सक्छौं । यस्तो जोखिमपुर्ण अवस्थामा पनि उनले कारोनाको विषयमा समाजलाई सूचना सम्प्रेषण गराउनकोलागी विभिन्न व्यक्तित्वहरुसंग कुराकानी गरिरहेका छन् । उनै पत्रकार धमलासंग हामीले यस्तो जोखिमको बेलामा पनि तपाँईले विभिन्न व्यक्तिव्तहरुसंग अन्तरवार्ता लिईरहंदा कस्तो अनुभूति गर्नु भएको छ भन्ने जस्ता प्रश्नहरु गरेका छौं । यो अन्तरवार्ता लेखिंदासम्म नेपालमा लकडाउन लागेको ७८ औं दिन भएको छ ।

नेपालमा लकडाउन शुरु भएको दिन देखि नै तपाँई उत्तिकै सक्रिय भएर पत्रकारिता गरि रहनु भएको छ । प्रत्यक्ष रुपमा अथितिहरुसंग वार्ता गर्ने क्रममा तपाँईलाई कोरोना संक्रमित भईन्छ कि भन्ने विषयमा कत्तिको डर लाग्ने गर्छ ?

मान्छे हुँ म पनि । डर लाग्छ नि, किन लाग्दैन ? मान्छेको जीवनमा डर, त्रास, हुनु स्वाभाविक नै हो । मैले त झनै तपाँईले भने झैं प्रत्यक्ष रुपमा विभिन्न अथितिहरुसंग कुरा गर्नु पर्ने हुन्छ । कतिलाई स्टुडियोमै बोलाएरै गर्ने गर्छु भने कतिलाई उहाँहरुकै घरमा गएर अन्तरवार्ता लिने गरिरहेको छु । त्यसरी लिने क्रममा उहाँहरुसंग वा भनौं उहाँहरुको घरमा जाँदा भेटिने मान्छेहरुसंग लगभगलभग बोलिएकै हुन्छ ।

म सुरक्षित भएतपनि मैले निम्त्याउने अथितिहरुको स्वास्थ्य कस्तो छ ? उहाँहरु कस्तो वातावरणमा बसिरहनु भएको छ ? दिनमा उहाँहरुले क–कस्लाई भेटेर कुरा गर्ने गर्नु हुन्छ ? यी यस्ता शंकास्पद कुराहरु सोधेर, जानेर, बुझेर त अन्तरवार्तामा बोलाउने कुरा हुँदैन नि । यी थुप्रै विषयहरुमा म डराई रहेको हुन्छु । र यस अर्थमा मलाई डर लाग्छ । र डराउनु स्वाभाविक नै हो ।

तर डरलाई जित्नकोलागी आत्माविश्वास सबै भन्दा ठुलो कुरा हो । र म त्यही आत्माविश्वासका साथ अघि बढेर काम गरि रहेको हुन्छु । एक चोटी मर्ने त छंदै छ । तर डराएर कायर जस्तो भई मर्नु भन्दा साहासी भएर मर्नु पर्छ भन्ने मान्यता भएको हुनाले मैले आत्माविश्वासले डरलाई जित्दै सामाजिक दुरी कायम राखेर काम गरिरहेको छु ।

यो लकडाउनको परिवेशमा पत्रकारले आफ्नो दायित्व र जिम्मेवारीलाई पुरा गर्नु पर्ने काम एकातिर छ भने अर्कोतिर कोरोनाको महामारीको पनि उत्तिकै उच्च जोखिम छ । यस्तो परिस्थितिमा तपाँईले कसरी व्यवस्थापन गरेर काम गरिरहुन भएको छ ?

एउटा पत्रकार भएको नाताले मेरो काम भनेको यस्तो बेलामा जनतालाई सूचित गर्ने नै हो । अरुबेलामा त जस्ले पनि जसरी पनि सूचना दिन सक्छ नि त । तर यो बेला भनेको त जोकोहीले जनतालाई सूचना दिन नसकिरहेको अवस्था हो नि । अनि यस्तो बेलामा मैले राम्रोसंग बहस गरेर जनतालई सूचना दिन सकें भने त्यो नै मेरो धर्म हो । मेरो दायित्व र जिम्मेवारी पहिलाको तुलनामा अहिले झनै बढी छ । किनभने अहिलेको अवस्थामा देश संकटमा छ । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

