नेपाललाई चीनले उच्च महत्व दिएको छ : राष्ट्रपति सी

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ११:२८


काठमाण्डौ – आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देश र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका छन्। दुई देशबीच राजकीय सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्‍याउन इच्छुक रहेको कुरा सन्देशमा उल्लेख गरेका छन्।उनले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको बताएका छन्।

यसै बीच राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन्।सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी हुन् ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छन् ।उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्