उपत्यकामा यी ठाउँहरुमा पनि देखियो कोरोना

प्रकाशित मिति : २० असार २०७७, शनिबार १६:२७


काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस देखिएको छ । उपत्यको ४ ठाउँको ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस देखिएको हो । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोभिड १९ को भाईरस फेला परेको बताएको छ । उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए ।

डाक्टर कर्माचार्यका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए । ‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पार्यौं,’ डाक्टर कर्मचार्यले भने ।

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन् । जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरु समेत बचत हुनेछ ।

 

उनका अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी हुँदैन । ‘यस्तो अध्ययनले संक्रमण फैलिएको क्षेत्र थाहा भइहाल्छ, त्यो थाहा पाएपछि पहिला दीर्घरोगी, वृद्धहरु र जोखिम समूहका मानिसलाई प्राथमिकता दिएर परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसो गर्दा राज्यको धेरै किट, जनशक्ति, स्रोत र खर्च बच्छ ।’

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । जनस्वास्थ्य वैज्ञानिक समिरमणी दीक्षितका अनुसार भाइरसको थोरै मात्र परीमाण भयो भने ढलबाट जाँच गर्दा भाइरस पत्ता लाग्दैन । यो अध्ययनले उपत्यकाका केही ठाउँका धेरै मानिसमा संक्रमण देखाएको उनी बताउँछन् । उनले भने, ‘अब हामी ललितपुरको वडा–वडाको अनुसन्धान गर्छौं ।’

यसै क्रममा ट्राभल हिष्ट्री नभएका उपत्यकाका बासिन्दामा कोरोना भाइरस संक्रमण देखिएपछि कोरोना संक्रमण समुदायमा गए नगएको अध्ययन हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा एक हप्तामा एक हजार दुई सय नमुना संकलन गरी परीक्षण गर्ने भएको छ। हलसम्म उपत्यकामा देखिएका मध्ये १२ जनाको कुनैपनि ट्राभल हिष्ट्री नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। शनिबारदेखि महाशाखाले नमुना संकलन कार्य सुरु भएको जनाएको छ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले आज काठमाडौंको कोटेश्वर क्षेत्रबाट ११८ र ललितपुरको नख्खु टोलबाट ११० जनाको स्वाबको नमुना संकलन गरिने जानकारी दिए। समुदायका मानिस जसको कुनै बाहिर गएको यात्रा विवरण छैन, संक्रमित व्यक्तिसँग सम्पर्क छैन उनीहरुलाई संक्रमण देखिएको पछि संक्रमण समुदायमा फैलिएको आंशका गर्न थालिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शनिबार ११ बजेसम्म काठमाडौंमा ११०, भक्तपुरमा २८ र ललितपुरमा १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालमा हालसम्म १५ हजार २ सय ५९ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये हालसम्म ३३ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ६ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्