यो विषयमा सरकारले चाल्ने कदमको बारेमा मैले जनतालाई अवेरनेस गर्ने गरेको छु । नेपालमा अहिले विशेषगरी २ वटा एजेण्डा छ । एउटा कोरोनाको रोकथाम र व्यवस्थापन कसरी गर्ने र अर्को लकडाउनले गर्दा अर्थतन्त्रमा परेको असर । यी विषयहरुमा जनतालाई सु–सूचित गर्ने मेरो दायित्व र जिम्मेवारी हो । यी यावत विषयमा वास्तविकता जनतालाई देखाईदिने मेरो काम भएको हुनाले मैले म आफु पनि सुरक्षित रहेर पत्रकारीता गरि रहेको छु । मेरो विचारमा अहिलेको अवस्थामा जस्ले राम्रो रिर्पोटिङ्ग गरेर जनातालाई सूचना दिन सक्छ त्यो नै राम्रो पत्रकार हो ।

पक्कै पनि यस्तो महामारीको बेलामा मैले मात्रै नभई सबैले आफ्नो राम्रो म्यानेजमेन्ट गर्न सक्नु पर्छ । र मैले पनि त्यही गरिरहेको छु । तपाँईले भनेको जस्तै हामी पत्रकारहरु यो देशको २४ घण्टे सिपाही जस्तै हो । यो देशको सुरक्षाकालागी दिन रात खटिने सुरक्षाकर्मी र हामीमा केही केही कुरामा फरक होला । तर भोक, प्यास, डर, चिन्ता केही नभनि खट्ने प्रकृया भने एउटै लाग्छ मलाई । यस्तो महामारीको बेला समाजलाई सचेत गराउनु पर्ने हाम्रो दायित्व हो । र म मेरो त्यही दायित्वलाई पुरा गर्नकोलागी भोक, प्यास, रात दिन केही नभनी खटिरहेकै हुन्छु ।

यसरी खट्ने क्रममा मैले बिहान घरबाट बाहिर निस्कने बेला लगाएको लुगा राती घर फर्किएपछि शुरुमै म बाथरुम पस्छु । र घर फर्कनेबेला मैले म आउँदै छु है मेरो फेर्ने लुगा बाथरुममा राखिदिनु भन्ने गरेको छु । त्यसरी म घर पुगरे बाथरुम पस्दा मलाई चाहिने सबै सामान त्याहाँ हुन्छ । र नुहाएर दिन भरी लगाएको लुगा मैले आफैं धोएर, त्यसपछि स्यानिटाईजरले हात सफा गरेर मात्र घर भित्र प्रवेश गर्ने गरेको छु । यो मेरो हिजो आजको दैनिकी नै हो ।

तपाँईले म सुरक्षित भएर काम गरिरहेको छु भनेर भनि रहँदा एकाध तपाँईको अन्रतवार्तामा बाहेक प्राय अन्तरवार्ताहरु बिना माक्स, बिना ग्लोब्स, र बसाईको दुरी पनि खासै टाढा नभएको देखिन्छ । यो कुरालाई मध्यनजर गर्ने हो भने तपाँईको कुरा गराई एकातिर र काम अर्कोतिर भएन र ?

तपाँईले भनेको कुरा एकदमै सही हो । झट्ट हेर्दा भनाई र गराईमा फरक त देखिएकै छ । तर मैले माक्स, ग्लोब्स लागएर अन्तरवार्ता लिन खोज्दा मलाई के महसुस भयो भने । जस्तो म कहाँ आउने गेष्टले माक्स र ग्लोब्स् नलाएरै अन्तरवार्ता दिईरहँदा उहाँहरुकै सामुन्ने बसेर मैले चैं लगाएर अन्तरवार्ता लिईरहँदा उहाँहरुलाई त्यो कुराले अप्ठ्यारो भएको महसुस गरें । यो एउटा कुरा भयो । अर्को, म स्वयमलाई पनि के महसुस हुन पुग्यो भने, माक्स र ग्लोब्स् लागएर अन्तरवार्ता लिईरहंदा मेरो हाउभाउ र प्रस्तुतिमै मलाई असहज भयो । त्यसैले हामीसंग सबै ईक्वमेन्ट हुँदा हुँदै पनि प्रयोग नगरिएको हो ।

