ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ०८:३३


काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् । दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उनीहरुले दुई अध्यक्षबीचको एकताले नै पार्टी मजबुत हुने भन्दै सोहीअनुसार अघि बढ्न सुझाव अध्यक्ष प्रचण्डलाई सुझाएका हुन् । आफ्नै नेताहरुबाट दबाबमा परेका अध्यक्ष प्रचण्डले पनि आफू पार्टी एकता जोगाउन लचिलो बनिरहेको बताउँदै पार्टी एकताको रक्षा गरिने जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले बहुमतका आधारमा अघि बढे पार्टी विभाजन हुनसक्ने खतरा औंल्याएका छन् । नेकपाभित्र विवाद पेचिलो बन्दै गइरहेकै बेला पार्टी एकता जोगाउन भन्दै ६बुँदे प्रस्ताव प्रस्तुत गरेका गौतमले आफूनिकटका केही केन्द्रीय सदस्यसग छलफलपछि यस्तो औंल्याएका हुन् ।

उपाध्यक्ष गौतमले पार्टी एकता जोगाउन आफ्नो प्रस्ताव कार्यान्वयन गर्दा ‘राम्रो हुने’ विश्वासमेत दिलाएका छन् । ‘मेरो प्रस्ताव उहाँहरू (ओली, दाहाल, नेपाल) दुबै पक्षका नेतालाई मान्य भएन, तपाईहरूलाई पनि मन परेको छैन होला † पार्टी एकता जोगाउन यो प्रस्ताव कार्यान्वयन गर्नैपर्छ,’ छलफलमा सहभागी एक सदस्यले गौतमको भनाई उद्धृत गर्दै भने, ‘ओलीजीलाई यसअघि सहयोग गरेर मैले ठुलो धोका पाएकै हो तर पनि पार्टी एकता जोगाउन यस्तो प्रस्ताव फेरि अघि सारेको हु“ु ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय खनाल र नेपालसहित शीर्षनेता केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् । तर, ओली कुनै पनि पदबाट राजीनामा नदिने अडानमा अडिग छन् ।
केही समयअघिसम्म गौतमसमेत राजीनामा दिनुपर्ने पक्षमै भए पनि पार्टी एकता जोगाउन भन्दै उनले गत मंगलबार ६बुँदे प्रस्ताव गरेका छन् । ओली पार्टी एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो कार्यकालसम्म प्रधानमन्त्री हुने र कार्यकारी अघिकारसहित दाहालले पार्टी सञ्चालन गर्नेलगायत उनले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् । तर, उनको प्रस्ताव अहिलेसम्म छलफलको विषय बनाइएको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्