राहत लिन जाँदा पार्टीको परिचय पत्र मागियो

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १०:३४


रुपनि जि.एम । कोभिड १९ को महामारीले गर्दा देश यतिबेला लकडाउनमा छ । चैत्र ११ गतेबाट शुरु भएको लकडाउन आजसम्म पनि जारी नै छ । लकडाउन लागेदेखी दैनिक ज्याला मज्दुर गर्नेहरु, विद्यार्थीहरु गर्भवती महिला तथा बालबालिका साथै जेष्ठ नागरिकहरु लगाएत वर्षा शुरु भएसंगै खेतमा काम गर्ने किसानहरु सबैमा यस्को प्रत्यक्ष प्रभाव पारेको छ । यस्तै प्रभाप पर्ने मध्य अनाथ बालबालिहरु पनि एक हुन् ।

अभिभाव हुनेले त जेनतेन जोहो गरी आफ्नो बच्चाहरुलाई दुई छाक भएपनि खुवाएकै छन् । तर विभिन्न कारणबस अभिभावक गुमाएका बालबालिकाहरुलाई यो लकडाउनले कति सास्ति दिएको होला हामी सजिलै अनुमान लगाउन सकछौं । तिनै आमा बुवा गुमाएका मध्य केहीलाई विभिन्न संघ संस्थाहरु र व्यक्तिगत रुपमा व्यक्तिहरुले आफ्नो निगरानीमा हुर्काई रहेका छन् । त्यसरी हुर्काउँदा यो लकडाउनले ती संघ संस्था र व्यक्तिलाई के कस्तो असर पारेको छ भन्ने विषयमा ताजाखबरले धनगढीमा रहेकी सानु चौधरीसंग कुराकानी गरेको छ ।

सानु चौधरी धनगढी उप–महानगरपालिकाको वडा १ शिवनगरमा बसेर अर्फन होम चलाई रहेकी छन् । उनले यो अर्फन होम २०७० सालमा दर्ता गरेर सञ्चालन गर्न शुरु गरेकी हुन् । उनीसंग अहिले ९ जना अनाथ बालबालिका रहेका छन् भने उनकै ४ जनाको परिवार र २ जना सहयोगी गरी हामी १५ जनासंगै बस्दै आईरहेका छन् ।

लकडाउन लागेपछि सानु र उनको अर्फन होमलाई यस्ले के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा उनी भन्छिन्,लकडाउन लागेपछि सानु र उनको अर्फन होमलाई यस्ले के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा उनी भन्छिन्,‘सरकारले अचानक लकडाउन लगायो । तर मैले यो परिस्थिति आई लाग्छ र केही सामानहरु जोहो गर्नै पाईदैँन भन्ने सोंचेर पहिला नै २ महिनालाई पुग्ने खाद्यान्न किनेर राखि सकेको थिएँ । लकडाउन लागेको २ महिना त ढुक्कले नै चल्यो तर २ महिना बित्दै जाँदा भने चिन्ता लाग्न थाल्यो ।’

कुराकानीकै क्रममा सानुले राहतको विषयमा पनि आफ्ना अनुभव सुनाईन्,‘लकडाउनमा मर्का परेकाहरुलाई सरकारले राहत बाँडिरहको भन्ने थाहा पाएर मैले पनि राहत लिनकालागी नाम लेखाएँ । तर मलाई कुन पार्टीमा आवद्ध हो भनेर सोधियो । मैले पार्टीप्रति आस्था आफ्नो ठाउँमा होला तर राहतकैलागी सार्वजनिक रुपमा म यो पार्टीमा आस्था राख्ने मान्छे हो भनेर भन्न चाहीन । त्यसैले म राहत लिनबाट बञ्चित हुन पुगें ।’