यी सबै कुरा भन्दा महत्वपुर्ण कुरा के भने, म र मेरो टीमले निकै नै सावधानी अपनाएर काम गरिरहेका छौं र आजको दिनसम्म मसंगै मेरो टीमको स्वास्थ्य अवस्था पनि ठीकै छ । यसको अर्थ यो होईन कि क्रृषी धमलाले माक्स र ग्लोब्स प्रयोग गरेको छैन हामी किन गर्ने ? भन्ने पनि होईन । हाम्रो मिडिया हाउस सुरक्षित छ । जनता जान्न चाहान्छन् कार्यक्रमको स्टुडियो सुरक्षित भन्दैमा हाम्रो जस्तै देखासिखि अरुले पनि गर्नु हुँदैन भनेर म भन्न चाहान्छु । मैले जसरी सावधानी अपनाएको छु त्यसैगरी अरुले अपनाउन नसकिरहेको पनि हुन सक्छ ।

मलाई माक्स र ग्लोब्स नलगाएर कार्यक्रम चलाएको देखेर लगाएर चलाउनुस् भनेर सुझाव दिनेहरु पनि धेरै हुनु हुन्छ । मैले माक्स र ग्लोब नगाईकनै किन कार्यक्रम चलाएको त भन्ने कुराको स्पष्टिकरण पनि तपाँईसंगको यही कुराकानीबाटै दिन चाँहे । म सुरक्षित भएको हुनाले लगाउनु र नलगाउनुमा मैले खासै फरक पाईन । यो कुरालाई अन्यथा नलिदिन हुन म सबैलाई अनुरोध पनि गर्छु । र मैले लगाईन भन्दैमा अरुले पनि त्यसै गर्नु पर्छ भन्ने चैं कदाचित होईन ।

तपाँईले यसो भनिरहँदा तपाँईको निम्तोलाई स्वीकार गरेर आउने तपाँईका अथितिहरु सुरक्षित हुनु हुन्छ भन्ने कुराको के ग्यारेन्टी छ र ? अथितिबाटै पनि त तपाँई संक्रमित हुन सक्नु हुन्छ नि । यो विषयमा तपाँईले ध्यान दिनु भएको छ ?

पक्कै पनि मैले यो विषयमा ध्यान दिएकै छु । म कहाँ आउने धेरै व्यक्तिहरु, मान्छेहरु, नेताहरु, मन्त्री, त्यसैगरी पुर्वमन्त्री एवं प्रकारले जो जति आउनु हुन्छ उहाँहरु प्राय माक्स र ग्लोब्स नलगाएरै आउनु हुन्छ । अन्तरवार्ताको बसाईको दुरी पनि खासै फरक छैन । तपाँईले र आम जनाताले सोंच्ने यो विषय निकै नै जायज विषय हो । र मैले पनि यो विषयलाई नजरअन्दाज भने पक्कै गरेको छैन । मैले सावधानीका सबै कुरामा ध्यान दिनै पर्छ ।

सामाजिक दुरीको कुरामा पनि उत्तिकै मध्यनजर राखेर काम गर्नै पर्छ । सबै कुराको नियमलाई मैले पनि पालना गर्नै पर्छ । काम गर्ने क्रममा कमीकम्जोरी जस्को पनि हुन्छ । मबाट पनि भएका होलान् । र मबाट भएका कमी कम्जोरीलाई सुधारेर जाने पक्षमा म छु । र आगामी दिनमा चाँडै नै म सावधानी अपनाउने कुरामा मेरो काम गर्ने कार्यशैली र यसको मोडालिटीमा सुधार गरेर जाने पक्षमा छु ।

लकडाउन लाग्नु पुर्व र लागिसकेपछिको तपाँईको व्यस्ततामा केही फरक भएको छ ?

अवश्य पनि धेरै नै फरक छ । किनभने पहिला दिन सामान्य हुँदा म जनता जान्न चाहान्छन् कार्यक्रम १ घण्टा चलाउँथें भनें, अहिले यो लकडाउनको समयमा ३ घण्टा चलाउँछु । रेडियो र जनता जान्न चाहान्छन् गरेर अहिले दिनमा ५ घण्टा जति बहस चलाउँछु । पहिला मैले रेडियोमा १ घण्टा नेपाली बहस चलाउँथें । तर अहिले रेडियोमै १ देखि २ घण्टा बहस चलाउँछु । अनि रेडियो र टेलिभिजनर गरी मेरो व्यस्तता ५ घण्टाको भएको छ ।

