‘लकडाउनको मर्कामा पुरुष भन्दा महिलाहरु’ समाजसेवी दिपा

प्रकाशित मिति : १५ असार २०७७, सोमबार ०९:०८


रुपनि जि.एम, आज भन्दा १० वर्ष पहिला ललितपुरको लुभुबाट राजनीतिक यात्रा शुरु गरेकी दिपा थापा मगर हिजो आज समाज सेवामा व्यस्त छिन् । जनता समाजबादी पार्टीको नेवा प्रदेश समितिको सदस्य एवं जिल्लाको सहसचिव, त्यसैगरी महालक्ष्मि नगर कमिटिको अध्यक्ष समेत रहेकी दिपाले विशुद्ध राजनीति मात्रै नगरी समाज सेवा गर्दै आफ्नो क्षेत्रमा एउटा समाज सेवीको पहिचान पनि बनाएकी छन् । यस अर्थमा उनलाई राजनीतिकर्मीसंगै समाज सेवी पनि भनेर चिनिन्छ ।

कोभिड १९ ले गर्दा देश यतिबेला लकडाउनको चपेटामा परेको छ । चैत्र ११ गतेदेखि अहिलेसम्म निरन्तर लागेको लकडाउनको मर्कामा विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने मज्दुरहरु, किसानहरु, विद्यार्थीहरु, महिला ताथ बालबालिकाहरु, जेष्ठ नागरिकहरु, अपाङ्ग व्यक्तिहरु परेका छन् । र त्यसरीे मर्कामा परेका असाहाय र अशक्त व्यक्तिहरुलाई राहत वितरण गर्दै गासको व्यवस्था गर्ने काम समाजेवी दिपाले लकडाउन लागेदेखि नै निरन्तर गर्दैे आएकी छन् ।

राजनीति पृष्ठभूमि भएको परिवारमा जन्मिएकी दिपा आफै पनि एउटा राजनीतिकर्मी भएतापनि उनलाई समाज सेवा गर्नमा परिवारको सहयोग र समर्थनले नै काम गर्ने हौसला मिलेको बताउँछिन् । विशेषगरी पिडीत महिलाहरुकोलागी र विभिन्न कारणले अप्ठ्यारोमा परेका महिलाहरुकालागी जस्तो सुकै परिस्थितिमा पनि उभिए उनीहरुलाई सहयोग गर्न लागी पर्ने दिपाले गरिब दुखिको घाउमा महलम लगाउन पाउँदा आफुलाई भित्रैबाट खुशि मिल्ने पनि बताउँछिन् ।

लकडाउनकै कारण भोकै बस्न बाध्य भएकाहरुले फोन मार्फत आफुलाई समस्या समाधानकालागी सहयोग माग्ने गरेको पनि ताजाखबरसंगको कुराकानीमा उनले बताईन्,‘समाजसेवीकै नाताले मैले यतिखेरको यो लकडाउनको समयमा लकडाउनले प्रत्यक्ष मारमा परेकाहरुलाई आफु सक्दो सहयोग गरिरहेको छु ।’

कोभिड १९ को यो डरलाग्दो महामारीको बेलामा उनी जस्तो सुकै ठाउँमा पनि अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न पुगेको अनुभव सुनाउँछिन्,‘मेरो स्वभाव अलि फरक छ । यो संक्रमणको बेलामा अरुलाई जस्तो मलाई भने डर फिट्टिकै लागेको छैन । डराई डराई काम गर्नु भन्दा निडर भएर काम गर्नुको अनुभुति नै बेग्लै हुन्छ । सानैदेखिको मेरो स्वभाव भएर पनि होला मलाई कुनै कुरामा डरै लाग्दैन । साथीहरुसंग मिलेर काम गर्दा मैले प्राय उहाँहरुमा कोरोना लाग्छ कि भन्ने एउटा बेग्लै उहाँहरुको मनभित्र लुकेर बसेको डर देखि रहेको हुन्छु ।’

३७ औं वषन्तमा हिंड्दै गरेकी दिपा यो उमेर सम्म आईपुग्दा डर के हो उनले यस्को महसुस अहिले सम्म गर्न नसकेको बताउँछिन् । उनी भन्छिन्,‘यो कुरा मैले भनि रहंदा गफै त हो भन्नेहरु पनि होलान् तर सत्य कुरा भनि रहेको छु । मलाई यस्तो कोरोनाको महामाीमा सहयोग गर्नु पर्दा प्रत्यक्ष हामीले उहाँहरुलाई भेटेर कुरा गर्नु पर्ने हुन्छ । उहाँहरुसंग छोईनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा मलाई डरै लाग्दैन । बरु उल्टै यो परिस्थितिमा रोगले भन्दा भोकले छटपटाउन बाध्य भएकाहरुलाई देख्दा मन साह्रै अत्तालिएर आउँछ ।’

