थला परेको पर्यटन क्षेत्र भन्छ, “पचास प्रतिशत क्षमतामा भए पनि सेवा शुरु गरौँ”

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १५:५२


काठमाण्डौं – होटल एसोसिएशन नेपालको तथ्याङ्क भन्छ नेपालमा होटल क्षेत्रमा मात्र करीब रु १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्ति रोजगारका रुपमा आश्रित छन् । होटलले मात्र नेपालमा भित्रिने वैदेशिक मुद्रामध्ये करीब २५ प्रतिशत आम्दानी गर्ने गरेको छ । त्यस्तै नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा होटल क्षेत्रको मात्र योगदान पाँचदेखि सात प्रतिशतसम्म रहेको छ । तर यति समृद्ध क्षेत्रले अहिले दिनप्रतिदिन घाटा व्यहोरिरहेको छ भने जनशक्ति कामविहीन भएर बसेका छन् । प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै छ । यो क्षति होटल क्षेत्रको मात्र हो र यससँग जोडिएर आउने अन्य पर्यटकीय संरचनाहरु हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबास (होमस्टे) आदि अरू धेरैको अलग्गै छ । चैतयता चार महिना भयो देशको समग्र पर्यटन क्षेत्र नै सबै ठप्प छ । एकजना विदेशी पर्यटकले नेपाल प्रवेश पाउँदा उनीबाट कम्तीम पनि ११ जना नेपालीले रोजगारी पाउँछन् । पर्यटक नेपाल भित्रिएपछि दिनुपर्ने सबै सेवामा हुने संलग्नताको तथ्याङ्क हो यो, यद्यपि यो छोटै समयको रोजगारी हुनसक्छ । पर्यटकका लागि हुने हवाईदेखि सडक यातायात हँुदै ट्राभल एजेन्सीदेखि अरू धेरै क्षेत्र यसमा संलग्न हुन्छन् । पर्यटन क्षेत्रको यो पूरै ‘साइकल’ चार महिना यतादेखि ठप्पै छ ।

संसार यतिखेरको यो महामारीमा नफसेको भए हाम्रा लागि भने यो समय यसरी देशले पर्यटन क्षेत्रबाट भएको क्षतिको हिसाबकिताब गर्ने समय होइन । हामीमाथि पनि अहिलेको प्राकृतिक विपत्ति नपरिदिएको भए आज हाम्रा सञ्चारमाध्यमहरुले यो महिनामा यति पर्यटक भित्रिए र राज्यलाई यति आय भयो भनेर समाचार बनाउने बेला हो । हामीले यस वर्ष (सन् २०२०) लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी सबै पूरा गरिसकेका थियौँ र यस वर्ष नेपाल भित्र्याउने २० लाख पर्यटकमध्ये छ महिनामा यति जना आए भनेर हिसाब गरिरहेका हुन्थ्यौँ । अनि कुन कुन क्षेत्रमा कति पर्यटक भित्रिएका छन् र ती अलग अलग क्षेत्र र स्थान विशेषले यसबाट के कति आर्थिक आर्जन गर्न सके भन्ने हिसाबकिताब गरेका हुन्थ्यौँ । हाम्रो सन् २०२० को आधा वर्ष यसै खेर गइसकेको छ र अरू आउने दिन पनि त्यति सुनिश्चित छैनन् । यसरी हेर्दा हाम्रो देशको पर्यटन क्षेत्रलाई दोहोरो मार परेको छ । किनभने यस क्षेत्रले २० लाख पर्यटकको स्वागत सत्कारका लागि ऋणधन गरेर ठूलो संरचनागत लगानी गरेको थियो । तर प्रतिफल लिने बेलामा मुलुकको सिङ्गो पर्यटन क्षेत्र नै बैंकको ऋण कसरी तिर्ने भन्ने समस्यामा परेको छ ।

सन् २०२० को आगमनसँगै नेपाल कम्तीमा २० लाख पर्यटकलाई स्वागत गर्ने अन्तिम तयारीमा थियो । पाहुनाको स्वागतार्थ सरकार र निजी क्षेत्रले आवश्यक पर्यटकीय संरचना तथा सेवा क्षेत्रमा अरबौँ रुपैयाँ लगानी पनि गरेको थियो । तर अघिल्लो वर्षको वर्षान्तमा चीनको वुहानबाट शुरु भएको कोभिड¬–१९ को महामारी यसरी संसारमै र यहाँसम्म आइपुग्ला भन्ने कसैलाई रत्तिभर लागेको थिएन ।

