कोरोनाबाट बिरामी भएका ७० लाख ७१ हजार भन्दा बढी व्यक्ति निको भएर फर्के

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १३:५०


काठमाण्डौ – नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन्.। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर निधन हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको निधन भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६११ जनाको निधन भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४६३ जनाको निधन भएको छ ।

युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को निधन भएको छ । एसिया २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५९२ जनाको निधन भएको छ ।

अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको निधन भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको निधन भएको छ ।

भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत

भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको छ ।

यहाँ गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका बुधबार बिहान प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या बुधबार बिहानसम्ममा ७ लाख ४२ हजार ४१७ जना पुगेका छन् ।

यी संक्रमितहरुमा भारतमा ४ लाख ५६ हजार ८३० जना संक्रमितहरु निको भएर घर फर्किएका सो मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा २ लाख ६४ हजार ९४४ जना संक्रमितहरु अहिले रहेका छन् । उनीहरुमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् ।

यहाँ २० हजार ६४२ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८२ जनाको ज्यान गएको बताइएको छ । योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ ।

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ ।

योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १९३ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा ४० देखि ७० जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि संक्रमणबाट ज्यान जानेको संख्या २८७ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ ।

यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ ।

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ७० हजार भन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्