ताजाखबरसंगको कुराकानीमा दिपाले खुलेरै आफ्नो मनभित्रको कुरा र काम गर्दा बटुलेको अनुभवलाई यसरी सुनाईन्,‘डर नलाग्ने स्वभाव नभएर पनि होला यो महामारीको बेलामा मलाई दिनै भरि खटिएर काम गर्न सजिलो भएको । लकडाउनको मारमा परेकाहरुलाई सहयोग गर्दा उनीहरुको घरघरमा गएर तथ्यांक संकलन गर्नु पर्ने हुन्छ । वास्तविक आवश्यकता परेकाहरुको अवस्था बुझ्नु पर्ने भएकोले उनीहरुसंगै कुराकानी गर्नु पर्ने हुन्छ । बिहान घरबाट निस्किएपछि एकैचोटी बेलुका घर फर्कनु पर्ने हिजो आजको मेरो दैनिकी बनेको छ । यस्ले पनि मलाई काम गर्नमा अझैं हौसाएको हुन्छ । तर भनेको जस्तो सहयोग गर्न नसक्दा भने मलाई खिन्न लागी रहन्छ ।’

राजनीतिलाई पृष्ठभूमि बनाएर समाजसेवी बनेकी दिपा भन्छिन्,‘समाजसेवी हुनु आफैमा एउटा गर्व लाग्ने कुरा हो । जब समाजमा यस्ता बिपदहरु आईलाग्छन् तब भनेको जस्तो सहयोग गर्न नसकिंदा त्यतिबेला भने साह्रै नमज्जाको महसुस हुने रहेछ । यो लकडाउनमा पनि मैले चाहे जस्तो सहयोग गर्न नपाउँदा मलाई त्यस्तै भईरहेको छ । जत्ति नै पारदर्शी भएर सहयोग गर्न खोज्दा पनि कही न कही कमी कम्जोरी हुने नै रहेछ । यो कुराको अनुभव भने मैले काम गर्ने शिलशिलामा राम्रैसंग गरेको छु ।’

लकडाउनको मारमा परेकाहरुलाई व्यक्तिगत, संस्थागत, साथीभाईहरुसंग सहयोग मागेर राहत वितरण गरेको बताउँदै दिपाले त्यसरी राहत वितरण गर्ने क्रममा आफ्नो वडाकालाई मात्र नगरी बाहीरबाट बसोबास गर्न आएकाहरुलाई पनि गरेका बताईन् । त्यसरी राहत बाँडदा भेटेकाहरु प्राय अत्ति नै दयनिय अवस्थाका, अत्ति नै विपन्न परिवार जस्को दैनिकी ज्याला मज्दुरीमा काम नगरे खान नपाईने । त्यस्तालाई यो लकडाउनले निकै नै मर्का पारेको उनको अनुभव छ । दिपा भन्छिन्,‘उनीहरुको अवस्थालाई मैले शब्दमा ब्याख्या गर्न सक्दिन । उनीहरु त्यस्तो भयाभह अवस्थासंग जुधिरहेका छन् । र जसोतसो आफ्नो दुईछाकको गुजारा गरि रहेका छन् ।’

लकडाउनले गर्दा विपन्न परिवारमा २४ सै घण्टा श्रीमान र श्रीमती एकै ठाउँमा बस्नु पर्ने हुनाले घरेलु हिंसाका घटनाहरु घटेको उनले बताईन् । त्यस्ता घटनाहरुलाई आफुले नजिकैबाट देख्ने र अवलोकन गर्ने मौका पाएको अनुभव सुनाउँदै त्यसरी घरेलु हिंसामा परेका महिलाहरुलाई आफुले सहयोग गरेको पनि बताईन् । लकडाउनकै कारण घरेलु हिंसामा परेका महिलाहरुलाई सहयोग गर्न पाएकोमा उनले लकडाउनलाई एउटा सकारात्मक रुपमा पनि लिएकी छन् ।

यस विषयमा उनी भन्छिन्,‘लकडाउनले गर्दा विशेषगरी विपन्न परिवारका श्रीमान र श्रीमतीसंगै बस्नु पर्ने भएको हुनाले उनीहरुबीचको झगडा बढेको पाईयो । श्रीमान र श्रीमतीबीच हुने घर झगडाले विभिन्न खालका घटनाहरु घटेको खबर मलाई सुनाईन्थ्यो । मेरो जानकारीमा आउना साथ मैले तुरुन्तै आफु सक्दो सहयोग गरेर त्यस्ता समस्याहरुलाई सल्ट्याएको पनि छु । प्रतयक्ष रुपमा त्यस्ता व्यक्तिहरुलाई भेटेर उनीहरुको समस्या सुनेर समस्या समाधान गर्ने मौका यो लकडाउनले दिएकोमा मैले यस्लाई सकारात्मक रुपमा पनि लिएकी छु ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्