प्रधानमन्त्रीले सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य गर्नुको पछाडी यस्तो छ कारण !

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १५:४४


काठमाडौं, १८ असार । संसद अधिवेशन अन्त्य गर्ने सरकारले गरेको निर्णय सभामुख अन्निप्रसाद सापकोटालाई पनि थाहा थिएन । सरकारले उनीसंग परामर्श नै नगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि अहिले नेपाली राजनीतिमा हलचल पैदा भएको छ । आफ्नै पार्टीका नेताहरुले राजिनामा मागेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा छल्न यस्तो निर्णय गरेको अनुमान गरिएको छ ।

सरकारले सभामुखसंग मात्र होइन प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेससंग पनि परामर्श नगरी अधिवेशन अन्त्य गरेको हो । मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी पाएपछि कांग्रेसले विरोध जनाएको छ । संसद अधिवेशन अन्त्यका विषयमा सभामुख सापकोटासँग छलफल नै नभएको सभामुखको सचिवालय स्रोतले बताएको छ ।

नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक, एमसिसी लगायतका थुप्रै विषयमा टुंगो नलाग्दै अचानक संसद अधिवेशन अन्त्य गरिएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चालु अधिवेशन अन्त्यको सिफारिस गर्दा सरकारले सामान्य जानकारीसम्म नदिएको भन्दै असन्तुष्टि जनाएको छ।

आफ्नै पार्टीका नेताहरुको तारो बनेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले अप्ठेरोमा परेका छन् । प्रधानमन्त्रीले अध्यादेश ल्याउने समेत संकेत गरेका छन् । संसद अधिवेशन स्थिगित गरेका प्रधानमन्त्रीको यस्तो कदल पछि नेकपाका अन्य नेतामा तरंग आएको छ । प्रधानमन्त्रीको यस्तो कदम पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

यस अघि प्रचण्डले प्रधानमन्त्री ओलीलाई पनि भेटेका थिए । प्रचण्डले संसद अधिवेशन स्थगित गर्नुको कारण वारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । प्रधानमन्त्रीले स्थायी समिति बैठक पनि टाल्दै आएका छन् ।

बैठकमा उनी केही मिनट बसेर निस्कने गरेका छन् । बैठकमा प्रधानमन्त्रीको राजिनामा माग भएपछि उनले संसद अधिवेशन स्थगित गर्ने निर्णय गरेका थिए । स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए ।

ओलीले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन खोजेको आशंका गरेका नेताहरुले निर्वाचन आयोगमा दर्ता गर्न लगाएर ओलीले नै नेकपा एमाले ब्युझाउन लागेको बताउदै आएका छन् ।

प्रधानमन्त्रीले संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने संकेत गरेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न सितल निवास गएका हुन् । प्रधानमन्त्रीका तर्फवाट गएका सबै प्रस्ताव राष्ट्रपतिवाट धमाधम स्वीकृत भइरहेपछि ‘तपाई पार्टीको एउटा पक्षमा लाग्नु हुँदैन है’ भन्ने आग्रह गर्न प्रचण्ड शीतल निवास गएको स्रोतले बताएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्