नसोचेको विपत्तिले हामीले वर्षौंदेखि गरेको लगानीको प्रतिफल लिने बेलामा नेपाल भ्रमण वर्षका सबै कार्यक्रमहरु नै रद्द गर्नुपर्ने बाध्यता ल्याइदियो । यो कोरोना जीवाणु महामारीका बाछिटा हामीकहाँ देखिएसँगै संसारभर नै यसको त्रास छायो र यसबाट बच्न यात्रा प्रतिबन्धहरु नै लाग्न थाले । त्यसबाट हामी पनि प्रभावित भयौँ । त्यसपछि त नेपालमा पर्यटक आउने कुरै भएन । सन् २०२० पर्यटनमय हुने हाम्रो वर्षौंको तयारी यसै खेर गयो । निजी क्षेत्रले ऋण धन गरेर विस्तार गरेका होटललगायत सेवा क्षेत्रका संरचना पनि यस वर्षलाई निरर्थक भए ।

गएको डिसेम्बरको अन्त्यतिरबाट शुरु भएको महामारीले विश्वमा पर्यटन क्षेत्रलाई सबैभन्दा बढी असर गरेको छ । विश्वका ट्राभल म्यागेजिनहरुले लेखेका छन् ‘सयौँ वर्षको इतिहासमा संसारका विश्वप्रसिद्ध पर्यटकीय स्थल तथा क्षेत्रहरु यसरी एकैपटक सबै बन्द भएको सायद यो नै पहिलो घटना हो’, ती अखबारहरुको धारणा छ, ‘प्राकृतिक प्रकोपहरु विश्वका कतिपय स्थान या क्षेत्र विशेषमा आउने गरेको भए पनि निश्चित क्षेत्रमात्र प्रभावित हुन्छ । तर यो महामारीले त विश्वलाई नै एकैपटक ठप्प पारिदिएको छ, कामधन्दा नै बन्द गरेर सबैलाई एकै ठाउँमा बस्न बाध्य बनाइदिएको छ ।

यो महामारीले संसारको धेरै क्षेत्रलाई नराम्ररी प्रभावित पारिदिएकोले विश्वको अर्थतन्त्र आगामी कैयौँ वर्ष उठ्न नसक्ने गरी थला परेको छ । महामारीको आज छ महिना पुगिसक्दा पनि यसको नियन्त्रणको कुनै स्पष्ट आधार देखिएको छैन । जसका कारण अझै यसले विश्वलाई कुन रुपमा प्रभावित पार्ने हो भन्ने स्पष्ट खाका नै बाहिर आउन सकेको छैन । यो अन्योलसँगै विश्वको अर्थतन्त्रका सामुन्ने अझै दुःखका दिन आउन सक्ने देखिँदैछ ।

अर्थतन्त्रका धेरै अवयव र आयामहरुमध्ये कुनै पनि देशको एक दरिलो खम्बा पर्यटन हो । यसले आर्थिक विकासका लागि सघाउने मात्र नभएर सांस्कृतिक आदानप्रदानका माध्यमबाट विश्व व्यवस्थालाई नै एक प्रकारले ‘भेन्टिलेट’ गर्ने काम गर्दछ । तर यसैको अभावमा अहिले विश्व उकुसमुकुसको अवस्थामा छ । एक देशबाट अर्काेमा त के देशकै एक ठाउँबाट अर्काे ठाउँमा पनि जान सक्ने अवस्था छैन । जसका कारण सिङ्गो पर्यटन क्षेत्र नै स्थिर भएर बसेको छ ।

नेपाली अर्थ व्यवस्थामा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगट्छ । नेपालमा विभिन्न मुलुकबाट बसेनी आउने लाखौँ पर्यटक वैदेशिक मुद्रा आर्जनको एक महत्वपूर्ण माध्यम बन्दै आइरहेको छ । नेपालको पर्यटन क्षेत्रले मात्र अर्थतन्त्रको कूल रोजगारीमध्ये कम्तीमा पनि २० प्रतिशत योगदान पु¥याउँदै आएको छ भने कूल ग्रार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान उल्लेखनीय छ । पर्यटन क्षेत्र उत्पादन गतिविधिसँग सम्बन्धित उद्योग भएकाले यहाँ आउने विदेशी नागरिकलाई यसले वस्तु तथा सेवा उत्पादन गरी बिक्री गरेर अर्थोपार्जन गर्न सहयोग गर्छ ।

