भारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार सङ्क्रमित, मृतकको सङ्ख्या १६ हजार नाघ्यो

प्रकाशित मिति : १४ असार २०७७, आईतवार १२:४३


काठमाण्डौ – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

सरकारी अधिकारीहरुले आइतबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख तीन हजार ५१ पुगेको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरुको सङ्ख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार ९५ पुगेको जनाइएको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १८८ जना सङ्क्रमित भएको जनाइएको छ ।

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या

विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २५,०५,५९३ / ब्राजिल – १३,१३,६६७ / रूस– ६,२६,७७९ / भारत– ५,०८,९५३ बेलायत– ३,११,७२७ / पेरू– २,७५,९८९ / चिली– २,६७,७६६ / स्पेन– २,४८,४६९ / इटाली– २,४०,१३६ / चीन– ८५,१७३

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्