प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका ६ भाइको दह्रो साथ

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १८:४५


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सम्पन्न भएको छ ।

नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेकामा पुनः स्थगन भई यही असार २४ गतेका लागि तोकिएको छ । अध्यक्षद्वयबीच असार १९ गते अन्य केही नेतासहित भएको छलफल सकारात्मक भएपछि दैनिकजसो भेटवार्ता चलिरहेको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आजको छलफलमा भएको प्रगतिबारे जानकारी आइनसकेको बताए ।

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ । संसद् नभएको स्थितिमा राजनीनितक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शबिना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन् ।

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भएपनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए । स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् ।

खुमलटारमा ६ भाई भेला

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बादल छलफलमा जुटेका छन् । पार्टीभित्र बढ्दै गएको विवाद कसरी हल गर्ने भन्नेबारेमा पछिल्ला दिन अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच भेटवार्ता भैरहेका छन् ।

त्यही भेटवार्ताबारे दाहालले आफ्ना समूहका नेताहरुलाई जानकारी गराउँदै आएका छन् । दाहाल-नेपाल समूहले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् भने ओलीले कुनैपनि हालतमा राजीनामा नदिने अडा लिएका छन् । ओलीले आफूलाई हटाएर देखाउन चूनौति नै दिएका छन् ।

तर, नेकपाका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई जोगाउनको लागि पनि शीर्ष नेताहरु खासगरी अध्यक्षद्धयबीच सहमति कायम गर्नुको विकल्प नभएको भन्दै मिल्न दबाब दिईरहेका छन् । दाहाल-नेपाल समूह ओलीलाई दुईमध्ये एक पदबाट हटाउनको लागि राजी भएको छ । यसअघि दुवै पदबाट हटाउन खोजेको उक्त समूहले अहिले दुवै पदबाट हटाउने अडानबाट एक कदम पछि हटेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउने भन्दै लचकता प्रस्तुत गरेको स्रोतको दाबी छ ।

आइतबार र सोमबार अध्यक्षद्धय ओली र दाहालीच एक्लाएक्लै भेटवार्ता र छलफल भएका थिए । उक्त छलफलमा दुई अध्यक्षबीच सहमति भएको हल्ला बाहिर आएका थिए । माधव नेपाल समूहलाई बाईपास गरेर दाहालले ओलीसँग सम्झौता गरेको र नेपाल समूह दाहालसँग असन्तुष्ट बनेको कुरा बाहिर आएका छन् । नेता नेपालले भने दाहालले आफूहरुलाई धोका नदिएको स्पष्ट पारेका छन् ।

ओलीले पार्टीको विधि, विधान र पद्धतीलाई ठाडै चूनौति दिएको भन्दै अब स्थायी कमिटीको बैठक धेरै लम्ब्याउन नहुनेमा दाहाल नेपाल समूहका ६ भाई नेता वारपार गर्नुपर्ने निश्कर्षमा पुगेको स्रोतको दाबी छ । ओलीले दुवै पदबाट नहट्ने भनेर चट्टानी अडान लिएपछि दाहालसँगको भेटवार्ता खासै सकारात्मक हुन सकेका छैनन् । ओलीलाई बहुमतका आधारमा कारबाही गरेर अघि बढ्दा उनले पार्टी नै फुटाउनसक्ने डर दाहाल नेपाल समूहलाई छ । त्यतिमात्रै होईन, ओलीले आफ्नो पद जोगाउनको लागि जस्तोसुकै हत्कण्डापनि अपनाउन सक्ने भन्दै दाहाल र नेपाल सशंकित बनेका छन् ।

प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका ६ भाइको साथ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेताहरुबीच कित्ताकाट सुरु भएको छ । बहुमतको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागेपछि पार्टीभित्र नेताहरुबीच कित्ताकाट सुरु भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने पक्षमा अडान राखिरहेको बेला पूर्व माओवादी समुहका नेताहरु पनि प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै ओली कित्तामा उभिएका छन् ।

नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, लेखराज भट्ट, देवेन्द्र पौडेल, मणि थापा, प्रभु साह लगायतका नेताहरुले भने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने पक्षमा उभिएका छन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्