सांसद गिरीले राष्ट्रियतामा अपराध गरिन् त्यसैले मुद्या दर्ता गर्दैछुः प्रसाँई

प्रकाशित मिति : १ असार २०७७, सोमबार १२:३४


रुपनि जि.एम – ताप्लेजुङ्गमा जन्मिएर झापामा बसाई सर्दै पढाईको शिलशिलामा धरानसम्म आई पुगेका रमेश प्रसाँई । जस्ले पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा विभिन्न विषयहरुमा आफ्ना विचारहरुलाई अभिव्यक्त गर्दै आई रहेका छन् । सानैबाट तिक्षण बुद्धि भएका रमेशको बौदिकताको लेबल उमेरसंगै उत्तिकै तिक्षण हुँदै गईरहेको छ भन्ने कुरा उनको विचारको अभिव्यक्ति र प्रस्तुतिमा छर्लङ्गै देख्न र सुन्न पाईन्छ ।

उमेरले २६ वर्षमा हिंडदै गरेका रमेशले आफुलाई मन परेको विषयमा खुलेरै समर्थन गर्ने गर्दछन् भने मन नपरेको विषयमा खरो रुपले प्रस्तुत हुन पनि पछि पदैनन् । ती विषयहरु राजनीतिक हुन सक्छन्, सामाजिक हुन सक्छन्, आर्थिक कारोबारमा भ्रष्टाचारका पनि हुन सक्छन्, साथै व्यक्ति विशेषका पनि हुन सक्छन् । यी थुप्रै विषयमा चित्त बुझ्दा वा नबुझ्दा उनले आफ्ना विचारहरुलाई नेपाली समाजमा पस्किएको हामीले देखेका छौं र सुनेका पनि छौं ।

उनले जब जब राजनीतिक विषयमा कुनै पनि दलको या नेताको विचार मन परेको खण्डामा समर्थन गर्दै आफ्ना अभिव्यक्तिहरु दिन्छन् त्यतिबेला उनलाई त्यही दलको कार्यकर्ता भन्ने आरोप पनि लाग्ने गरेको छ । यस्तै आरोप मध्ये पछिल्लो समय उनलाई प्रधानमन्त्रीले राष्ट्रालागी लिएको स्ट््याण्डप्रति खुलेर समर्थन गर्दा नेकपाको कार्यकर्ता भन्ने आरोप पनि लाग्यो । चित्त बुझेको कुरामा समर्थन गरेकै आधारमा आफुलाई नेकपाको कार्यकर्ता भनेर हल्ला फैलाउनेहरुलाई पनि आफु नेकपाको कार्यकर्ता नभएको बताउँदै निकै कडा प्रतिकृया दिंदै उनले त्यसको पनि प्रतिबाद गरे ।

घटना क्रम अनुसार आफ्ना विचारहरुलाई सत्य र तथ्यका आधारमा बयान गर्न सक्ने बिलक्षण प्रतिभाका उनै रमेश प्रसाँईसंग ताजाखबरले संविधान शंसोधन मार्फत निशान छापमा परिवर्तन र भारतद्धारा अतिक्रमित भूमि फिर्ता लगाएत समसामयिक राजनीतिक विषयहरुमा गरिएको कुराकानीको केही अंश ।

दलगत स्वार्थबाट माथि उठेर सबै दलहरुले नेपालको संविधान संशोधनमा सहमति जनाउँदै निशान छापलाई अनुमोदन गरेका छन् । नेपालको यो ऐतिहाँसिक दिनको बारेमा तपाँईको धारणा के छ ?

यो नेपालको ईतिहाँसमा स्वर्ण अक्षरले लेखिनु पर्ने दिन हो । र लेखिने छ । १९५० को विदास्पद सन्धि गरेर प्रजातन्त्र आएदेखि शिर झुकाउन बाध्य भएको मेरो देशले यसपाली पहिलो पल्ट झुकेको शिर उठाएको छ । हाम्रो ऐतिहाँसिक तथ्यको आधारमा नितान्त हाम्रो भूमिमाथि हामीले दाबी प्रस्तुत गरेका छौं । दाबीमा आफ्नो दलगत स्वार्थ भन्दा माथि उठेर सम्पुर्ण राजनीतिक दलहरुले समर्थन गरेका छन् । त्यसैले यो एउटा अभुतपुर्व राष्ट्रिय एकता हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेट्दै नेपालको नयाँ नक्सा बनाईनु र हिजो नै सर्वसम्मतले संवैधानिक रुपमा निशान छापलाई अनुमोदन गरिनुले अब भारतद्धारा अतिक्रमित ती भूमि फिर्ता हुनेमा तपाँई कत्तिको विश्वस्त हुनु हुन्छ ?