नेपाली अर्थतन्त्रलाई उकास्न सकिने हाम्रा आफ्नै मुख्य तीन आधार कृषि, पर्यटन र जलस्रोत मध्येको एउटा महत्वपूर्ण आधार पर्यटन नै हो भन्न सकिन्छ । पछिल्ला केही वर्षहरुमा नेपाली दक्ष तथा अदक्ष मानव संसाधनको बहिर्गमन बढ्दो छ । जसका कारण यहाँ कृषि र जलस्रोतको विकास र विस्तारमा बाधा उत्पन्न भइरहेको देखिन्छ । त्यसैले पनि पर्यटन क्षेत्रको विस्तार र विकासबाट नै नेपालको समृद्धिको सुनिश्चितता गर्न सकिन्छ भन्ने प्रशस्त आधारहरु छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भन्नुहुन्छ, “यो महामारीको बेला हो त्यसैले निःसन्देह हाम्रो पहिलो काम त मानिसको ज्यान बचाउने नै हो । तर पनि ज्यानका साथसाथै साना तथा मझौला हुन् कि ठूला सबै उद्योगहरु बचाउने बेला पनि त यो हो । त्यसैले बच्ने र बचाउने यो अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाएर, नेपाल सरकारले तय गरेका निश्चित नीतिहरुलाई अनुसरण गर्दै कति क्षमतासम्म हुन्छ अब व्यवसाय खोल्नेतिर जानुपर्छ ।”

होटल तथा अन्य पर्यटन क्षेत्रसँग सम्बन्धित साना व्यवसायहरु अब नखोल्ने हो भने उनीहरुको बैंकको ऋणदेखि लिएर अरू धेरै कारणले समस्यामा पर्ने अवस्था आएको र त्यहाँ काम गर्ने ठूलो सङ्ख्याका मजदूर तथा कर्मचारी निकै अप्ठेरो अवस्थामा छन् भन्नुहुन्छ । ढकालले भन्नुभयो, “अब ती पर्यटन क्षेत्रका संरचनाहरुलाई बिस्तारै सञ्चालनमा ल्याउनुपर्छ र यसका लागि सरकारले बरु ५० प्रतिशत क्षमतामा नै सञ्चालन गर्नु भन्ने नीति बनाएर भए पनि खोल्न लगाउँदा राम्रो हुनेछ ।”

“आर्थिक क्रियाकलापहरुलाई चलायमान बनाउनु राज्यका लागि पनि आवश्यक छ”, उहाँले भन्नुभयो । ढकालको भनाइ छ, “जस्तो कि कर तिर्ने प्रयोजनका लागि पनि केही त व्यवयास चलाउनै प¥यो नि ।” सरकारले पूर्ण रुपमा नभए पनि करीब ५० प्रतिशत क्षमतामा व्यवसाय सञ्चालन गर्नका लागि सरकारले पर्यटन तथा सेवा क्षेत्रका व्यवसायीहरुलाई अघि बढ्ने बाटो खोलिदिनुपर्ने उहाँले बताउनुभयो ।

नेपालका ट्रेकिङ एजेन्सीहरुको संस्था, टानका अध्यक्ष खुम सुवेदी पनि यो धारणाप्रति सहमत हुनुहुन्छ । उहाँले पनि पर्यटन क्षेत्रमा अब धेरै अप्ठेरो अवस्था आएकाले कुन रुपमा हुन्छ अथवा थोरै क्षमतामा नै भए पनि सञ्चालन गर्ने नीति राज्यले ल्याउनुपर्ने बताउनुहुन्छ । ट्रेकिङ क्षेत्रका व्यवसायीहरुले पनि अहिलेसम्म कम्तीमा १५ अर्ब नोक्सानी व्यहोरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यति धेरै घाटा भइसक्यो र करीब साढे तीन लाख जनशक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बेरोजगार भइसकेको अहिलेको अवस्थामा के कसरी मिल्छ व्यवसाय खोल्नुपर्ने पक्षमा राज्यले नीति अख्तियार गर्नुपर्छ र त्यसका लागि हामी पनि तयार हुनुपर्छ ।”

