सेतीमा आएको बाढीले पुल नाघ्यो, ४३ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण (तस्विरसहित)

प्रकाशित मिति : २७ असार २०७७, शनिबार ०९:४९


तनहुँ – बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सेती नदीमा पानीको बहाव एक्कासि बढेपछि शुक्लागण्डकी नगरपालिका–४ का २८ र शुक्लागण्डकी नगरपालिका–८ का १५ घरपरिवार गरी ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका, स्थानीयवासी सक्रियरुपमा लागेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।

अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढीका कारण जोखिममा परेका शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका घर । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ का ४२ घरपरिवार विस्थापित भएका छन् । तस्वीर ः कृष्ण न्यौपाने

पानी परिरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा लैजानसमेत कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “हालसम्म कुनै क्षति नभए पनि जोखिम भने उत्तिकै बढ्दै गएको छ ।” शुक्लागण्डकी ४ र ८ जोड्ने काठेपुलभन्दा पनि काठेपुलदेखि केही दूरी तल रहेको पुल्चोकस्थित पक्की पुललाई खतरा हुने देखिएको शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले जानकारी दिनुभयो ।

शुक्रबार बिहान अविरल वर्षात् परिरहेकाले सेतीनदीले काठेपुल नाघेर गएको छ । उहाँले भन्नुभयो, “केही समय वर्षात् लम्बिँदै गयो भने खतरा बढ्न सक्ने देखिएको छ ।” पछिल्लो विवरणअनुसार शुक्लागण्डकी नगरपालिका–४ का असुरक्षित रहेका बासिन्दालाई मगर समाज गुरुङ समाज र राधाकृष्ण मन्दिर आसपास क्षेत्रमा स्थानन्तरण गरिएको छ ।

अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढीका कारण जोखिममा परेका शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका घर । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ का ४२ घरपरिवार विस्थापित भएका छन् । तस्वीर ः कृष्ण न्यौपाने

त्यसैगरी शुक्लागण्डकी ८ का बासिन्दालाई तिब्बतीय क्याम्पमा स्थानन्तरण गरिएको शुक्लाण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । अहिलेसम्म कुनै पनि मानवीय क्षति नभए पनि बङ्गुर र कुखुरा बगाएको भनिए पनि के कति परिमाणमा बगाएको हो भन्ने तथ्याङ्क नरहेको उहाँले बताउनुभयो ।

वर्षात्का कारण पृथ्वीराजमार्गअन्तर्गत पर्ने ७२ किलोमिटर दूरीमा भने अहिलेसम्म कुनै अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको पूर्वी सिमना मुग्लिन र पश्चिम सिमना कोत्रे क्षेत्रसम्म राजमार्ग सुचारु रहेको उहाँले बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्