भूमि फिर्ता हुने कुरामा त म सतप्रतिशत विश्वस्त छु । भूमि फिर्ता गर्नै पर्छ । किनभने भूमि नितान्त हाम्रो हो । उनीहरुले कुनै कालखण्डमा कुनै राजामहाराजहरुसंग अनुमति लिएर अथवा नलिएर त्यो भूमिमाथि अतिक्रमण गरेका हुन् । फिर्ता त उनीहरुले गर्नै पर्छ । तर यो नक्सा जारी हुँदैमा भूमि फिर्ता भैहाल्छ भन्ने होईन । के हो भने यो निशान छाप नसच्याएको भए र संविधान संशोधन नगरेको भए र नक्सा जारी नगरेको भए हाम्रो भूमि हो भनेर कानूनी रुपमा दाबी गर्ने आधार हुने थिएन । यस्ले आधार स्पष्ट पारेको छ । जुन सुकै गन्तव्यमा पुग्नकोलागी पहिलो पाईला चालनै पर्ने हुन्छ । र नेपाल सरकारले भूमि फिर्ताकोलागी पहिलो पाईला चालेको छ र त्यो पहिलो पाईला असाध्यै दरिलो रुपमा चालेको छ ।

यो विषयमा केहीले कुटनीतिक वार्तामा जानु पर्छ नेपाल सरकारल भनेका छन् भने केहीले अन्तराष्ट्रिय अदालतको माध्यमबाट जानु पर्छ भनेका छन् । तपाँईलाई कुन माध्यमबाट जाँदा उचित हुन्छ जस्तो लाग्छ ?

अन्तराष्ट्रिय अदालत अन्तिम बिकल्प हो । अहिले नै अन्तराष्ट्रिय अदालत गईहालौं, मुद्या दायर गरिहालौं भन्ने कुरा त्यत्ति युक्तिसंगत होईन । भारत र नेपालको बीचमा सांस्कृतिक, प्राकृतिक, धार्मिक लगाएत अनेक किसिमका सम्बन्धहरु छन् । तर सम्बन्धहरु छन् भन्दैमा हाम्रो भूमि अतिक्रमण गर्नेसंग शिर झुकाउने, सम्झौता गर्ने भन्ने त होईन । आफ्नो सार्वभौमिकता सुरक्षित गर्नै पर्छ । तर पहिलो पहल चैं कुटनीतिक नै हो । हामीले कुटनीटिकोलागी हर सम्भव प्रयास गर्नै पर्छ । वार्ता गर्नै पर्छ । वार्ता गर्दाखेरी यदि नजर अन्दाज गरेर वेवास्त ग¥यो भने अन्तिम विकल्प अन्तराष्ट्रिय अदालत नै हो ।

हिजो संसदमा निशान छापको पक्षमा सहमति जनाउँदै सांसद रोजेन्द्र महतोले मधेशी जनताहरुले कतिपटक अग्नि परिक्षा दिनु पर्ने हो ? भन्दै जुन भावनमा आफ्ना विचार राखेका थिए । उनको विचारप्रति तपाँईको भनाई के छ ?

पहिलो कुरा त म मधेश भन्ने शब्दसंग सहमत नै छैन । हुनत यस्लाई नेपालको संविधानमै लेखिसकेको छ । तै पनि ऐतिहासिक रुपमा हेर्ने हो भने नेपालमा कुनै मधेश वा भुगोल थिएन । मिथिला राज्य थियो । त्यो प्रचिन विधय गण राज्य हो । मधेश भनेको चै भारतको मध्यदेशलाई जनाउने शब्द हो । तर त्यतिबेलाका शिक्षामा अलिकति पछि परेका समाजले त्यो क्षेत्रलाई इंगित गर्न प्रयोग गरेको शब्द हो त्यो आधारिक शब्द पनि होईन । आफुलाई मधेशी भन्ने दलहरुका मागमा उनीहरुका एजेण्डाहरुमा मेरा केही आपत्तिहरु छन् । तर हिजो जसरी राजेन्द्र महतोले प्रस्तुत गरेको त्यो वक्तब्य अभुतपुर्व हो । र म पनि हाम्रो देशमा जुन एकप्रकारको नस्लीए चिन्तन छ । यो चिन्तनको विरोधी नै हो । राष्ट्रियता भनेको सबै भाषा, धर्म, संस्कृतिको संयोजन हो । र त्यही संयोजन हिजो नेपालको संसदमा देखियो । जुन अत्यन्तै सुखद कुरा हो ।

कतिपयले त राजेन्द्र महतो र उपेन्द्र यादवको त्यही अभिव्यक्तिलाई उनीहरुको अन्य संशोधित मागहरु पुरा गराउनकालागी राष्ट्रिय एकतामा समर्थन गरेका हुन् भन्दै हात्तिको देखाउने र लुकाउने दाँतको संज्ञा दिंदै शंकाको दृष्टिकोणले पनि हेरिरहेका छन् नि । यो विषयमा तपाँईको धारणा के छ ?

