महाकालीको उर्लंदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन ( तस्विरसहित)

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार २०:५८


शेरबहादुर सिंह – उर्लंदो भेलको प्रवाह नगरी भीमदत्तनगरपालिका–१३ का आशीष बुढा महाकाली नदीमा जोखिम मोलेर काठ र दाउरा सङ्कलन गर्न थालेको तीन दिन भइसक्यो । बर्सातका बेला उर्लिने महाकाली नदीमा ट्युबको सहारामा ज्यानको पर्वाह नगरी दाउरा सङ्कलन गरेर हिउँदभरिका लागि खाना पकाउने दाउरा हुने गरेको बुढाको भनाइ छ । “दुई दिनमा एक हजार चार सय जतिको दाउरा पनि किनारमै राखेर बिक्री गरेँ”, महाकालीबाट दाउरा निकाल्दै गरेका उहाँले भन्नुभयो, “कोरोनाले स्कुल पनि बन्द छ । दाउरा सङ्कलनले आफ्नो व्यक्तिगत खर्च चलेको छ ।”

स्थानीय विद्यालयका कक्षा–७ मा अध्ययनरत बुढा जस्तै महाकाली किनारको तटीय क्षेत्रका सयौँ स्कूले बालबालिका यतिबेला जोखिम मोलेर महाकालीबाट दाउरा सङ्कलनमा तल्लीन छन् । उहाँले दाउरा बेचेको पैसा खुत्रुकेमा जम्मा गर्ने गरेको बताउँदै रु चार सयसम्म जम्मा भएको बताउनुभयो । “कहिलेकाहीँ घरमा नुनतेल खर्च पनि यसैबाट चल्छ ।” उहाँले भन्नुभयो, “महाकालीमा जति ठूलो बाढी आए पनि हामी सहजै वारपार गर्न सक्छौँ ।”

कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका स्थानीयवासी

पहाडी जिल्लामा भइरहेको वर्षाका कारण विगत एक सातायता महाकालीमा दिनहँु आउने बाढीले काठ÷दाउरा बगाएर ल्याउने गरेको छ । यतिबेला कञ्चनपुरको भीमदत्तनगरपालिका–९ बह्मदेव, ११ भुजेला, १२ ऐरी ओदाली, वडा नं १३ बडैपुर, पिपरियालगायत गाउँका सयौँ स्थानीयवासी दाउरा सङ्कलनमा सक्रिय छन् । “नदी किनारमा घर भएकाले बाल्यकालदेखि नै पौडीमा पोख्त हुने भएकाले जोखिम कमै हुन्छ”, ट्युबमा दाउरा लिएर फर्किंदै गरेका भीमदत्तनगरपालिका–१३ का ११ वर्षीय बालक अर्जुन आग्रीले रासससँग भन्नुभयो, “आज त चार भारी दाउरा सङ्कलन गरिसकेँ ।” ती बालकाले आफू दुई वर्षयता महाकालीमा यसरी दाउरा सङ्कलन गर्दै आएको बताउनुभयो ।

दाउरा सङ्कलनका लागि महाकाली नदीमा हरेक दिन बिहानदेखि राति अबेरसम्म स्थानीयवासी त्यहाँ पहरा दिँदै आएको भीमदत्तनगरपालिका–१२ का ७६ वर्षीय पदमबहादुर ठकुराठीले बताउनुभयो । “दिनभरि नदीमा पौडेर छेउमा लागेर दाउरा सङ्कलन गर्छन्”, उहाँले भन्नुभयो, “बर्सातको भेललाई हामीलाई त हिउँदमा आगो ताप्न दाउरा ल्याउँछ ।” उहाँले महाकाली किनारका बासिन्दाको दाउराको जोहो महाकालीबाटै भएको बताउनुभयो । “वनजङ्गल छैन, दाउरा कहाँबाट ल्याउने ?”, ठकुराठीले भन्नुभयो, “अनि आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी जोखिम मोलेर भए पनि बर्खाका समयमा महाकालीमा दौडिन बाध्य हुन्छन् ।”

सोमबार भीमदत्तनगरपालिकाको भुजेलादेखि पिपरियासम्म झण्डै पाँच सयभन्दा बढी स्थानीयवासी दाउरा सङ्कलनमा जुटेका थिए । “यहाँ लामो समयदेखि दाउरा सङ्कलन गर्ने गरेका छन्”, स्थानीयवासी विवेक बडायकले भन्नुभयो, “दाउराकै लागि नदी किनारमा रातभरि जागारामसमेत बस्छन् ।”

कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका स्थानीयवासी

दाउरा सङ्कलन गर्नेहरुमा महिला र बालबालिकाको सङ्ख्या धेरै छ । स्थानीयवासी रामदास रानाले ट्र्याक्टरसहित दाउरा ढुवानीका लागि महाकाली पुगेका बेला दाउरा सङ्कलन गरेर नै दालभात पकाउन सजिलो भएको बताउनुभयो । “यहाँबाट सङ्कलन गरेको दाउरा गाउँलेको घरमा पु¥याएरबापत ढुवानीस्वरुप रु पाँच सय दिन्छन्”, उहाँले भन्नुभयो, “हुनेखानेको घरमा गोबर ग्यास छ, हाम्रो त दाउराका लागि बर्खा कुर्नुको विकल्प हुँदैन ।”

त्यसैगरी स्थानीयवासी लक्ष्मीदेवी बोहराले आफू भैँसीको आहारा पकाउनका लागि नदीमा दाउरा सङ्कलन गर्न आएको बताउनुभयो । “नदीले बगाउने डर भए पनि सावधानी अपनाएर दाउरा सङ्कलन गर्छौं”, उहाँले भन्नुभयो, “यो रहर नभएर बाध्यता हो ।” अर्का स्थानीयवासी रामसेन बडायकले महाकाली नदीलाई आफूले राजेगारीस्थलका रुपमा लिने गरेको बताउनुभयो । “अहिले दाउरा र हिउँदमा धेरै स्थानीयहरु बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “जोखिम र परिश्रम भए पनि धेरैको जीवन महाकालीले चलाएको छ ।” उहाँले बर्खाका बेला बाढीबाट सङ्कलन गरिने दाउराले वर्षभरि भान्साको काम हुने गरेको बताउनुभयो । “मजदूरी गरेर दैनिकी चल्छ, बाल्न ग्यास कहाँबाट पाउने ?”, उहाँले भन्नुभयो, “बाढी आएका बेला दाउरा निकाल्नेहरुको मेला नै लाग्छ यहाँ ।”

कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका बालबालिका

भीमदत्तनगरपालिका–१३ वडाध्यक्ष लालबहादुर शाहीले नदीमा पानीको बहाव बढेका बेला बगेर आउने काठले तटीय क्षेत्रका स्थानीयवासीको चुलो बल्ने गरेको बताउनुभयो । “बर्सातका बेला दुईचार दिन दाउरा निकाल्नेको भीडभाड नै हुन्छ”, उहाँले भन्नुभयो, “वर्षातमा सङ्कलित दाउराले वर्षभरि खाना बनाउने जोहो हुन्छ ।” उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा यहाँको तटीय क्षेत्रका स्थानीयवासीसमेत पर्ने गरेको भए पनि कुनै सुविधा नरहेको बताउनुभयो । “निकुञ्जबाट दाउरा ल्याउन मिल्दैन”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका स्थानीयले महाकालीमा बाढी आउला र दाउरा निकालाँैला भनेर कुरिबसेका हुन्छन् ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्