टिप्पर र ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु

प्रकाशित मिति : २० असार २०७७, शनिबार १२:५०


काठमाण्डौं – प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे निधन भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उनका अनुसार प्युठान भालुबाङ सडकखण्ड अन्तर्गत शनिबार बिहान सरुमारानी गाउपालिका वडा नम्बर ६ मोतिपुरस्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदिमा टिपर खसेको हो।

त्यस्तै तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको निधन भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै निधन भएको इलाका प्रहरीचौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताए । दुर्घटनामा परी घाइते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन् ।

मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पु¥याउन जाँदा ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताए । घाइतेको उपचार र शव परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ ।

राजविराजमा पोखरीमा डुबेर बालकको निधन

सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको निधन भएको छ । निधन हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बोला नन्दकिशोर डुबेका थिए । उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदनअनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो । घिमिरेका अनुसार चालक गैँडाकोट नगरपालिका वडा नं २ निवासी ४६ वर्षीय मोहनिलाल पाण्डेले आफू यात्रु लिन काठमाडौँ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट फोन गरेका थिए । त्यसको केही बेरपछि फोन सम्पर्कविहीन भएको थियो ।

खड्काले ६ बजे मुग्लिन कट्नु, प्रत्यक्षदर्शीले भनेकै रङको गाडी हुनु, मोबाइलको टावरको अन्तिम बिन्दु कुरिनटार हुनु, चालक र गाडी सम्पर्कविहीन हुनुजस्ता कारणले सो गाडी र चालक बेपत्ता भएको अनुमान गरिएको बताए । गाडीधनी अनिल शर्मा न्यौपानेका जेठान शङ्करप्रसाद घिमिरेले प्रहरीमा गाडी र चालक खोजी गरिदिन शुक्रबार निवेदन दिएको प्रहरीले जनाएको छ ।

सो गाडी खसेको स्थानीय सुनमाया चेपाङले प्रत्यक्ष देखेपछि प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरीको तालीम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीका अनुसार गाडी खसे लगत्तैबाट खोजी गर्दा पनि जीप हालसम्म भेटिएको छैन । गाडी खोज्न सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । घटनास्थल चितवनको सीमा क्षेत्रको धादिङ जिल्लामा पर्ने बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोला पर्दछ । गाडी खोजी गर्न इलाका प्रहरी कार्यालय गजुरीले चितवन प्रहरीलाई पत्राचार गरेको जनाएको छ ।

सनाखत नहुँदा एक सातादेखि हस्पिटलमै शव

एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अ’र्धन’ग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो । मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उहाँले जानकारी दिए ।

शवको प्रकृति हेर्दा कसैले महिलाको ह त्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतकको मुख रुमालले बाँधिएको, शरीरको कम्मरमुनिको पछाडिको भागको कपडा खोलिएको र निधारमा ताजा चोट भएको प्रहरीका जिल्ला प्रवक्ता थापाले बताए । घटनास्थल नजिकैबाट प्रहरीले पेप्सीको बोतलमा म-दिरा, आधा प्याकेट चाउचाउ र छाता भेटेको जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाउनुका साथै मृतकको सनाखतका लागि आफन्तको खोजीकार्य जारी राखेको छ । घटनास्थल इलाम जाने मेची राजमार्ग नजिक रहेको हुँदा मृतक इलामको समेत हुनसक्ने ठानेर झापा र इलामका प्रहरी एकाइमार्फत आफन्तको खोजी अघि बढाइएको प्रहरीको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्