यो संगसंगै कोरोनाको मात्रै विषयमा बहस हुँदैन । समाजमा घट्ने सबै प्रकारका विषयमा बहस गर्नु पर्ने हुन्छ । त्यसो भएकोले अन्य विषयबस्तु र कोरोनाको विषयवस्तुमा बहस गरेर जनतालाई सूचना दिनु पर्दा हिजो आज मेरो समय र व्यस्तता पहिलाको तुलनामा धेरै नै छ । घरमा बसेका आम नेपाली जनतालाई सडकको मात्रै वस्तुस्थिति देखाएर त समाचार राम्रो हुँदैन । त्यसकोलागी त मैले सम्बन्धित निकायसंग पनि कुराकानी गर्नै पर्ने हुन्छ । त्यसकोलागी मैले डबल अभ्यास गर्नु परिरहेको छ ।

अब अहिले त कोरोनाको मात्रै भन्दापनि राष्ट्रियताको विषय, त्यसैगरी पश्चिम रुकुम र जाजरकोट घटना, सिमा बिबाद, त्यसैगरी एमसिसिको कुरा आएको छ, दलितको मुद्या पनि छ । विभिन्न दलका विचारहरुलाई पनि जनतासामू पस्कनु पर्ने हुन्छ । यी यावत विषयवस्तुले नै मलाई घण्टौं बहस गर्न बाध्य बनाएको छ । यीनै कारणहरुले गर्दा पत्रकारीतामा पहिलाको तुलनामा हिजो आज मेरो भुमिका निकै व्यस्तत छ ।

यस्तो महामारीको बेलामा फिल्डमै खटिने पत्रकारहरुलाई सरकारले न पिपिई दिएको छ,न आरसिटी चेक गरेको छ, पिसिईको त झन कुरै नगरौं । उनीहरुसंग अन्य कुनै सुरक्षाको समाग्री पनि छैन । नत उनीहरुले सामाजिक दुरी नै कायम गरेर पत्रकारिता गरि रहेका छन् । यो विषयमा तपाँई के भन्नु हुन्छ ?

यो निकै नै गम्भिर प्रश्न हो । पछिल्लो समयमा विशेषगरी युटुवमा काम गर्ने पत्रकाहरुले आफ्नो ज्यान नै जोखिममा राखेर पत्रकारिता गरिरहेका छन् । त्यसरी आफ्नो ज्यान नै दाउमा राखेर पत्रकारीता गरिरहेका पत्रकारहरुकै कारण आज समाजमा कोरोना मात्र नभएर अन्य विषयहरुमा पनि नेपाली जनताले सजिलै सूचना पाउन सकेका छन् । तर दुःखको कुरा त्यसरी फिल्डमै पुगेर वास्तविकतालाई उजागर गरेर समाजमा सूचना सम्प्रेषण गर्ने पत्रकारहरुको स्वास्थ्यलाई नै राज्यले ध्यान दिएको छैन ।

तपाँईले भने जस्तै युटुवमा लगाएत अन्य मिडियाहरुमा काम गर्ने पत्रकारहरुको जीवन फिल्डमा गएर खटिने भएको हुनाले झनै जोखिममा छ । किनभने उहाँहरु फिल्डमा गएर काम गर्नु पर्दा त्याहाँ प्रत्यक्ष रुपमा जनतासंग कुराकानी गर्नु पर्ने हुन्छ । त्यो जनताको सरोकाराको विषय हुने हुनाले जनतालाई भेटेरै उहाँहरुको आवाजलाई प्रसारण गर्नु पर्ने हुन्छ । त्यसले गर्दा त्यस्ता पत्रकारहरुको जीवन अझ बढी जोखिममा छ ।

अहिले नेपालको प्रदेश नं. २ प्रदेश नं. ५ प्रदेश नं. ७ लगाएतका अन्य प्रदेशहरुमा पनि बिस्तारै संक्रमण फैलिंदै गएको अवस्थामा पत्रकारहरु प्रत्यक्ष रुपमा ती ठाउँहरुमा खटिएर जनबोलीलाई समेट्नै पर्ने हुन्छ । जस्ले गर्दा उहाँहरुको स्वास्थ्य निकै नै जोखिममा भएको म देख्छु । त्यसैले यो विषयमा राज्यको ध्यान जान निकै नै जरुरी देख्दछु म । राज्यले यसरी काम गर्ने पत्रकारहरुलाई उहाँहरुको जीवन रक्षाकोलागी पिपिई, उहाँहरुको चेकजाँच लगाएत अन्य कुरामा विशेष ध्यान दिन आजको आवश्यकता हो । र त्यसरी फिल्डमै खटेर काम गर्ने पत्रकारहरुले पनि सामाजिक दुरी कायम गरेर पत्रकारीता गर्नु पर्छ भन्ने मेरो सुझाव छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्