म यो ऐतिहाँसिक क्षणमा कसैलाई शंकाको दृष्टिले हेरेर धारे हात लगाउन चाहान्न । तर उपेन्द्र यादव र राजेन्द्र महतोले मात्रै तराईको रेखदेखकालागी ठेका लिएका छैनन् । कुनैपनि तराई बासीले नेपालको सिमाना एक ईन्च मिचियोस् भन्ने चाहादैनन् । किनभने हामीलाई भन्दा बढी सिमानाको चिन्ता, सिमानाको पिर, हामीलाई भन्दा तराईबासीलाई नै छ उनीहरुले भारतीय सिमा सुरक्षा बलको अत्याचार खपेका छन्, उनीहरुको जग्गामाथि नै भारतीयले खम्बा गाडिदिंदा त्यो खम्बा उखेलेका छन् । उनीहरु मारिएका पनि छन् । तर त्यति हुँदाहुँदै पनि आफ्नो राष्ट्रियता संगालेर सिमानामा बसेका छन् ।

सुस्ताबासीसंग कतिपयसंग त नागरिकता पनि छैन । तर पनि उनीहरु सुस्ता नेपालकै हो भन्दै सुस्तालाई स्याहारेर बसिरहेका छन् उनीहरुले । त्यसकारणले तराईको प्रतिनीधित्व उपेन्द्र यादव र राजेन्द्र महतोले मात्र गर्ने होईन । एक पल्ट चुनाव जिते भन्दैमा त्यस्तो अर्थ लगाउने होईन । जाहाँसम्म उनीहरुका संशोधनका मागहरु पारित गराउनकालागी हिजोको राष्ट्रिय एजेन्डामा सहमति जनाए भन्ने कुरा छ उनीहरुका ती संशोधनका मागहरु चैं राष्ट्रियताकालागी एकदमै औचित्यहीन खालका पनि छन् । तर त्यो विषयमा हामीले बहस ग¥यौं भने फेरी अर्को कार्यक्रम बन्न जान्छ ।

तपाँईले सांसद सरिता गिरीको नममा मुद्या हाल्ने कुरा गर्नु भएको छ । किन होला ?

कुरा मात्र गरेको होइन । अभियोग पत्र पनि तयार भईसकेको छ । किन मुद्या दर्ता गर्न लागेको हो भने, उनको अभिव्यक्ति अराष्ट्रिय किसिमको छ । उनले एउटा सांसद जस्तो जिम्मेवार पदमा रहेर पदको मर्यादा विपरित र देशको नीति विपरित । एकातिर देशले आफ्नो भूमि माथि दाबि गरिरहेको बेला कुटनीतिक पहल अगाडी बढाई रहेको बेला उहाँले कुटनीति, राजनीति र राष्ट्रियताको भावना विपरित किसिमको वक्तव्य सार्वजनिक रुपमा दिनु भएको छ । यो अत्यन्तै निन्दनिय छ । तर निन्दा गरेर मात्रै पुग्दैन । एउटा नजिर बसाल्नकोलागी यस्तो वक्तव्य दिनेलाई दण्ड दिनै पर्छ भन्ने एउटा नजिर बसाल्नकोलागी र अर्को यस्तो विखण्डनबादी टिप्पणी गर्नकोलागी अर्को सरिता गिरी नजन्मियोस् भन्नकोलागी मैले यो गर्न लागेको हो ।

तर उहाँलाई त उहाँकै पार्टीेले कारवाही गरिसक्यो नि । पार्टीले नै कारवाही गरिसक्दाको अवस्थामा तपाँईले चालेको यो कदमको कुनै औचित्य रहन्छ र ?

उहाँको पार्टीले उहाँलाई कारवाही गरेको कुराले मात्रै पुर्ति हुँदैन । किनभने उहाँको पार्टीले गरेको कारावाही आफ्नो ठाउँमा होला । तर पार्टीले कार्वाही गरेर मात्रै यति ठुलो अपराधबाट कसैले उन्मुक्ति पाउँदैन । यो एउटा राष्ट्रियताको विषयमा गरिएको सबै भन्दा ठुलो अपराध हो । यस्तो अपराधिलाई कानूनी रुपबाटै सजाए हुनु पर्छकठघरामा पु¥याउनै पर्छ भन्ने मेरो माग हो । र त्यसकोलागी कानूनको कठघरासम्म पु¥याउन मैले उहाँलाई कानूनत कारवाहीकोलागी मुद्या दर्ता गर्दैछु ।

सांसद गिरीले दिएका अभिव्यक्तिहरु राष्ट्रघाति छन् भनेर उनलाई कारवाही गर्ने नगर्ने भन्ने विषयमा त नेपालका सांसदहरुले पनि आवाज उठाई रहेका छन् । नेपालको कानूनले पनि केही गर्ला । तपाँई नै किन अग्रसर हुनु पर्ने ?