होटल एसोसिएशन नेपालका अध्यक्ष सृजना राणाले यो महामारीले धेरै ठूलो क्षति मुलुकको होटल क्षेत्रलाई पुर्याएको भन्दै सुरक्षित मापदण्ड अपनाएर र अहिलेको महामारीबाट कसैलाई पनि असर नपर्नेगरी व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उहाँको भनाई छ । विश्व स्वास्थ्य संगठन तथा महामारी क्षेत्रका विज्ञहरुहरुले नेपाल ‘रेड जोन’ मा पर्ने अवस्था छकि छैन भन्ने कुरा स्पष्ट भनुन् र यो जोखिमको न्यूनिकरण गरेर व्यवसाय सुचारु गर्नुपर्ने वातावरण छिट्टै तयार होस् भन्ने पक्षमा आफू रहेको उहाँले बताउनुभयो ।
महामारीपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने मापदण्ड होटल क्षेत्रले निर्माण गरिसकेको र सुरक्षित मापदण्ड अपनाउने सम्बन्धी जनशक्तिलाई त्यस मापदण्डअनुसारको तालिम दिएर सेवा शुरु गरिने उहाँले बताउनुभयो ।

विभिन्न पाँचतारे होटलहरुमा सञ्चालित ट्रान्क्वीलिटी स्पाका प्रबन्ध निर्देशक विश्वास अधिकारीलाई यस क्षेत्रका दक्ष जनशक्तिलाई बेरोजगार बनाई राख्न अथवा यसै क्षेत्रमा थेगेर राख्न गाह्रो पर्ने चिन्ता छ । उहाँ भन्नुहुन्छ, “वेलनेस (जिम, सउना, स्पा आदि) जस्ता क्षेत्रमा काम गर्ने जनशक्ति यसै क्षेत्रका विशेष सीप सिकेका दक्ष हुने भएकोले अहिले यही क्षेत्रमा राख्न सकिएन भने भोलि जनशक्तिको ठूलो अभाव सिर्जना हुने अधिकारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यो वेलनेस क्षेत्र तीन तारेभन्दा माथिका होटलहरुले अनिवार्य राख्नुपर्ने र मानिसलाई नभई नहुने क्षेत्र भएकाले करोडौँ रुपैयाँको लगानी भएको र दशौँ हजार जनशक्ति कार्यरत रहेको यस क्षेत्रलाई पनि स्वास्थ्य सुरक्षाका निश्चित मापदण्ड अपनाएर खोल्न दिनुपर्छ, ती मापदण्ड अपनाएर सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्न हामी तयार छौँ ।” यस क्षेत्रले आफँैले पनि सुरक्षित मापदण्ड अपनाउन सक्ने भन्दै सरकारले हालको क्षमताको कम्तीमा ५० प्रतिशत क्षमतमा भए पनि खोल्न दिन माग गर्नुभयो ।

विश्व अहिले कोरोना महामारीबाट जुधिरहेकै भए पनि यसबाट बच्ने खास सुरक्षित मापदण्ड अपनाएर आफ्नो पेशा, व्यवसाय र रोजगारीहरुलाई विस्तारै सामान्यतर्फ फर्काउने प्रयत्नमा लागेको देखिन्छ । भारतमा पनि नयाँ दिल्ली, मुम्बई, बैंगलोरलगायतका मुख्य सहरका होटल रेष्टुरेन्टहरु सरकारले अनुमति दिए बमोजिम बढीमा ५० प्रतिशत क्षमतामा सञ्चालनमा आएका छन् । त्यसैले नेपालमा पनि आर्थिक क्रियाकलापलाई चलायमान बनाउन, व्यवसायलाई क्रियाशील बनाई यसमा आश्रित तथा कार्यरत जनशक्तिलाई केही सन्त्वता दिन तथा अहिलेको उकुसमुकुसको यो अवस्थालाई सहजतातर्फ उन्मुख गराउन पनि सामाजिक दुरी कायम गर्दै आवश्यक सुरक्षा मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई अब सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरुको माग छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्