काठमाण्डौ उपत्यकामा बस्नुहुन्छ सरकारले जारिगरेको यो सूचना पढ्नुहोस र मात्र घरबाहिर निस्कनुहोला

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार २१:०१


काठमाण्डौ – बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।

काठमाडौँ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा सुनीलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । “कोभिड १९ नयाँ रोग भएकाले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँअनुसार यसको स्वरुप र लक्षणसमेत फरक देखिएको छ, मास्क लगाउनु, साबुन पानीले हात धुनु वा ७० प्रतिशत अल्कोहल भएको सेनिटाइजरले हात धुनुपर्छ”, डा जोशीले भन्नुभयो, “कम्तीमा एक मिटरको दूरी राख्नु र पर्याप्त हावाको आवागमन हुने स्थानमा बस्नु यसबाट बाँच्ने उपाय हो ।”

प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उहाँले रोग लागेपछि उपचार नभएकाले लाग्न नदिनुतर्फ ध्यान दिनुपर्नेमा बन्दाबन्दीपछि धेरैले सुरक्षा सतर्कता नअपनाएकाले पनि जोखिम बढेको बताउनुभयो । काठमाडौँ मेडिकल कलेजमा आएका नशाका बिरामी र सुत्केरी महिलाको शल्यक्रिया गरी घर पठाएपछि उनीहरुमा कोभिड– १९ भएको पुष्टि हुँदा सबै डराएर ४०० भन्दा बढी स्वास्थ्यकर्मी र सहयोगीको पिसिआर गर्दा एक जनालाई पनि कोरोना नभएको अनुभव डा जोशीले सुनाउनुभयो । कोरोनाको उपचारको औषधि नभएको अवस्थामा बिरामीलाई भएको अरु दीर्घ रोगको औषधि दिनुका साथै नियमितरुपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै काठमाडौं भित्रने सवारी संख्या बढेर कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबाट जारी गरिने सबै किसिमका गाडीको पास अर्को सूचना नआएसम्मका लागि बन्द गरेको छ । काठमाण्डौमा कोरोना भाइरसको महामारी फैलिइरहेको र समुदायस्तरमा समेत कोरोना पुष्टि हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको हो ।

आन्तरिक रुपमा मात्र यातायात सञ्चालन अनुमति रहेको र कोरोनाको जोखिम कम हुने उपायहरु अबलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । गृह मन्त्रालयले समेत अत्यावस्यक सेवाबाहेकका गाडीलाई साँझ ७ बजेदेखि अर्को दिनको बिहान ७ बजेसम्मका लागि काठमाण्डौ, ललितपुर भक्तपुर प्रवेशमा रोक लगाएको सूचना जारी गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्