‘भारतका न्युज च्यानलका एंकरसँगै डरायो त नेपाल, सेना त अघि त सर्नै परेन’ भन्दै नेपालबारे आपत्तिजनक ट्वीट गर्ने जी न्यूजका प्रधानसम्पादक सुधिर चौधरीले माफी मागे

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १९:३८


काठमाडौँ । भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालबारे विवादित ट्वीट हटाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।

अहिले उनले उक्त ट्वीटलाई हटाउँदै माफी मागेका छन् । उनले लेखेका छन्, ‘मेरो यो ट्वीटले नेपालमा हाम्रा दर्शक आहत भएका छन् । यहाँ भारतमा पनि धेरैले मलाई लेखेर यो विचार सही नभएको बताए । सम्भव हुनसक्छ मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो, कसैलाई आहत गर्नका लागि लागि होइन । त्यही भएर म खेद जताउँदै यो ट्वीट हटाउँदैछु ।’

उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’

यसअघि जी न्युजमा नै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे आपत्तिजनक समाचार प्रशारण भएको थियो । जी न्युजको बिहार–झारखण्ड संस्करणले नै प्रधानमन्त्री ओली र राजदूत यान्छीबारे अनर्गल प्रचार गरेको थियो । त्यसबारे प्रधानसम्पादक चौधरीले केही भनेका छैनन् ।

स्वदेशी र विदेशी च्यानल प्रसारणको अनुमति पाएका मल्टी सिस्टम अपरेटरहरूले भारतीय न्युज च्यानल प्रसारण रोकेका हुन् । भारतीय एक न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको सम्बन्धलाई जोडेर तथ्यरहित रिपोर्ट प्रसारण गरेको भन्दै नेपालमा भारतीय न्युज च्यानललाई रोक लगाइएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्