गैँडाकोटमा डाइभर्सन बगाएपछि सडक अवरुद्ध, गन्तव्यमा हिँडेका सवारीसाधन बाटो रोकिए (तस्विरसहित)

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १०:५९


चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

पूर्वी नवलपरासीको गैँडाकोट– ९ थुम्सीमा बाढीले डाइभर्सन बगाएपछि रोकिएका सवारीसाधन ।
पूर्वी नवलपरासीको गैँडाकोट– ९ थुम्सीमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग ।
पूर्वी नवलपरासीको गैँडाकोट– ९ थुम्सीमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग ।

त्यस्तै माडीमा खोलाले बगाएर आज एक जनाको निधन भएको छ । निधन हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा शव भेटिएको हो ।

यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

यता वर्षाका कारण भरतपुर महानगरपालिका–११ भोजाडमा रुखले घर थिचेको छ । जसका कारण घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । भोजाडमा रहेको एउटा घरमा क्षति भएको हो । त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्