राहत त सबै अप्ठ्यारोमा परेकाहरुले पाउने हो । तर राहत लिनलाई पनि पार्टीमा आवद्ध हुनु पर्ने रहेछ भन्ने थाहा पाएपछि त्यो कुराले उनलाई कताकता नमज्जा बनाएको पनि सुनाईन् । लोकतन्त्रमा पनि स्वतन्त्र भएर सरकारी निकायले काम नगरेको देख्दा उनले आफ्नो फेसबुकको वालमा यस्तो विषम परिस्थितिमा सरकारले नै दिने राहत लिनकोलागी कुनै एउटा पार्टीको झण्डा ओढ्नु पर्ने रहेछ भन्ने आशयमा स्टेट्स पनि लेखेको बताईन् । र त्यसको केही समयपछि उनलाई उक्त स्टेटस् लेखेकै भरमा चर्को दबाबपछि आफुले त्यो स्टेट्स हटाउन बाध्य भएको पनि सुनाईन् ।

लकडाउनले गर्दा पैसा भएर पनि पसलहरु बन्द भएकोले सामान किन्न नपाउनेहरुको पिडा पैसा नहुनेहरुको जत्तिकै भएको छ भन्छिन् सानु । उनी भन्छिन्,‘रासनको जोहो गर्नलाई अलिअलि पुग्ने त पैसा नभएको त होईन । तर पैसा भएर के गर्नु ? सामान किन्नलाई पसल सबै बन्द छन् । यो हामी पनि लकडाउनकै मारमा परेका छौं भन्ने कुरा सरकारले किन नबुझेको हो ? सरकारले त अर्फन होमहरुमा राहतकोलागी भनेर छुट्टै व्यवस्था गर्र्नु पर्ने हो ।’

अर्फन बालबालिकालाई हेरचाह गरेकाहरुलाई सरकाले राहतको व्यवस्था नगरेको बताउँदै सानु भन्छिन्,‘उल्टै राहतकोलागी नाम लेखाउन जाँदा पार्टीको परिचय पत्र खोज्छ सरकार । हामी अर्फन होम सञ्चालन गर्नेहरुलाई राहतको व्यवस्था न स्थानिय सरकारहरुबाट गर्न लगाईयो । नत केन्द्रिय सकारको नै यस विषयमा ध्यान जान सक्यो । सरकारले हामी जस्ता अर्फन होम सञ्चालन गर्नेहरुलाई राहतको व्यवस्था नगरेको देख्दा मलाई यो कुराले निकै नै दुःखी बनाएको छ ।’

राहतको विषयलाई लिएर सानुलाई गरिएको पक्षपातको विषयमा उनले निकै नै गुनासो पोखिन्,‘राहत पाउनकोलागी पार्टीको नाम भन्नै पर्ने हो भने जुन वर्गकोलागी राहत छुट्याईएको हो के ती सबैले भन्न सक्छन्, कि उनीहरु कुन पार्टीका भक्त हुन् भन्ने कुरा ? अवश्यक सक्दैनन् । किनभने जब चुनाव आउँछ तब मात्र उनीहरुलाई सिकाईन्छ, कि कुन चिन्ह कुन पार्टीको हो भन्ने कुरा ।’ उनी अगाडी भन्छिन्,‘यस्तो बेलामा पनि पहुँचका आधारमा राहत बाँडिन्छ भने पहुँच नभएका ती गरिब र बिपन्न परिवारहरु जस्ले आफु कुन पार्टीमा आबद्ध छु भन्नै सक्दैनन् तिनीहरु पनि म जस्तै राहत पाउनबाट बञ्चित हुनु परेको छ ।’

संस्था अर्फन होम सञ्चालन गरेको छ भन्ने सोंचेर होला आफुलाई राहत दिनबाट बञ्चित गरिएको उनले अडकल लागइन् । भनिन्,‘सायद मैले मेरो अर्फन बालबालिकालाई कुनै विदेशी संस्थाको सहयोगमा सञ्चालन गरेको छु भन्ने ठाने होलान् त्यसैले मलाई राहत दिन मानेन् । पार्टीको नाम नभनेकै आधारमा राहत नदिनेलाई के थाहा मेरो पिडा ?’ उनीसंग १४ देखि ६ वर्षसम्मका उमेरको बालबालिका गरी ९ जना नानीबाबुहरु रहेका छन् । यो बन्दले सबैभन्दा प्रत्यक्ष प्रभाव उनका ती नानीबाबुहरुको रुचिको सामान किन्न नपाउनु नै हो ।