मैले एउटा नागरिकको स्तरबाट मेरो र मेरो शुभचिन्तकहरुको भावनामा सरिता गिरीको वक्तव्यले जुन प्रकारको चोट पु¥याएको छ । त्यसको पुर्ति गर्नकोलागी नागरिकको तहबाट मैले एउटा प्रयत्न गरेको हो । उहाँलाई कारवाही गराउने कि नगराउने भन्ने विषय संसदले आफ्नो काम गर्दै रहला । त्यो संसदको विषय हो । तर नागरिकको स्तरबाट कसैको निन्दा मात्रै गर्नु भन्दा एक कदम अगाडी बढेर मैले उहाँको अराष्ट्रिय चरित्रसंग कानूनी संघर्ष गर्न चाहेको हो ।

तपाँई एकातिर आफ्नो आर्थिक अवस्था त्यत्ति बलियो छैन भन्नु हुन्छ । अर्कोतिर आम नागरिक भएर सांसदको नाममा मुद्या दर्ता गर्दै हुनुहुन्छ । तपाँईको पक्षमा फैसला हुने सम्भावना कत्तिको देख्नु हुन्छ ?

ती सांसद कुनै अन्तरिक्षबाट खसेकी होईनन् । म जस्तै नै मान्छे हुन् । उनको पदिय मर्यादा मात्र अलि विशिष्ट हो । अन्यथा म जस्तै नागरिक हुन् । जाहाँसम्म आर्थिक अवस्थाको प्रश्न छ । मेरो कानूनी सल्लाकार डा. सुरेन्द्र भण्डारीले मेरो तर्फबाट निशुल्क रुपमा यो मुद्या लड्ने बचन दिनु भएको छ । र बाँकी मेरो खर्च त्यो म व्यवस्थापन गर्न सक्छु । मैले आजसम्म कहिले पनि कसैको अगाडी आफ्नो आवश्यकता पुरा गर्नकोलागी अरुको अगाडी हात फैलाएको छैन । जाहाँसम्म मेरो पक्षमा फैसला हुन्छ कि हुँदैन भन्ने कुरा छ ।

एकजना एउटा महान क्रान्तिकारीले भनेका छन्, कि युद्ध एउटा यस्तो बाटो हो जुन बाटोबाट कहाँ पुगिन्छ भन्ने कुरा त्यो बाटोमा हिंड्नेहरुलाई थाहा हुँदैन । तर जिते भनें त एउटा नजिर बस्छ । सरिता गिरीलाई दण्डीत गर्छ न्यायपालिकाले । यदि मैले मुद्या हारे भनेपनि एउटा नजिर बस्छ कि यो देश विरुद्ध टिप्पणी गर्ने त्यस्ता अराष्ट्रिय तत्वहरुलाई यो देशका नागरिकहरुले क्षमा गर्दैनन् भन्ने कुराको एउटा नजिर बस्छ । र मलाई आत्मा सन्तुष्टि प्राप्त हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तपाँईले खुलेरै समर्थन गरेसंगै तपाँईलाई पछिल्लो समय नेकपाको कार्यकर्ता भन्ने एउटा ट्याग पनि लागेको छ नि । के तपाँई नेकपाकै कार्यकर्ता हो त ?

होईन । मैले राष्ट्रियताको विषयमा र प्रसंग विशेषमा सरकारको समर्थन गरेको हो । सन्दर्भ विशेषमा सरकारको समर्थन गरेको हो । किनभने नेपालको ईतिहाँसमा प्रजातन्त्र आएदेखि आजसम्म पहिलो प्रधानमन्त्री केपी शर्मा ओली हुनु हुन्छ । जस्ले भारतको बिस्तारबाद बिरुद्ध, अतिक्रमण विरुद्ध संसदमा उभिएर बोल्ने साहस गर्नु भयो । उहाँको त्यही साहासलाई मैले समर्थन गरेको हो । सरकारका अरु काम कारर्वाहीका सन्दर्भमा मैले प्रशस्तै सरकारको आलोचना गरेको छु । र त्यो स्वस्थ आलोचनाको क्रम जारी रहने छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्