महानायक काण्ड बारे के बोलिन नायिका प्रियंका कार्कीले (भिडियो सहित्)

प्रकाशित मिति : २७ असार २०७७, शनिबार २०:०७


अभिनेत्री दीपाश्री निरौलाले महानायक राजेश हमालबारे दिएको अभिब्यक्तिपछि कलाकारहरुले आ आफ्नो भनाई सार्वजनिक गरिरहेका बेला लोकप्रिय नायिका प्रियंका कार्की पनि बोलेकी छिन् । प्रियंकाले कसैको तर्क, भाव या बिचार आफुलाइ चित्त नबुझे आवाज उठाउने अधिकार सबैमा भएको भन्दै दीपाश्रीको पक्ष लिएकी छिन् ।

उनले भनेकी छिन् चित्त नबुझेको कुरा राख्नुस, वहाँलाइ सकारात्मक ढंगले सच्चाउनुस। वहाँ लगायत हामी सबै तपाईंहरबाट सिक्न चाहन्छौ। तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्येसै गरि, हामीबाट केही गलती भएमा हामीलाइ सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाइ छ। र त्यसको सम्मान पनि हामी गर्छौ। तर सच्चाउने क्रममा अस्लिल गाली, गलौच र चरित्र हत्या कृपया नगरिदिनुस। एउटा गलत बोली या तर्कले कोही ब्यक्तीको चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।

हाम्रो आफन्त, आफ्नै छोरा(छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ ररु गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गलती औल्याउँदै अगाडी बड्ने हौसला दिन्छौ, माफी मागे स्वीकारछौ। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र ?

आखिरमा हामी सबै मानिस हौ। हाम्रो मानसिक स्वास्थ पनि प्रभावित हुन्छ, होइन ररु यो बिषयमा ध्यान पुराइदिनुस, विनम्र अनुरोध। धेरै माया।

 

भिडियो हेर्नुहोस्:

 

यो पानि पढ्नुहोस्:

‘महानायक’ को साझा मापदण्ड के हुन् ? यसलाई नाप्ने सर्वस्वीकार्य इकाई के हुन् ? राजेश हमालको अघिल्तिर ‘महानायक’ को फुर्को किन झुन्ड्याइयो ? के वास्तवमै उनी ‘महानायक’ हुन् ?

यी प्रश्नले हामीलाई दुई कित्तामा विभाजित गर्छ । एकथरी नतमस्तक भएर ठोकुरा गर्छन्, ‘राजेश हमाल महानायक नै हुन् ।’ अर्कोथरी नाक खुम्च्याउँछन्, ‘महानायक भन्नलायक के छ उनमा ?’

जस्तो एक अन्तर्वार्तामा दीपाश्री निरौला प्रश्न गर्छिन्, ‘उहाँ महानायक हुनुहुन्छ र ?’

दीपाश्रीको बुझाइ के छ भने, आफ्नो जमानामा राजेश हमालको टाउको बिक्थ्यो । पोस्टरमा उनको अनुहार देखेर दर्शकहरू हलसम्म तानिए । यस हिसाबले राजेश हमालको क्रेज जरुर थियो । तर त्यो स्टारडमबाट उनीमात्र लाभान्वित भए, समग्र चलचित्रको उत्थान हुन सकेन ।

आज संकटको घडीमा उनी न केही बोलिरहेका छन्, न कुनै सहयोगको लागि हार्दिकता पोखिरहेका छन् । दीपाश्री संशय गर्छिन्, ‘उहाँ पहिले हुनुहन्थ्यो, अहिले कहाँ हुनुहुन्छ ?’

पचासको दशकमा जसरी राजेश हमालको क्रेज उकासियो, त्यो एउटा नियमित आकस्मिकता थियो । त्यसअघि कसैले नपाएको ‘स्टारडम’ उनैले पाए । उनको टाउको बिक्यो । रसरङ्गको दुनियाँबाट टाढा रहेका नेता मोहनविक्रम सिंहलाई एकपटक हामीले सोधेका थियौं, ‘नेपालका कुनै हिरो चिन्नुहुन्छ ?’

उनले अनकनाउँदै भासिएको स्वरमा भनेका थिए, ‘त्यो हमाल कि के भन्ने छ नि ?’

नेपाली सिनेमाभन्दा बाह्र हात पर रहेका अहिलेका किशोर पुस्तालाई सोध्ने हो भने उनीहरूले कनीकुथी लिने नाम हो, ‘राजेश हमाल ।’

अग्लो कद, कर्ली कपाल, वाकपटुतायुक्त ‘जेन्टलमेन’को आवरणमा राजेश हमाल जरुर एक मानक हुन्, नेपाली सिनेमाका । तर करियरको उत्कर्षमा राजेश हमालले खेलाँची गरे । उनको यन्त्रवत् उपस्थितिले दर्शकलाई ‘मुर्गा’ बनाइरह्यो । आस्था र श्रद्धाको त्यो अग्लाइमा उक्लिएर पनि उनले आवश्यक ठानेनन्, नेपाली सिनेमाको दिशा र गति बदल्नुपर्छ ।

न आफ्नो अभिनयमा विविधता खोजे, न चरित्र–निर्माणका लागि अतिरिक्त मिहेनत गरे । आफू जस्तो छु, त्यही रुपमा दर्शकले स्विकार्नुपर्छ भन्ने हठी मनोविज्ञानले ग्रस्त बनायो । एक निर्देशक सुनाउँथे, ‘राजेश दाइ सुटिङ स्पटमा आएर बल्ल आफ्नो डायलग के हो भनेर माग्थे ।’ आफ्नो करियरलाई उनले एक स्वचालित औजार ठाने, त्यसका लागि ‘तप र जप’ गर्नुपर्ने जरुरी देखेनन् ।

राजेश हमाल शैली हावी भइरहँदा नै हो, घरेलु दर्शकले नेपाली चलचित्र भन्नासाथ नाक खुम्च्याउन थालेका ।

एक अन्तर्वार्तामा राजेश हमाल भन्छन्, ‘जस्तोपायो त्यस्तो सिनेमा खेल्नु मेरो भुल थिएन । कुनै पनि निर्माता/निर्देशक ‘मेरो चलचित्र झुर छ, कमसल छ खेलिदिनुपर्‍यो’ भन्दै आएका थिएनन् । सबैले आफ्नो चलचित्र राम्रो छ, उत्कृष्ट छ भनेकाले मैले खेलिदिएँ ।’

सामान्य बजारको प्रवृत्ति हो, बोल्नेको पीठो पनि बिक्ने । अर्थात् थोक विक्रेतादेखि उद्यमीसम्मले आफ्नो ‘माल’ खराब छ भनेर उपभोक्तामाझ पेश गर्दैन । त्यसो भन्दैमा उपभोक्ताले सबै माल–सामान उठाइदिने ?

राजेश हमाल जत्तिका बौद्धिक अभिनेताले स्क्रिप्ट, ब्यानर, निर्देशकको गुणवत्ता जाँच्न नसक्नु वा नचाहनु उदेकलाग्दो हो । यसले उनको करियरलाई त ध्वस्त बनायो नै, नेपाली सिनेमाले एउटा राम्रो अवसर पनि गुमाउनुपर्‍यो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्