यस विषयमा उनी भन्छिन्,‘ठुलालाई त सम्झाई बुझाई गर्दा अलि कुरा बुझिदिन्छन् । तर साना नानीबाबुहरुलाई बुझाउन गाह्रो परिरहेको छ । प्रत्येक बच्चाहरुको छुट्टाछुट्टै आवश्यकताहरु हुन्छन् । बजार बन्दले गर्दा उनीहरुलाई आवश्यक पर्ने कपडाहरु किन्नेदेखि, कपाल काट्ने, जुत्ताचप्पल खरिद गर्ने जस्ता अन्य सामान्य समस्याले अप्ठ्यारोमा पारेको छ । सुन्दा सामान्य लाग्छ तर भोग्नेलाई थाहा छ कि त्यही सामान्य कुरा पुरा गरिदिन नसक्दा कस्तो अप्ठ्यारो भईरहेको छ भन्ने कुरा ।’

सामान्य दिनमा जस्तो सहयोग गर्न आउनेहरुलाई पनि यो लकडाउनले मर्का पारेको हुनाले उनीहरुले पनि भनेको जस्तो सहयोग गर्न सकेका छैनन् सहयोग गर्न चाहानेहरुको वास्तविकतालाई पनि उनले महसुस गर्दै सुनाईन् । विगत सात वर्षसम्म काठमाण्डौमा रहेको ‘न्यू विगिनिङ्ग चिल्ड्रन होम’ नामक संस्थामा आबद्ध भएर उनले काम गरेको हुनाले त्यही अनुभवले उनलाई उक्त अर्फन होम सञ्चालन गर्नमा मद्दत ग¥यो । पहिले काम गरेको नाताले अहिले पनि मलाई आर्थिक सहयोग त्यही संस्थाबाट भैरहेको छ भन्छिन् सानु ।

विभिन्न जिल्लाहरुका अनाथ बालबालिकाहरुलाई बटुल्दै अर्फन होम खोल्ने प्रेरणा तपाँईलाई कसरी प्राप्त भयो भन्ने प्रश्नमा उनले विगत सम्झदै भनिन्,‘मेरो श्रीमानको मृत्युपछि जब मेरो छोरा बुवा बिनाको अनाथ भयो । तब मैले सजिलै महसुस गर्न सकें अभिभावकमा एक जना मात्रै पनि अभिभावक गुम्न पुगे भने त्यसको के कस्तो असर पर्ने रहेछ बच्चामा भन्ने कुरा । याहाँ त कत्ति बालबालिकाहरु छन् जस्ले आमा र बुवा दुवै गुमाएका छन् । त्यसैले मैले अनाथहरुलाई नै आश्रय दिन्छु र यस्ता बालबालिकाहरुकै साहारा बन्छु भन्ने सोंचेर यो अर्फन होम सञ्चालन गरेको हुँ ।’

उनको अर्फन होममा अहिले मुगु, डोल्पा, कैलाली र कञ्चनपुरका गरी चार जिल्लाका ४ जना बाबुहरु र ५ जना नानीहरु हुर्कदै छन् । उनको यो अभियानमा उनले बिहे गरेको उनको दोश्रो श्रीमानको निकै ठुलो सहयोग भएको पनि बताउँछिन् सानु,‘मेरो पहिलो श्रीमानको मृत्युपछि म, मेरो छोरा र मेरो सपना सबैलाई उहाँले सहजै स्वीकार्नु भयो । र आजसम्म उहाँको साथ पाई रहेकी छु । जुन साथले गर्दा नै मैले यो अर्फन होम मार्फत मैले देखेको सपनालाई पुरा गर्न सकिरहेको छु ।’ दोश्रो बिहे पश्चात आफुले श्रीमानबाट पाएको साथले यो क्षेत्रमा अघि बढ्न निकै ठुलो सहयोग पुगेको बताउँछिन् सानु ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्